भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

विज्ञान/प्रविधि विशेष समाचार शिक्षा समाचार

भक्तपुर, १२ वैशाख


ख्वप इन्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इन्जिनीयरिङको आयोजनामा बिहीवारदेखि तीनदिने भूकम्प इन्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरू भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पानसमा द्वीप प्रज्ज्वलन गरी सम्मेलनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले अन्तरराष्ट्रिय सम्मेलनबाट प्राप्त प्राविधिक परामर्श र निचोडलाई संघीय सरकार, प्रादेशिक सरकारहरू र स्थानीय तहका सरकारहरूलाई सम्बन्धित विषयमा जोखिम न्यूनीकरण गर्न ऐन–कानुनहरूको तर्जुमा गर्न कलेजहरूमार्फत् ती सल्लाहबारे अवगत गराउनुपर्ने बताए ।
उनले भने, ‘चार वर्षपछि पनि भूकम्पको पराकम्पनले समाजलाई तर्साउँदै छ, हाम्रो देश भूकम्पीय क्षेत्रमा परेको हुनाले यसबाट हामी मुक्त हुन नसक्नेबारे सबै जानकार छौं ।’ समाजलाई भूकम्पको जोखिमबाट कसरी न्यूनीकरण गर्ने भन्नेबारे सम्मेलनमा देशी र विदेशी प्राविधिकहरूले आ–आफ्नो अनुभव, ज्ञान र जानकारीको आदान–प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
भवन निर्माण र भौतिक संरचनाहरू निर्माण गर्दा पुराना र प्रचलित आचारसंहितालाई पालना नगर्दा धेरै पुराना भवन र सम्पदाहरूलाई संरक्षण गर्न नसकेको बताउँदै अध्यक्ष बिजुक्छेँले भवन निर्माणका ऐन–कानुन र आचारसंहितालाई बेवास्ता गर्दा २०७२ सालको भूकम्प र पराकम्पनले धेरै धनजनको क्षति बेहोर्नुपरेको र अब त्यसबाट शिक्षा लिएर निर्माण संहिताअनुसार भवन निर्माण र समय–समयमा मर्मत सम्भार गर्दै जानुपर्ने बताए ।


संघीय बन्दोबस्त र गणतन्त्रमा धेरै कमी–कमजोरीहरू भएको औंल्याउँदै उनले बहुदलीय व्यवस्थामा हरेक विषयमा भिन्न मत हुनु पनि स्वाभाविक भएको हुँदा फरक मत, अभिव्यक्ति स्वतन्त्रता र छलफलबाट टुंगो लगाउने कार्यशैली नै बहुदलीय प्रजातन्त्रको सौन्दर्य भएको बताए ।
कार्यक्रममा नेमकिपाका सचिव तथा संघीय सांसद प्रेम सुवालले भूकम्पबाट हुने क्षति घटाउन देशको सन्तुलित विकास आवश्यक भएको बताउँदै पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिइनुपर्नेमा जोड दिए ।
उनले काठमाडौं उपत्यकामा करोडौं जनसंख्या बसाउने सरकारको नीतिकै कारण थप क्षति र विपद्को सिर्जना हुने बताउँदै सांंसद सुवालले खुला क्षेत्र र सार्वजनिक सम्पदामा भएको अतिक्रमण र अनियमितता व्यापक भएको बताए । गणतन्त्र स्थापना भएको चौध वर्षमा भ्रष्टाचार र अनियमितता बढेको बताउँदै सांसद सुवालले बागमती र हनुमन्त्ते खोलाको नदी साँघुरो बनाएकै कारण बर्सेनी काठमाडौं उपत्यका डुबानमा परेको बताए ।
कार्यक्रमका सभापति एवम् ख्वप इञ्जिनीयरिङ कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट ७ लाख ६२ हजार ६०४ घर पूर्ण क्षति भएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३ लाख ८२ हजार ६०० घरको पुनर्निर्माण सम्पन्न भइसकेको र भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि लाखौं घरहरू पुनर्निर्माण गर्न बाँकी रहेको बताए ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले १७ वटा मन्दिर, ३४ वटा पाटी, ४ वटा द्यो छेँ, ३ वटा प्रवेशद्वार, ५ वटा ढुंगेधारा र अन्य ५ वटा गरी ८३ वटा सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताउँदै ३२ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको र सम्पदा संरक्षणको लागि नगरपालिकाले २३ करोड ३७ लाख ७८ हजार रुपैयाँ खर्च गरिसकेको जानकारी गराए ।
उनले मौलिक शैलीलाई जोगाउन जनताको सक्रिय सहयोग विना सम्भव नहने बताउँदै भक्तपुर नगरपालिकाले पुरानो नगर क्षेत्रमा नक्सा नियमानुसार र परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडामा लाग्ने काठ, इँटा र झिङ्गतीमा ३५ प्रतिशत अनुदान दिंदै आएको बताए ।


नेमकिपा प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विदेशी सहयोगले नेपालको पुनर्निर्माण गरिनु उचित नभएको बताउँदै सांस्कृतिक सम्पदाहरूको नियमित मर्मतसम्भार र संरक्षण गर्न आवश्यक भएको बताए ।
प्रदेश नं. ३ का सांसद सृजना सैंजुले सम्पदा संरक्षण र भक्तपुरको स्वरुप परिवर्तन गर्न भक्तपुर नगरपालिकाले सराहनीय कार्य गरिरहेको चर्चा गर्दै भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनर्निर्माणको कार्य सन्तोषजनक हुन नसक्नुमा सरकार स्वयम् जिम्मेवार भएको बताए ।
सम्मेलनमा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा आर्किटेक्ट रजनी जोशीले भक्तपुरको सम्पदा पुनर्निर्माणमा भएका चुनौतीबारे अवगत गराउँदै भक्तपुर नगरपालिकाले स्वाबलम्बी रुपमै पुनर्निर्माण कार्य गरिरहेको बताए ।
इञ्जिनीयरिङ अध्ययन संस्थाका डीन रामचन्द्र सापकोटाले ख्वप इञ्जिनीयरिङ कलेज भूकम्प इञ्जिनीयरिङ अध्ययन–अध्यापन गराउने देशकै पहिलो कलेज भएको बताए ।
नेपाल इञ्जिनीयरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले भूकम्पले भन्दा पनि हामीले निर्माण गर्ने कमजोर संरचनाका कारण बढी क्षति पुग्ने बताउँदै भूकम्प प्रतिरोधी भवन निर्माणको आवश्यकता औंल्याए ।
भक्तपुर जिल्लाका प्रजिअ नारायणप्रसाद भट्टले ख्वप इञ्जिनीयरिङ कलेजले समाज र देश निर्माणको निम्ति आवश्यक बहुआयामिक हिसाबले सेवा गर्ने जनशक्ति उत्पादन गरिरहेको बताए ।
कार्यक्रममा भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पनि आ–आफ्नो धारणा प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *