धाँ बाजा प्रतियोगितामा नासः हरिमा बाजा खलः प्रथम

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २१ पुस


भक्तपुर (अस) । नेपालकै पर्यटकीय गन्तव्यस्थल भक्तपुरमा शनिवार धाँ बाजा (ढोलक) प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शनिवार भउको भक्तपुर नगरब्यापी धाँ बाजा प्रतियोगितामा नासः हरिमा बाजा खलःले प्रथम स्थान हासिल गरेको छ । नगरपालिकाले भक्तपुरको सांस्कृतिक एवम् पर्यटकीय धरोहरलाई बचाउन गरिएको उक्त प्रतियोगिता भक्तपुर नगर परिक्रमाका साथ गरिएको हो ।
नगरपालिकाको वार्षिक योजनाअनुसार धाँ बाजा प्रतियोगिता गरेको कार्यालयले जानकारी दिएको छ । नगरपालिकाले भक्तपुरको जीवनपद्धतिअनुसारका सांस्कृतिक क्रियाकलाप झल्किने विभिन्न बाजा प्रतियोगितामध्ये धाँ बाजा प्रतियोगिता गरेको पहिलोपटक गरिएको हो । प्रतियोगितामा विभिन्न दाफा, भजन, स्कूल, सहकारी संघ संस्थाहसहित नगरपालिकाका १० ओटै वडाबाट जम्मा ३७ वटा टोलीले दर्ता जनाएपनि ३१ टोलीको मात्र सहभागिता रहेको थियो । यसलाई नगरपालिकाले उत्साहवद्धर्क सहभागिताका रूपमा लिएको छ । प्रतियोगि टोलीले भक्तपुर नगर परिक्रमासँगै दतात्रयस्क्वायरमा समापन गरिएको थियो । आयोजकको नियमानुसारको समयसीमाभित्र बाजा बजाइसक्नुपर्ने र नगरका विभिन्न ठाउँमा मूल्यांकन टोलीले मूल्यांकन गरी शनिवार नै विजेता घोषणा गरेको भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्व बताउँछन् ।
उनका अनुसार प्रतियोगितामा नासः हरिमा बाजा खलः प्रथम, नित्यनाथ दाफा भजन धाँ बाजा खलः द्वितीय, एभरेष्ट ई.सेकेण्डरी स्कूल धाँ बाजा खलः तृतीय र राइजिङ कल्चर ग्रूप र आकाश भैरव नौ बाजा भजन गुठी ‘क’ सान्त्वना हुन सफल भएका थिए । पुरस्कार राशीमा प्रथमलाई ३० हजार रुपैयाँ, एउटा धाँ, भुछ्या र सिछ्या, द्वितीयलाई रू.२५ हजार, धाँ, भुछ्या, तृतीयलाई रू.२० हजार, धाँ र सिछ्या, सान्त्वनालाई रू.१० हजार र धाँ प्रदान गरेका थिए । साथै ३१ ओटै टोलीलाई खाजाखर्च रू.२ हजारसहित एक एक ओटा धाँ वितरण गरेको थियो । प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित)ले पुरस्कृत टोलीलाई पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *