ख्वप इ.कलेजको मोडलमा धनगढी उपमहानगरपालिका कलेज सञ्चालनको तयारी

विशेष समाचार शिक्षा समाचार

धनगढी, ९ कात्तिक


धनगढी उपमहानगरपालिकाले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन लिएर भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनीयरिङ कलेजको मोडलमा कलेज सञ्चालनको तयारी गरेको छ । अटो मोबाइल इन्जिनियरिङ र होटल म्यानेजमेन्टमा तीन बर्षे डिप्लोमा तहको कोर्ष पढाउने गरी उपमहानगरपालिकाले कलेज सञ्चालनको तयारी गरेको हो । उपमहानगरपालिकाले सिटिइभिटीबाट त्यसका लागि सम्बन्धन समेत लिइसकेको छ ।
उपमहानगरपालिकाले भर्नाका लागि आवेदन फारमहरु वितरण गर्ने काम शुरु भएको नगरप्रमुख नृपबहादुर वडले जानकारी गराए । उपमहानगरपालिकाले होटल म्यानेजमेन्टमा ४० जना र अटो मोबाइल इन्जिनियरिङमा ४८ जनालाई भर्ना लिने छ ।
पढाई सञ्चालनका लागि त्रिनगर माध्यमिक विद्यालय र नवदुर्गा मावि मोहनाको भवनलाई हेरिएको र १६ कोठा खाली भएको जानकारी आएकोले कक्षाहरु नवदुर्गा माध्यमिक विद्यालयमै सञ्चालन हुने सम्भावना रहेको उनले बताए ।
उपमाहनगरपालिकाको कार्यपालिकामा छलफल गर्न बाँकी रहे पनि उपमहानगरका १९ ओटै वडाबाट एक÷एक जना, सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट एक÷एक जना, कार्यपालिकाको सिफारिशमा एक जना र १९ जना खुला गरी विद्यार्थी भर्ना लिने तयारी गरिएको प्रमुख वडले बताए । अटो मोबाइलमा ४८ जना भएको खुलाका लागि १९ सीट रहे पनि होटल म्यानेजमेन्टमा भने ४० जनालाई मात्रै राख्न सकिने भएकाले खुलाको कोटा घट्ने उनको भनाइ छ ।
कलेज कहाँ राख्ने भन्ने निश्चित नभएकोले अहिले उपमहानगरको कार्यालयमा नगर प्रमुखको सचिवालयमा नै आवेदन फारम लिने काम भइरहेको छ । आवेदन फारम संकलन गरी कात्तिक २३ गते नै प्रवेश परीक्षा लिएर मंसिर पहिलो सातादेखि कक्षा सञ्चालन गरिने र स्थानीय सरकारको लगानीमा धनगढीले कलेज सञ्चालन गर्न लागेको भक्तपुरपछिको नेपालमै दोस्रो भएको सिटिइभिटीका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख कुष्माकर भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *