काठमाडौं, १९ मंसिर
सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले गीत संगीतमार्फत समेत प्रचारको तयारी गरेको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीतसंगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आहृवान गरेको बताएको छ ।सचिवालयका अनुसार, गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ ।गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन भनिएको छ । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने सचिवालयले जनाएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।