परराष्ट्रमन्त्री नहुँदा रुसी विदेशमन्त्रीसँगको टेलिफोन वार्ता अन्योलमा

पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २२ फागुन

रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो ।

परराष्ट्र मन्त्रालयले यस विषयमा गृहकार्य भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राईले यस विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसकेको र पूर्वनिर्धारित समयअनुसार वार्ताको तयारी गरिरहेको बताए ।

‘हाम्रा मन्त्री र रुसी समकक्षीबीच टेलिफोन संवादका लागि समय मिलाइ सकिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालयसँग छलफल गरेर गृहकार्य भइरहेको छ,’ प्रवक्ता राईले भने ।

परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग ७ मार्च अर्थात २४ फागुनमा मा टेलिफोन वार्ता गर्ने तय भएको थियो । यस विषयमा छलफल गर्न आफैं रुस जाने इच्छा देखाएका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी सर्गेइसँग लामो समयदेखि संवादको प्रयास गरिरहेका थिए ।

त्यसका लागि उनले नेपालमा रहेको रुसी दूतावास र मस्कोमा रहेको नेपाली दूतावासमार्फत समेत प्रक्रिया अगाडि बढाएका थिए । तर रुसले उनलाई स्वागत गर्न तयार भएको थिएन भने अन्तिम समयमा टेलिफोन वार्ताका लागि तयार भएको थियो ।

टेलिफोन वार्ताका लागि समय तय भइसकेपछि गठबन्धन परिवर्तन भएका कारण मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्टमन्त्री साउदलाई बर्खास्त गरेपछि वार्ता अन्यौलमा परेको हो ।

रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशल फिर्ता, घाइतेको उपचार, ज्यान गुमाएका परिवारका सदस्यलाई राहत र भर्ना रोक्ने लगायत विषयमा द्विपक्षीय टेलिफोन वार्ताका लागि केही दिनअघि समय निर्धारण भएको थियो ।

नेपालले आफ्ना नागरिकलाई सेनामा भर्ती नलिन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाइदिन र अंगभंग भएकाको विवरणका साथै क्षतिपूर्ति समेत उपलब्ध गराउन अनुरोध गर्दै आएको छ । तर अहिलेसम्म रुससँग नेपालले प्रत्यक्ष संवाद गर्न सकिरहेको छैन ।

परराष्ट्रमन्त्री साउदले युगान्डा भ्रमणका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग यस विषयमा अनुरोध गरेका थिए भने नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर आग्रह गरेका थिए ।

नेपाल सरकारलाई रुसी रक्षा मन्त्रालयले पठाएको विवरणअनुसार अहिलेसम्म रुसी सेनामा कार्यरत १२ जनाको ज्यान गएको छ । त्यस बाहेक बाँकी कति संख्यामा नेपालीहरू रुसी सेनामा कार्यरत छन् र उनीहरूको अवस्था के छ भन्ने बारेमा जानकारी नेपालसँग छैन ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा भने २०० भन्दा बढीका परिवारले उद्धारका लागि आग्रह गर्दै निवेदन दिएका छन् ।

साथै, केही समयअघि मात्रै रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई दिने क्षतिपूर्ति दूतावासमार्फत उपलब्ध गराउन तयार भएको थियो । मृतकका परिवारका सदस्य रुस पुगेरै क्षतिपूर्ति लिनुपर्ने बताइरहँदा परराष्ट्र मन्त्रालयको पहलपछि रुस दूतावासमार्फत क्षतिपूर्ति दिन तयार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *