आदर निकेतनको प्रस्ताव पारितसँगै भक्तपुर बचतको २४ औं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ असोज


‘भक्तपुर साकोस आदर निकेतन व्यवस्थापन तथा सञ्चालन नीति–२०७८’ को बन्दसत्रबाट पारितसँगै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा संस्थाकै प्राङ्गणमा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै हरेक कामका लागि विदेशीसँग हात माग्नु दास प्रवृत्तिको मानसिकता भएको बताए । उनले संकटमा साथ दिने असल मित्र हुने बताउँदै यस सहकारीेले नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यका लागि सहयोग गरेकोमा सहकारीप्रति आभार प्रकट गरे । जनताको साढे ६ करोड सहयोगबाट बनेको अक्सिजन प्लान्टले दोस्रो चरणको कोरोना लहरमा नगरपालिकाले ४ सय ५५ जनाको उपचार गर्न सफल भएको उनले स्पष्ट पारे । अहिले नेपाल सरकार एनजीओ आईएनजीओको भरमा चलेकाले विदेशीले नेपाल र नेपालीप्रति दास मानसिकता देखाइरहेको उनले कथन छ । उनले युनेस्कोले स्वीकृति नदिएकै कारण भक्तपुरको राष्ट्रिय कला संग्रहालयको पुनर्निर्माण हुन नसकेको स्पष्ट पार्दै भक्तपुरका जनताकै सहयोगबाट पाँच तले मन्दिर, भैरवनाथको मन्दिर लगायतका पुरातात्विक संरचनाको काम कम लागतमा सम्पन्न गरिसकेको औल्याए ।

प्रमुख अतिथि प्रजापतिले संस्थाका पदाधिकारीहरुको इमानदारीता, पारदर्शिताले भक्तपुर बचतलाई जनताले विश्वास गरिएको स्पष्ट पार्दै हरेक क्षेत्रमा सञ्चालककै बदमासीका कारण संस्थाको प्रतिष्ठामा आँच आउने बताए । नेपालका प्रमुख राजनीतिक नेताकै कारण देश परनिर्भरतातिर लम्केको बताउँदै उनले एमसीसी सम्झौता पनि परनिर्भरताकै प्रतिक रहेको स्पष्ट पारे । राजनीति ठेकेदार, तस्करी र व्यापारी जस्ता कुपात्रबाट सञ्चालन भएपछि राजनीतिप्रति जनताको विश्वास गुमेको उनको ठम्याइ छ । उनले जुन देश आर्थिक रुपमा स्वतन्त्र हुँदैन, त्यो देश राजनीतिक रुपमा स्वतन्त्र नहुने बताउँदै डलरले नेपाललाई नवउपनिवेश बनाउन खोजेको धारणा राखे । साथै भक्तपुर बचतले आर्थिकसँगै सामाजिक, सांस्कृतिक लगायतका कार्यमा जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै आदर निकेतनको सोच राख्नु सकारात्मक भएको उनको धारणा छ । भक्तपुर नगरपालिकाले पनि सोही सोचलाई पूरा गर्न ७०–८० लाख रुपैयाँमा अँचा पोखरीमा निर्माण कार्य भइरहेको स्पष्ट पारे ।

तस्विरः प्रेम प्रजापति

अन्य संस्थाले भन्दा फरक र नयाँ कार्य गर्न गाह्रो हुन्छ, तर त्यही काममा इज्जत, सम्मान र विश्वास हुने भएकाले भक्तपुर बचतले आदर निकेतनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नियमित चिन्तन गर्नुपर्ने बताए । उनले परमादेशबाट प्रधानमन्त्री बनाउनु जनताको सर्वोच्चता हनन् हुनु हो भन्दै सत्तापक्षले ठूलो अपराध गरिरहेके बताए । उनले अहिलेको सरकारबाट जनताले केही अपेक्षा गर्न नसकिने धारणा राखे ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का सञ्चालक समितिका सदस्य मन्दरा मिश्रले समुदायमा आधारित यस सहकारीेले सबै सहकारीलाई आर्थिक हिसाबले उछिन्नेतापनि सद्भाव र सहकार्य गरी अघि बढ्नुपर्ने बताए । साथै उनले विधि, प्रविधि र नीतिलाई अंगिकार गरी संस्था अघि बढ्नुपर्ने बताए । भक्तपुर नगरपालिकाले आफ्नो स्वीकृतिबेगर वागमती प्रदेशबाट स्वीकृति लिएर चलाएका बहुउद्देश्यीय सहकारीहरुलाई अनुगमन गरी कारबाही गरेकोप्रति सहमति जनाउँदै उनले बढी ब्याजदर देखाई जनता ठग्ने ठग सहकारीसँग सचेत रहन अनुरोध गरे ।


भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सीमित सहकारीका बदमासीका कारण बचतकर्ताहरुको दिमागी रोग बढिरहेको स्पष्ट पार्दै त्यस्ता सहकारीको अनुगमन भइरहेको बताए । उनले लिवाली, तुमचो र कमलविनायक आवास योजनाको अनुभवबाट चलाएको देको मिवा इतापाके आयोजनामा आएका गुनासोको सम्बोधन गर्दै काम गरिरहेको र दीपावलीपश्चात नै जग्गा फिर्ता गर्दैजाने बताए । उनले सबै अस्पताल दशैमा बन्द भएतापनि ख्वप अस्पताल चल्ने जानकारी दिँदै वडाका विभिन्न गतिविधिबारे स्पष्ट पारे ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले भक्तपुरमा एसेस ब्राण्डिङमा गएका सहकारीको तुलनामा भक्तपुर बचत हरेक किसिमबाट अघि बढेको स्पष्ट पारे । संघले सूचना र तालिम दिइरहेको जानकारी दिँदै सहकारी अभियानलाई पनि निरन्तरता दिएको बताए । संघले मालपोतमा वृद्धि भएको शुल्कलगायतका विषयहरुको विरोध गरेको बताए । उनले स्वास्थ्य बचतको आवश्यकता रहेको बताउँदै संघले गरिरहेका विभिन्न विषयको बारेमा स्पष्ट पारे ।

संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार रत्नप्रसाद प्रजापतिले सीमित पूँजीबाट शुरु भएको यस संस्थामा ३ सय करोडभन्दा बढी निक्षेप संकलन हुनु जनताको विश्वासको परिणाम भएको स्पष्ट पारे । संस्थालाई संस्थागत विकास गर्न विभिन्न तालिमहरु उपलब्धिमूलक हुने बताउँदै उनले युवा तथा महिलालाई रोजगारमूलक तालिम भइरहेको बताए । सानो त्रुटिले ठूलो दुर्घटना निम्तिने भएकाले संस्थाका सबै पदाधिकारीहरुले आर्थिक दर वृद्धिसँगै त्यसको ज्ञान आर्जन गर्नु आवश्यक भएको ठम्याए । संस्थाका अध्यक्ष बलराम प्रजापतिले सभापतित्व ग्रहण गर्दै आदर निकेतनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको सहयोगको अपेक्षा गरे ।

संस्थाका उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा सञ्चालक समितिका सचिव लक्ष्मी प्रसाद कुसीको आ.व. २०७७/०७८ को सञ्चालक समितिको प्रगति प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद प्रजापतिको आ.व. २०७७/०७८ को वित्तीय विवरण तथा ०७८/०७९ को अनुमानित वार्षिक वजेट, लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण सुन्दर प्रजापतिको आ.व. २०७७/०७८ को लेखा सुपरीवेक्षण समितिको प्रगति प्रतिवेदन, बीआरबीएस एण्ड एशोसियट्सद्वारा आ.व.२०७७/०७८ को बाह्य लेखा परीक्षणको प्रतिवेदन, भक्तपुर साकोस आदर निकेतन व्यवस्थापन तथा सञ्चालन नीति–२०७८, आ.व. २०७८/०७९ मा बाह्य लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु संशोधनसहित पारित गरेका छन् ।

संस्थाले आ.व. २०७७/०७८ मा ३ अर्ब ७ करोड ४९ लाख ३ हजार ३५ रुपैयाँको वासलात आर्जन गरेकोमा २०७८/०७९ का लागि ३ अर्ब ४५ करोड अनुमानित बजेट पेश भएको संस्थाले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *