कोहलपुर बाँकेको पहिलो साक्षर स्थानीय तह बन्यो

समाचार

नेपालगञ्ज, ३ असार


बाँकेको कोहलपुर नगरपालिका साक्षर नगरपालिका घोषणा गर्ने पहिलो स्थानीय तह बनेको छ । बाँकेको पहिलो साक्षर स्थानीय तहका रुपमा कोहलपुरलाई साक्षर घोषणा गरिएको हो ।बाँके क्षेत्र नम्बर –१ का संघिय सांसद महेश्वर गहतराज ‘अथक’ र नगर–प्रमुख लुट बहादुर रावतले संयुक्त रुपमा साक्षर नगर घोषणा गरेका थिए । साक्षर नेपाल बर्ष २०७६ र साक्षर बाँके बनाउने अभियान अन्तर्गत साक्षर नगरपालिका घोषणा सँगै कोहलपुर बाँके जिल्ला कै पहिलो स्थानीय तह बन्न सफल भएको हो । नगरपालिकाले साक्षर घोषणाका लागि आवश्यक १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेको छ ।
२०६८ को जनगणना अनुसार कुल ७० हजार ६ सय ४७ र हालै नगरपालिकाद्धारा गरिएको घरघुरी सर्वेक्षण अनुसार ९० हजार ९ सय ५६ जनसंख्यामा कुल ९६ दशमलब ८५ प्रतिशत जनता साक्षर बनेपछि साक्षर नगर घोषणा गरिएको बताइएको छ ।
बाँके क्षेत्र नम्बर –१ का सांसद गहतराजले साक्षर नगर घोषणा निरक्षरता उन्मुलनको महत्वपुर्ण पक्ष भएको बताए । ‘साक्षर नगर घोषणा पुर्ण साक्षर कोहलपुर बनाउने यात्राको शुरुवात हो’ उनले भने, ‘यो कोहलपुर बासीको लागि अवसर पनि हो, चुनौती पनि हो ।’ बाँके जिल्लालाई साक्षर बनाउनका लागि अन्य स्थानीय तहले पनि साक्षर अभियान नै चलाउनु पर्छ । यस्तै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्लाको पहिलो स्थानीय तहको रुपमा साक्षर नगर घोषणा गरिएको भन्दै खुसी व्यक्त गरे । ‘आज मलाई निकै खुसी लागेको छ, उनले भने, ‘साक्षर घोषणा भईसकेका जिल्लामा जाँदा बाँकेलाई नाक खुम्च्याउनु पर्ने अवस्था थियो ।

साक्षरता घोषणापछि ५० लाख पाउने
स्थानीय तह मध्ये कोहलपुर नगरपालिका साक्षर घोषणा गर्ने पहिलो नगरपालिकाले भएकोले जिल्ला समन्वय समितिको कोषबाट ५० लाख पाउने भएको छ । केही समय अघि जिल्ला समन्वय समितिमा आयोजना गरिएको एक कार्यक्रममा सबै भन्दा पहिला साक्षर घोषणा गर्ने स्थानीय तहलाई अनुदान प्रदान गर्ने निर्णय भएकोले रु ५० लाख अनुदान दिइने बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बताए ।

घोषणापछि पुर्ण साक्षर नगरपालिका बनाउनको लागि सारक्षता कक्षा सञ्चालन गरिने नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले जानकारी दिए । नगरपालिकाको शैक्षिक स्थितिको कार्यत्रपत्र प्रस्तुत गर्दै २८ सामुदायिक, ८९ वटा बाल विकास केन्द्र र ५ वटा क्याम्पस रहेको जानकारी दिए । उनका अनुसार घरघुरी सर्वेक्षणको क्रममा ५ हजार ५ सय ५७ जना निरक्षर पाईएको र सारक्षता कक्षा सञ्चालन पनि २ सय भन्दा बढिलाई साक्षर बनाईएको थियो । नयाँ आर्थिक वर्षको शुरुवात सँगै साक्षरताका गतिविधिलाई अघि बढाईने छ ।

साक्षर नगर घोषणाको लागि पछिल्लो समय दुई महिनासम्म १६८ वटा समुहमा साक्षरता कक्षा सञ्चालन गरिएको थियो । साक्षर नगर घोषणाको लागि नगपालिकाले चालु आर्थिक बर्ष २०७५÷०७६ मा ५६ लाख रुपैयाँ विनियोजन गरेको भएपनी अहिलेसम्म २० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *