लमही, २० पुस
दाङमा आधुनिक प्रविधिको प्रयोग गरी तरकारीखेती शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ का किसान अमृत धितालले दाङमै पहिलो पटक आधुनिक ‘हाइड्रोपोनिक’ प्रविधिको जडान गरी तरकारीखेती शुरु गरेका हुन् । परम्परागतरूपमा माटोमा तरकारीखेती गरेर मनग्य आम्दानी गर्न नसिकने भन्दै आधुनिक प्रविधिबाट तरकारीखेती शुरु गरेको उनको भनाइ छ । “विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको छ”, उनले भने, “अब पनि पुरानो पद्धतिबाट कृषि गरेर हुँदैन, नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ ।”
उनले विद्युत्को प्रयोग गरेर तरकारीलाई चाहिने हावा, खाना तथा पानी आपूर्ति गर्दै छन् । तरकारीका लागि आवश्यक वातावरण निर्माणका लागि एसी, पङ्खाजडान गरेका छन् । “हाइड्रोपोनिक पद्धतिबाट शुरु गरिएको खेती अधिकांश विद्युत्को सहायताले हुनेगर्छ”, उनले भने, “तरकारीलाई कस्तो हावापानी आवश्यक पर्छ, त्यो सबै प्रविधिबाटै हुन्छ ।”
विषादीरहीत बेमौसमी तरकारी उत्पादन गर्ने उद्देश्यले यो प्रविधि दाङमा भित्र्याएको उनको भनाइ छ । “हिउँदमा पनि बर्षात जस्तै हावापानी निर्माण गर्न सकिन्छ, भने बर्षातको समयमा पनि हिउँद जस्तै बनाउन सकिन्छ” उनले भने, “बिरुवालाई जस्तो वातावरण आवश्यक पर्छ त्यहीअनुसार वातावरण सिर्जना गर्न सकिन्छ ।” पाँचवर्ष विदेश बसेर फर्केका उनले विदेश बसेको सीप आफ्नै गाउँठाउँमा प्रयोग गरेको बताए । “म पाँच वर्ष विदेश बसेर फर्केको हूँ”, उनले भने, “विदेशमा यस विषयमा केही रूपमा अध्ययन गर्न पाएँ र नेपाल फर्केर आफैँले व्यवसाय शुरु गरेँ ।”
बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट दिँदा बिरुवामा कुनै रोग नलाग्ने र कीराले आक्रमण गर्ने सम्भावना नहुने समेत उनले बताए । बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत जैविक हुने उनको भनाइ छ । “बजारमा छ्यापछ्याप्ती तरकारी आउने गरेका छन्”, उनले भने, “यसलाई रोक्न पनि यस्तो प्रविधि भित्र्याएका हौँ ।’ यो पद्धतिबाट तरकारीखेती गरेमा विषादी राख्नुनपर्ने उनको भनाइ छ । विदेशबाट फर्केपछि आफ्नै गाउँठाउँमा तरकारी खेतीका लागि नयाँ पद्धतिको विकास गर्ने सोच बनाएका धितालले समाजशास्त्रमा स्नातकोत्तर पास गरेका छन् ।
५ वर्ष नेदरल्याण्ड बसेर फर्कनुभएका उनी नेपालमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण पेश गर्ने बताए । उनको तरकारी फलाउने ‘नशा’ बनेको छ । साँझ, बिहान, सधैँ तरकारी कसरी फलाउने मात्रै चिन्ता गर्ने गरेको उनी बताउछन् । उहाँले सबै सामग्री चीनबाट मगाएको भए पनि आफैँले जडान गरेको बताउनुभयो ।
टनेलको सजावट र भित्रका सबै सामग्री चीनबाट मगाएको भए पनि जर्मन पद्धतिको प्रविधि भएको उहाँको भनाइ छ । यो प्रविधिबाट श्रमिक पनि कम चाहिने, परम्परागत भन्दा सहज हुने बताउनुभयो । उहाँका अनुसार यसमा जरा सानो हुने खेती मात्रै गर्न सकिन्छ । “यसमा जरा सानो हुने तरकारीखेती मात्रै गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अमृत कृषि फार्म दर्ता गरेर करीब रु एक करोड लगानीमा उक्त प्रविधिमैत्री तरकारीखेती शुरु गरेको धितालले बताउनुभयो ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि कार्यक्रम बाँकेको ४३ लाख र आफ्नो व्यक्तिगत करीब ४३ लाख लगानीमा उक्त तरकारीखेती शुरु गरिएको हो । खेतीमा एक हजार ७७८ बकेट जडान गरिएको छ । एक चरणमा ती सबै बकेटमा तरकारी उत्पादन गर्न सकिन्छ । लहरावाला तरकारीका लागि उपयुक्त हुने धितालको भनाइ छ । गएको चैतदेखि प्रविधिमैत्री तरकारीखेती शुरु गरिएको तर विद्युत्बिना प्रविधि सञ्चालन हुने समस्या भएपछि यसअघि लगाइएका सत्र सय काँक्राका बेर्ना भने नष्ट भएको उहाँले बताउनुभयो ।
“यसअघि विद्युत् जडान भएको थिएन्”, उहाँले भन्नुभयो, “विद्युत् नहुँदा बिरुवालाई आवश्यक पर्ने खाना दिन सकिएन र सबै बिरुवा नष्ट भए ।” तर अहिले ‘थ्री फेज’ लाइन जडान गरेपछि पुनः खेती शुरु गरेको बताउनुभयो । उहाँले यही खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । प्रविधिमैत्री र जैविक भएकाले बजार पनि राम्रो पाउने उहाँको विश्वास छ ।