चितवन ११ बैशाख
देशमा समृद्धि ल्याउन कृषि उत्पादन र औद्योगिक उत्पादनलाई वृद्धि गर्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन ।
समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै उनीहरुले उद्योगीमैत्री वातावरण, ऐन कानुन शंशोधन गर्नुपर्ने धारणा राखे । आज भरतपुरमा एभ्युनिज टेलिभिजनले आयोजना गरेको ‘समृद्धि सपना, प्रादेशिक विकास बहस’ बिषयक कार्यक्रममा उनीहरुले तीनतहको सरकारको सहकार्यबाट मात्र समृद्धिको सपना पुरा हुने बताएका हुन ।
कार्यक्रममा बोल्दै नेपाल परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले सरकारले समृद्धिको सपनालाई व्यहारमा उतार्नुपर्ने , नीजि क्षेत्रलाई यस कार्यमा सहकार्य गर्न आवश्यक रहेको बताए । ‘जबसम्म कृषि उत्पादन र औद्योगिक उत्पादनलाई प्राथमिकतामा राखिदैन, तब सम्म हामीले देखेको समृद्धि असम्भव छ , उनले भने । उद्योगसम्बन्धी २६ वटा कानुनमा परिवर्तन गर्नुपर्ने भन्दै उनले नियमावली र कानुन निर्माणको काम चांँडो हुनुपर्ने बताए ।
उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमले सरकारको नीति उत्पादनमुलक क्षेत्रमा लक्षित हुनुपर्ने भन्दै स्थानबिशेषका उत्पादनहरुलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नभएको भन्दै उनले ऋणमा सहजता र उत्पादित वस्तुको मुल्य निश्चित हुनुपर्ने बताए । सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले तीनतहको सरकारबाट उद्योगी व्यवसायीले केही आशा गरेको भएपनि अझैपनि पर्ख र हेरको अवस्थामा आफूहरु रहेको बताए । ‘अझैपनि लगानीको वातावरण बनिसकेको छैनौ, अझैपनि सरकार कानुन निर्माण र कार्यन्वयनमा अलमल छ’ उनले भने । प्रदेश नम्बर ३ कृषि र पर्यटनको भरपुर सभावना रहेको हुंँदा कृषि उतपादनलाई प्रतिस्पर्धी गर्ने नीति ल्याउन आवश्यक रहेको उनले बताए । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले प्रकृयागत कमजोरीलाई सुधार्नुपर्ने र पुराना कानुन खारेजी गर्नुपर्नेमा जोड दिए ।
प्रदेश नम्बर ३ कृषि, पर्यटन र जलविद्युतको हव भएको भन्दै प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कैलाश प्रसाद ढुंगेलले सरकारले उत्पादनमा बृद्धि गर्न बिशेष योजना ल्याउन लागेको जानकारी दिए । ‘प्रदेश नम्बर ३ को सिन्धुली र चितवन जिल्लालाई हामीले औद्योगिक विकास केन्द्र बनाउने गृहकार्यमा छौं’ उनले भने । नीजि क्षेत्रलाई संँगै नलगी समृद्धि प्राप्त नहुने भन्दै उनले उद्योगीमैत्री, युवामैत्री कानुन ल्याउन लागेको बताए । खरीद ऐन शशोधनगर्ने कार्य भर्खर शुरु भएको बताउंँदै उनले उद्योगी व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरे । सो अवसरमा अन्य उद्योगी, व्यवसायी किसानले , नीतिगत भ्रष्टाचार हावी भएको ,यूवालक्षित कार्यक्रम नभएको , विदेश जाने युवाशक्ति रोक्नुपर्ने , उत्पादित वस्तुहरुको वजार व्यवस्थापन गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।