खड्गलाई स्वदेश फर्काउन मलेसियाबाट चार लाख

विशेष समाचार समाचार

तेह्रथुम, २५ पुस


तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रू ४ लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेको रू ४ लाख रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो ।

मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । अभियानमार्फत सङ्कलन गरेको रकम मञ्चको अनुरोधबमोजिम परिवारलाई उपलब्ध गराइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीको स–सानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गरे ।

गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाइमा सङ्कलन भएको रु ६४ हजार १०० पनि परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कूल रू ४ लाख ६४ हजार १६० खड्गका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताए ।

विसं २०७० मा युएई गएका खड्गसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा ४ वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिराम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । खड्ग अहिले युएईको आबुधावीको अलवात्बा जेलमा रहेको पारिवारिक स्रोतले जनाएको छ । खड्गलाई नेपाल फर्काउन दुई लाख दिराम अर्थात् नेपाली रु ६२ लाख जुटाउन देश विदेशमा अभियान चलेको थियो । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाउ अभियानका अध्यक्ष दुर्गा गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *