४ जना पक्राउ अफिम सहित

समाचार स्वास्थ्य

नेपालगञ्ज, ४ असार


बाँके नेपालगञ्जको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले १८ केजी अफिमस हित चार जनालाई पक्राउ गरेको छ । बुधवार विहान ५ बजेतिर अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिम पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन जना पुरुष रहेका छन् ।
‘पिछा गर्दै जाँदा प्रहरीले विहानमात्र ठूलो परिमाणमा अफिमसँगै तस्करीमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भारतीय तस्करको लगानीमा पहाडी जिल्लामा अफिम खेती हुने गरेको खुलेको छ, हामी अनुसन्धान गर्दैछौं । अहिले नै सबैकुरा भन्न मिल्दैन ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजकि गरेको छैन । बुधवार ५ बजे पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । अफिमसहित चार जना पक्राउ परेसँगै नेपालमा हुने अफिम खेतीमा भारतीय लगानी रहेको तथ्य खुलेको छ । नेपालगञ्जमा अफिम ल्याई पु¥याएको सूचना पाएपछि एक हप्तादेखि बाँके प्रहरीले निगरानी बढाएको थियो ।
लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने कच्चा पदार्थ अफिम खेती नेपालका पहाडी जिल्लामा हुने गरेको छ । दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लामा लुकीछिपी अफिम खेती गर्ने गरिएको छ । नेपालमा अफिमको खेती गरी अफिम भारतमा लगेर ब्राउनसुगर बनाएर पुनः नेपालमा भित्रिने गरेको छ ।
साविकको मध्यपश्चिमका पहाडी जिल्लाहरुमा हुने अफिम तथा चरेश खेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको छ । पक्राउ परेकाले भारतीय व्यापारीले अफिमको बिउ र त्यसलाई हुर्काउने, बढाउने र प्रशोधन गर्ने तरिका सिकाएर स्थानीयलाई अवैध काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतले जनाएको छ ।
भारतीय लागूऔषध माफियाले नेपालका दुर्गम गाउँमा अफिमको अवैध खेती विस्तारमा लगानी गरिरहेका छन् । भारतीय लागुऔषध तस्करहरुले अफिमको बीउ र पैसा नेपालको पहाडी जिल्लामा पठाउने र स्थानीयले अफिमको खेती गरेर चोप निकाली पैसा लगानी गरेका तीनै भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भारतमा अफिमलाई ब्राउनसुगर र पाकिस्तानलगायतका मुलुकमा हाइट सुगर बनाउन प्रयोग गर्ने गरिएको छ । विश्वमा सबैभन्दा बढी यसको अवैध खेती अफगानिस्तानमा हुने गरेको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार म्यानमारमा अफिमको खेती फस्टाएको छ । अफिम खेती, उपयोग र व्यापार विश्वमा गैरकानुनी मानिन्छ । नेपालमा लागूऔषध नियन्त्रण ऐन ०३३ को दफा ८४ को ६ (३) मा भएको व्यवस्थाअनुसार एक सय ग्रामभन्दा माथि कारोबार, ओसारपसार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *