बागलुङ, ५ कार्तिक
बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्नको लागि आगामि मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव हुने भएको छ ।
गलकोट पर्यटन विकास केन्द्र बागलुङले गल्कोटको पर्यटकीयस्थल, संस्कृतिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनको लागि मंसिर ४ देखि ११ गतेसम्म दोस्रो गलकोट घुम्टे महोत्सवको आयोजना गरिएको बागलुङ बजारमा मंगलबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
नेपाल सरकारले घोषणा गरेको आन्तरिक पर्यटन बर्ष सन् २०१९ र पर्यटन बर्ष २०२० सफल पार्न महोत्सवले सहयोग पुर्याउने गलकोट पर्यटन विकास केन्द्र बागलुङका सचिवालय सदस्य याम बहादुर श्रेष्ठले बताए । ‘सरकारले अहिले पर्यटन बर्ष सफल बनाउन लागिपरेको छ,’ सदस्य श्रेष्ठले भने–‘गलकोट महोत्सवले सरकारको उक्त अभियान पनि सफल बनाउन मद्धत गर्नेछ ।’बागलुङको गल्कोट क्षेत्र भनेर चिनिने गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका ३ र ८ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउनलाई महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । गल्कोट क्षेत्रमा रहेका पर्यटकिय स्थलहरु घुम्टे धुरी, गल्कोट दरबार, गाईघाट झर्ना र गुफा, उदय रीघा बुद्ध–विहार, टेउवा, सहस्र धारा, पाण्डवखानी, निलुवा, नाँचने डाँडाको प्रचार गरी पर्यटकहरुलाई भित्र्याउनको लागि महोत्सवले सहयोग पुर्याउने अध्यक्ष झङ्क बहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले गल्कोट क्षेत्रको सास्कृतिको रुपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाँच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच, भजन किर्तनहरुलाई महोत्सवमा प्रस्तुत गरिने बताए । महोत्सवमा गल्कोट क्षेत्रको उत्पादनको रुपमा रहेको ताराखोलाको आलु, गल्कोटको माछा लगायतका खाद्यन्नहरु प्रदर्शन गरिनुका साथै विक्रि गरिने आयोजकले जनाएको छ । महोत्सवमा गल्कोटको पुरातात्विक बस्तुहरु, हतियार, तथा गल्कोटका खानीमा भेटिएका बस्तुहरुलाई प्रदर्शनमा राखिने र गल्कोटको समग्र पर्यटकीय क्षेत्रको रुपमा जानकारी गराइने सचिवालय सदस्य श्रेष्ठले जानकारी दिए । १ करोड ४५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको महोत्सवमा १ करोड खर्च लाग्ने र बचेको ४५ लाख रुपैयाँले गल्कोटको पर्यटकीय क्षेत्रको विकासको लागि गुरुयोजना गराएर काम गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । महोत्सवमा भलिबल, लोकदोहोरी गीत प्रतियोगिता लगायतका प्रतियोगिताहरु आयोजना गरिएको आयोजकले जनाएको छ ।