लिशा स्कुलको ३५औं वार्षिकोत्सव सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ फागुन

भक्तपुर लिवालीस्थित रहेको लिशा इङ्गलिश सेकेण्डरी स्कुलको ३५औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल(इसान)का अध्यक्ष प्रेमजन थापाले उद्घाटन गर्दै विद्यार्थीहरुलाई सुरक्षित, मायालु र अनुमान गर्न सक्ने वातावरणमा हुर्काउनुपर्ने बताए । उनले बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर काम गरेमात्रै हरेक सिकाइ उपलब्धि सफल हुने बताए । उमेर र क्षमताअनुसार विद्यार्थीहरुको ग्रहण गर्ने क्षमता मापन हुने भएकाले त्यसै अनुसार सिकाइ पद्धतिको विकास गर्नु उचित हुने उनको भनाइ छ । उनले विद्यार्थीहरुले लक्ष्य प्राप्तिका लागि मेहनत गरे मात्रै उसको सपना पूरा हुने स्पष्ट पारे । उनले हरेक बालबालिकाले घरपरिवार र समाजबाटै पहिल्यै विभिन्न कुरा सिकेर आउने भएकाले उमेर अनुसार विज्ञान प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने र त्यसका लागि अभिभावकले नियमित निगरानी गर्नुपर्ने बताए । साथै उनले २१औं शताब्दीको सफल र प्रतिस्पर्धी नागरिक तयार पार्न हरेक शिक्षक र अभिभावकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने औंल्याए ।

भक्तपुर नगरपालिका ९ वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले जन्मसिद्ध अधिकारको रुपमा शिक्षा भएर पनि सरकारले अनिवार्य र निःशुल्क गर्न नसकेको स्पष्ट पारे । संस्थागत विद्यालयहरु पनि समाजकै अंग भएकाले सभ्य समाज निर्माणका लागि गरिने हरेक क्रियाकलापमा सहभागी हुनुपर्ने बताए । उनले हिजोभन्दा आज फरक शैलीमा समाज सुहाउँदो प्रतिस्पर्धी, योग्य र अनुशासित विद्यार्थी तयार गर्नुपर्ने बताउँदै संस्कारी, इमानदार र देशभक्त विद्यार्थीहरु यो देशको लागि आवश्यक भएको बताए । भक्तपुर नगरका ९२ वटा विद्यालयहरुको मुख्य उद्देश्य शिक्षा दिएर सभ्य समाज निर्माण गर्ने नै रहेको हुँदा त्यसैअनुसारका विद्यार्थी तयार गर्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो जन्मभूमि बाँझो राखेर विदेशलाई राम्रो बनाउन जाने विद्यार्थीहरुको चाप बढिरहेको स्पष्ट पार्दै हाम्रो विद्यार्थीहरुले यो देशको माटो उर्वर बनाउन लाग्नुपर्ने बताए ।


वागीश्वरी माविका सहप्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले कुनै पनि विद्यालय वा संस्थालाई अगाडि बढाउन त्यहाँको प्रशासन र व्यवस्थापकीय कार्यलाई राम्रो बनाउनुपर्ने बताए। उनले विद्यार्थीहरुसँग विभिन्न किसिमका सिप हुने भएकाले त्यसअनुसार छनोट गरी विभिन्न क्रियाकलापमा सहभागी गराउनुपर्ने बताए। अभिभावकको जिम्मेवारी स्कुल पठाउने मात्र नभई उनले घरमा पनि आफ्ना छोराछोरीका लागि समय दिनुपर्ने औल्याए । विद्यालयको हरेक क्षेत्रमा समुदायको योगदान रहेकोले समाजका लागि योग्य र असल नागरिक तयार गर्न विद्यालयको योगदान अतुलनीय रहेको बताए।

निमा फाउण्डेशनका सदस्य एवं प्रशिक्षक अर्चना भण्डारीले विद्यालयले अनवरत रुपमा इसीडीका तालिमहरु गरिरहेको बताउँदै बालमैत्री शिक्षण सिकाइ प्रभावकारी भएमात्रै विद्यार्थीहरु अगाडि बढ्ने बताए।

विद्यालयका अभिभावक एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वोंजुले बाल बच्चाहरुलाई सकारात्मक र व्यवहारिक सिकाइमा जोड दिनुपर्ने बताए । विद्यालयले अभिभावकको खुशीका लागि स–साना कुरामा समेत शिक्षकहरुले ध्यान दिइरहेको बताउँदै अभिभावकहरुले छोराछोरीको बानी व्यहोरामा सुधार ल्याउन आफैबाट सुरु गर्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतितवमा भएको उक्त कार्यक्रममा प्रिन्सिपल लिशा प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो ।
प्रमुख अतिथि, अतिथिहरुबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा मेडलहरु वितरण गरेको उक्त कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरुले सांस्कृतिक विधा प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *