वागीश्वरीमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ६ कात्तिक

वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा शुभ दीपावली, नयाँ वर्ष ११४३ र छठ पर्वको अवसरमा कक्षा १२, वागीश्वरी माविको आयोजनामा आइतवार शुभकामना तथा सांस्कृतिक कार्यक्रम भएको छ ।


कार्यक्रमको प्रमुख अतिथि वागीश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर न.पा. वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले प्रकृतिको पूजा गरी मनाउने पर्व तिहारमा अखाद्य फलफूल तथा मिठाइको प्रयोगमा सचेत हुनुपर्ने बताए । उनले जीवन रहे सबै रहने भएकाले संस्कृतिमाथि व्यापार गर्ने व्यापारीबाट सतर्क रहनुपर्ने बताए । साथै उनले विद्याथीहरु देशका सचेत नागरिक भएकाले यही मंसिर ४ गते हुने निर्वाचनमा योग्य, इमान्दार र देशभक्त उम्मेदवारको छनोट गर्न आ–आफ्नो गाउँ ठाउँमा रहेका जनतालाई सही तरिकाले मतदान गर्न सिकाउनुपर्ने औल्याए ।


विशेष अतिथि एवं विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले यस वर्ष कक्षा ११ मा भर्ना भएका ७ सय ९४ जना नवआगन्तुक विद्यार्थी रहेको बताउँदै दीपावली, नयाँ वर्ष न.सं. ११४३ र छठ पर्व अनुशासित रुपमा मनाउनुपर्ने बताए । उनले संस्कृतिको संरक्षणमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकाले तिहार पर्व विकृतिरहित रुपमा मनाउनुपर्ने औंल्याए ।


विज्ञान संकायका प्रो.डा.सिद्धिवीर कर्माचार्यले नेपालमा वर्षभरि नै विविध चाडपर्व भएकै कारण पश्चिमा देशहरुमा जस्तै डिप्रेशन तथा आत्महत्याका घटनामा कमी आएको बताए । मेहनत र श्रम गरे डिप्रेशन आफै घट्ने बताउँदै उनले भक्तपुर नगरपालिकाले १५ लाखमै एमबीबीएस पढाउने योजना ल्याउँदा पनि सरकारकै कारण ७०/८० लाखमा पढ्न बाध्य बनाएर विद्यार्थीलाई त्यतातर्फ ढकेलेको स्पष्ट पारे ।
सहायक प्र.अ. उकेश सुवालले ठूलो मान्छे भन्दापनि योग्य र इमान्दार मान्छे बन्न आशिष दिनुपर्ने औल्याए । उनले नेपालमा पढेर विदेशमा काम गर्ने मान्छे देशका लागि घाटक भएकाले सरकारले स्वदेशमै पढ्ने बन्दोबस्त गर्नुपर्ने र स्वदेृशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विज्ञान संकायका इन्चार्ज निरु ताल्चाभडेलले तिहार पर्वलाई अनुशासित रुपमा मनाउन आग्रह गरे । धिमेबाजाका साथ उद्घाटन भएको उक्त कार्यक्रममा झलक खत्री, सदिक्षा मैनाली, श्रिया दिदिया, सयना थापाश्रेष्ठलगायतले शुभकामना दिएका थिए । कार्यक्रमपश्चात विद्यार्थीहरुले सांस्कृतिक गतिविधिहरु प्रस्तुत गरेका थिए ।


त्यस्तै वागीश्वरी कलेज, कमलविनायकमा पनि सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान प्रदान कार्यँक्रम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *