विदेशी अनुदान र ऋणले देशलाई परनिर्भर बनाउँछ : सचिव सुवाल

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २६ मंसिर

नेपाल मजदुर किसान पार्टी काँक्राबारी एकाइ समितिको आयोजनामा आइतबार धन्यवाद कार्यक्रम भयो ।

उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै भारतले महाकाली नदीमा बनाएको तटबन्ध तत्काल भत्काउनुपर्छ भन्नुभयो ।

देशमा रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिँदै उहाँले माध्यमिक तहमा शिक्षा निःशुल्क र अनिवार्य तथा उच्च शिक्षा निःशुल्क हुनुपर्ने र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने आवाज नेमकिपाले उठाइरहेको विचार व्यक्त गर्नुभयो । बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले नेमकिपाले जनतालाई सचेत र सङ्गठित गर्दै आएको विचार व्यक्त गर्दै संसद्मा ठूलठूला पुँजीपति, ठेकेदार र फौजदारी अभियोग लागेका सांसदहरू जित्नु राम्रो सङ्केत नभएको बताउनुभयो ।

पुँजीपति वर्गको जगलाई उखेलेर फाल्न नसकेसम्म बहुमत जनताको मुक्ति नहुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

नेमकिपा सूर्यविनायक नगर समितिका सदस्य एवं एकाइ समितिका अध्यक्ष प्रेम तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा महेन्द्र बखुन्छेँ, श्याम बिसुन्केलगायतले बोल्नुभएको थियो । यसैगरी छालिङको ग्वाटिलामा पनि धन्यवाद कार्यक्रम भयो ।

उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सरकार र शासक दलहरूको अकर्मण्यता र अदूरदर्शिताको कारण नेपालमा २० खर्ब रूपियाँको व्यापार घाटा र २० खर्ब ऋण पुगेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विदेशी अनुदान र ऋणले देश परनिर्भर हुने बताउनुभयो ।
नेपालमा रासायनिक मल कारखाना नखोलेको कारण किसानहरू मर्कामा परेको चर्चा गर्दै उहाँले विदेशबाट नेपालमा अन्न आयात गर्नुपर्ने अवस्था भएको बताउनुभयो ।

जनताका छोराछोरीलाई रू. १५ लाखमा डाक्टर पढाउने मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न शासक दलहरूले स्वीकृति नदिएको हुँदा जनताको सङ्घर्ष अझै आवश्यक छ भन्नुभयो । कार्यक्रममा दिलनारायण श्रेष्ठ, ज्ञानु कार्की र हरि पोखरेलले पनि बोल्नुभएको थियो । चाँगु नपा मुगुथलीमा पनि धन्यवाद कार्यक्रम भयो ।

उक्त कार्यक्रममा पार्टी सचिव एवं सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको धार नेपालतिर धकेल्ने गरी अतिक्रमण गरेको विरोधमा सबै देशभक्त जनता लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

देशका आपराधिक र शैक्षिक माफियाहरू संसद्मा निर्वाचित भएको उल्लेख गर्दै उहाँले जनताको मतबाट प्राप्त शक्तिलाई जनताको इज्जत र प्रतिष्ठा जोगाउन र देशको सार्वभौमिकता जोगाउन नेमकिपा सङ्घर्षरत भइरहने विश्वास दिलाउनुभयो । जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने विधेयकले देशलाई सिक्किम बनाउने खतरा भएको हुँदा यसविरूद्धको सङ्घर्षलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

खेमराज बजगार्इँको सभापतित्वमा भएको उक्त कार्यक्रममा ईश्वर बोहराले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *