वागीश्वरीमा सञ्चिति कोषको छैटौं साधारण सभा

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ६ कात्तिक


वागीश्वरी मावि र कलेज सञ्चिति कोषको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले बनाउनभन्दा भत्काउन धेरै सजिलो हुने हुँदा पराले छाप्रोबाट सुरु भएको राष्ट्रियस्तरमा स्थापित वागीश्वरीलाई बिगार्न खोज्नेहरुप्रति सबै सचेत रहनुपर्ने बताए ।
थाइल्याण्डसँगै सुरु भएको वायु सेवा निगम त्यहाँ कार्यरत कर्मचारीहरुको व्यक्तिगत स्वार्थका कारण अहिले १÷२ वटा मात्र हवाइजहाज सञ्चालनमा रहेको उदाहरण दिँदै उनले संस्थालाई दिगो रूपमा टिकाउनका लागि कार्यरत कर्मचारीहरुले संस्थालाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए ।


जनतासँग सरोकार राख्ने सबै संस्थाहरु निजी क्षेत्रलाई जिम्मा दिँदै जाने उदारवादी नीतिलाई सरकारले अवलम्बन गर्दै जाँदा अहिले सरकार कर्मचारीहरुलाई तलब खुवाउन पनि विदेशी ऋणको आश गर्दै परनिर्भरतातर्फ गइरहेको छ उनले भने ।
नेपालीलाई आत्मनिर्भर जीवन बिताउन सबै सम्भावनाहरु भएको देशमा ‘हामी सक्दैनौं’ भन्ने सरकारको मानसिकताकै कारण निजी संस्था वा विदेशीहरुले मूल्य निर्धारण गर्दै नेपालीलाई महङ्गीमा जीवन बिताउन बाध्य पार्दै छ, उनले भने ।


उनले भारतले नेपालमा सांस्कृतिक आक्रमणसँगसँगै नागरिकता विधेयक पास गराएर भौतिक आक्रमण गर्नेतर्फ अगाडि बढिरहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरकारी कर्मचारीलाई राज्यले दिएको सुविधाजस्तै वागीश्वरीले निजी शिक्षक कर्मचारीहरुलाई दिँदै आएको नौलो अभ्यास सञ्चिति कोषको स्थापना भएको बताए ।
कोष आर्थिक पक्ष भएकोले यसको सञ्चालनमा पारदर्शिता र जवाफदेहिताप्रति ध्यान दिन उनले अनुरोध गरे ।

कार्यक्रममा कोषका अध्यक्ष धनकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित भएको छ ।
कोषका अध्यक्ष वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोषका संरक्षक एवं वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छा, कोषका सल्लाहकारहरु ज्ञानसागर प्रजापति, सहायक प्रअद्वय कृष्णप्रसाद धन्छा, उकेश सुवाल, शिक्षक विश्वेश्वर मानन्धर, कविता प्रजापतिले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *