२५ वर्षमा लगभग २५ हजारको ओपन हार्ट सर्जरी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २६ मंसिर

के हो ओपन हार्ट सर्जरी? कहाँ-कहाँ हुन्छ?

नेपालमा ओपन हार्ट सर्जरी सुरु भएको २५ वर्ष पूरा भएको छ। २५ वर्षको अन्तरालमा ओपन हार्ट सर्जरी गर्ने बिरामीको सङ्ख्या पनि लगभग २५ हजार नै पुगेको छ। नेपाली टिमबाटै नेपालमा ओपन हार्ट सर्जरी डा भगवान कोईराला र उनको टिमले सुरु गरेको थियो। नेपाली टिमले सुरु गर्नुभन्दा अघि सन् १९८५ तिर वीर अस्पतालमा अष्ट्रेलियन डाक्टरहरुले ओपन हार्ट सर्जरी गर्ने गरेको गरेको डा कोईराला बताउँछन्। वीरसँगै टिचिङ अस्पतालमा पनि अमेरिकन डाक्टरको टोलीले ओपन हार्ट सर्जरी गरेको थियो। उक्त टोली नेपालबाट फर्किएपछि सन् १९९७ फेब्रुअरी २८ मा डा कोईराला र उनको टिमले टिचिङ अस्पतालमै सर्जरी सुरु गरेको थियो।

डा कोईराला अहिले ती दिनहरु सम्झिएर कहाली लाग्ने बताउँछन्। ‘व्यवसायीहरुलाई हामीले ओपन हार्टको सामाग्री ल्याईदिनुस् भन्दा नपत्याउने स्थिति थियो। कहाँ नेपालमा त्यस्तो सम्भव हुन्छ र भनेर हाँसेर उडाउनुहुन्थ्यो। त्यो समय एउटा ओपन हार्ट सर्जरी गर्ने किटको करिब एक लाख पर्थ्यो। सुरुवातमा ६ वटा सर्जरीको लागि सामान मगाउँदा व्यवसायीहरुहरु हाम्रो ६ लाख डुब्ने भयो भन्थे,’ उनी भन्छन्।

डा गोविन्द शर्माले कोईराला लगायतको टिमलाई हप्तामा एकदिन सर्जरी गर्ने व्यवस्था मिलाईदिएपछि नेपालमा निरन्तर रुपमा सर्जरी हुन थाल्यो।

जहाँ ओपन हार्ट सर्जरी हुन्छ 
अहिले काठमाडौँका दुई सरकारी र चार प्राइभेट अस्पतालमा ओपन हार्ट सर्जरी हुन्छ। सरकारी अस्पतालहरुमध्ये शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित ओपन हार्ट सर्जरी हुन्छ। गंगालालमा मङ्सिर १९ गते मात्रै ओपन हार्ट सर्जरी गर्नेको सङ्ख्या २० हजार पुगेको छ। त्यस्तै मनमोहनमा पनि वार्षिक रुपमा ५/६ सय सर्जरी हुने चिकित्सकहरु बताउँछन्।

त्यस्तै काठमाडौँका ह्याम्स, ग्राण्डी, नर्भिक, मेडिसिटी अस्पतालमा पनि उक्त सर्जरी भईरहेको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको बीपी मेमोरियल क्यान्सर अस्पताल तथा विराटनगरको नोबेल मेडिकल कलेजमा पनि नियमित रुपमा ओपन हार्ट सर्जरी भईरहेको छ।

वीर अस्पतालले २००८ पछि गत भदौ महिनामा मात्रै एउटा ओपन हार्ट सर्जरी गरेको थियो। आउने दिनहरुमा अब ओपन हार्ट सर्जरीलाई निरन्तरता दिने अस्पतालका निमित्त प्रशासकीय अधिकृत डा भूपेन्द्र बस्नेतले बताए।त्यस्तै,मानव अंग प्रत्यारोपण केन्द्र र धुलिखेल अस्पतालमा पनि ओपन हार्ट सर्जरी सुरु भए पनि निरन्तर भने हुन सकेन। उपयुक्त जनशक्तिको अभावले सर्जरी सुरु भएर पनि बन्द हुने समस्या आएको डा भगवान कोईराला बताउँछन्। नेपाल मेडिकल काउन्सिलका अनुसार कार्डियक थोरसिक एण्ड भास्कुलर सर्जन १६ जना र कार्डियाक सर्जन ७ जना मात्रै काउन्सिलमा दर्ता छन्।

के हो ओपन हार्ट सर्जरी?
मुटुको दुई थरिको शल्यक्रिया हुन्छन्। मुटु चलीराखेकै अवस्थामा गरिने सर्जरीलाई क्लोज हार्ट सर्जरी भनिन्छ। रक्तसंचार कायमै राखेर मुटुलाई बन्द गरेर गर्ने शल्यक्रियालाई ओपन हार्ट सर्जरी भनिन्छ। जन्मजात मुटु भित्र प्वाल छ भने, ट्युमर निकाल्नको लागि, मुटुको धमनीमा अवरोध भएको खण्डमा यो सर्जरी आवश्यक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *