छ कलाकार सम्मानित

कला/साहित्य मनोरञ्जन समाचार

काठमाडौँ, २३ पुस

‘नेपाल कमर्शियल आर्टिष्ट सङ्घ’ले आफ्नो २४औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा आज ६ कलाकारलाई सम्मानित गरेको छ ।

हेमगङ्गा युवा कला प्रतिभा पुरस्कारबाट मुकेश श्रेष्ठ, हेमगङ्गा महिला कला प्रतिभा पुरस्कारबाट सरोजा खड्गी, क्यान आइडियल कला पुरस्कारबाट राम पाल्पाली, क्यान कला पुरस्कारबाट नारायण वाग्ले, शिवाता कला प्रतिभा पुरस्कारबाट नीति श्रेष्ठ, अमात्य कला पुरस्कारबाट जीवन राजोपाध्याय र क्यान कला पुरस्कारबाट दीपककुमार जोशी सम्मानित भएका हुन् । उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक समारोहमा सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा मन्त्री बाँस्कोटाले क्षमता चिनाउने मूल आधार नै कला रहेको बताए । उनले १३औँ शताब्दीमा नै नेपाली कलाकारको विचित्रको क्षमताले देश चिनाउन सहयोग पुगेको बताए । काभ्रेपलाञ्चोकलाई कला केन्द्रका रुपमा विकास गर्न रू दुई करोड बजेट विनियोजन गरिएको सो अवसरमा मन्त्री बाँस्कोटाले जानकारी दिए ।

संस्कृतिविद् सत्यमोहन जोशीले कला क्षेत्रको समृद्धिका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए । “कलाको प्रचारका लागि भाषागत ज्ञान आवश्यक हुन्छ”, उनले भने । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल कलापरिषद् सँगसँगै मिलेर हिँडे कलाका क्षेत्रमा अझ धेरै विकास गर्न सकिने उनको भनाइ थियो । कलाको गुणस्तर, कलाकारको निरन्तरता, अर्को विधामा सक्रियता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएको प्रयास, समसामयिकतालगायत मापदण्डका आधारमा कलाकारलाई सम्मान गरिएको पुरस्कार छनोट समितिका मुकेश मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *