बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा फैलन सक्छन् यस्ता रोग

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ४ कात्तिक

कात्तिक सुरु भएसँगै देशभर केही दिनसम्म अविरल वर्षा भयो। निरन्तरको वर्षाका कारण बाढीपहिरो तथा डुबानमा परी ८८ जनाको मृत्यु भएको र ३० भन्दा बढी व्यक्तिहरु अझै वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले वेपत्ता भएकाहरुको खोजी तथा उद्धार गरिरहेको जनाएको छ। बाढीपहिरो र डुबानमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने गृह मन्त्रालयले जनाएको छ।
बस्ती नै बाढीपहिरोमा परी कतिपय घरपरिवार यतिबेला विस्थापित समेत भएका छन्।

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा सामूहिक बसाइँ तथा सरसफाइमा ध्यान नदिदा विभिन्न किसिमका सरुवा रोग फैलन खतरा बढेको छ।

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजालगायत पानीजन्य तथा खानपानजन्य रोग फैलने जोखिम भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रतिकार्यका लागि प्रदेश र स्थानीय तहमा  छलफल गरेको छ।

बाढीपहिरो तथा डुबान प्रभावित प्रदेश र स्थानीय तहसँग आगामी दिनमा निम्तिने स्वास्थ्य समस्या र त्यसको प्रतिकार्यका लागि छलफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय र स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका शाखाहरुमा सम्पर्क गरी बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य अवस्था तथा स्वास्थ्य सामाग्रीको अवस्थाबारे जानकारी लिइएको डा पौडेलको भनाइ छ।

उनले भने, ‘बाढीपहिरो तथा डुबान क्षेत्र विशेषगरी प्रदेश १ र सुदूरपश्चिम प्रदेशसँग हामी सम्पर्कमै छौं। त्यहाँ उद्धार गरिएका व्यक्तिहरु रहने ठाउँमा आवश्यक दूरी कायम गराउन, शौचालय तथा सफा पानीको व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ।’

डा पौडेलका अनुसार हालसम्म बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा कुनै रोग तथा संक्रमण भने देखिएको छैन।

कुनै रोग तथा महामारी देखा परेमा उपचार तथा प्रतिकार्यका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामाग्री स्थानीय तह तथा प्रदेशमा पर्याप्त रहेको पनि डा पौडेको भनाइ छ।

‘तत्काललाई कुनै जिल्लामा बाढी, पहिरो, डुबानपछि स्वास्थ्य समस्या देखिएको छैन, स्थानीय तह तथा प्रदेशमा स्वास्थ्य सामाग्री र औषधि नपुगेको वा अभाव नभएको पनि छैन,’ डा पौडेलले भने,  ‘थप आवश्यक पर्ने भएमा हामी तुरुन्त उपलब्ध गराउन तयारी अवस्थामै छौं।’

उनले प्रभावित क्षेत्रमा पानीजन्य रोग झाडापखाला, आउँ, हैजा, कमलपित्त, टाइफाइड लगायतका रोग फैलन सक्ने जोखिम रहेकाले त्यहाँ रहेका स्थानीयलाई स्वास्थ्यमा ध्यान दिन पनि सुझाव दिए।

बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा दूषीत पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानीको प्रयोग, शौचालयको प्रयोग गर्नुपर्ने डा पौडेलको सुझाव छ।

नेपालमा कोरोना संक्रमण कायमै रहेकाले यी क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि जाँदा पनि कोरोना संक्रमण फैलन नदिन जनस्वास्थ्यको मापदण्डलाई ध्यान दिन डा पौडेलको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *