दीक्षान्त समारोह कि ‘देशनिकाला’ समारोह ?

विशेष समाचार समाचार स्वास्थ्य
डा आनन्दकुमार सिंह
काठमाडाैं, २ पुसsharethis sharing button

डाक्टर रामलाई अमेरिकाबाट फोन आउँछ ! फोन थियो- ऊ भन्दाअघि चिकित्सा पढेको एकजना दाइको। जसले अमेरिकाको ग्रीन कार्ड हासिल गर्नुभएको छ। त्यहीँ चिकित्सकीय अभ्यास गरिरहनुभएको छ।

फोनमा उहाँले भन्दै हुनुहुन्थ्यो, ‘राम भाइ अमेरिकामा विशेषज्ञता गर्न र चिकित्सकीय अभ्यास गर्न विश्वाविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा उपस्थित हुनु पर्छ है,  आफ्नो नाम दर्ता गर्न नबिर्सिनु।’

आफूभन्दा जुनियर तर राम्रो विद्यार्थीप्रतिको सद्भाव उहाँले यसरी दर्शाउनुभयो। एकजना दाइको नजरमा भाइप्रतिको सद्भाव थियो। तर, देशले भने तीक्ष्ण दिमाग भएकाहरु एकपछि अर्कोगरी गुमाउँदैछ । त्यसको लाइनमा अहिले डा राम छ।

आज त्रिभुवन विश्वविद्यालयले आयोजना गरेका दिक्षान्त समारोहमा पनि हामीले यस्ता कयौं उत्कृष्ट दिमाग भेट्नेछौं। जो दीक्षा हासिल भएको खुशीयाली होइन, विदेश जानका लागि जरुरी भएको तस्विरका लागि त्यहाँ पुग्नेछन्।

ती सिनियर दाइको सुझाव पाएका रामहरुको छेउमै उभिएका हामीजस्तालाई लागिरहेछ –  नर्सरी कक्षादेखि अहिले स्नातक तहसम्म हुर्काएका ती सम्पूर्ण नेपाल आमाका भबिस्यलाई कहिलेसम्म बेच्ने हो?

दीक्षान्त समारोह हुँदै गर्दै हामीले यसबारे बहश मन्थन गर्नैपर्छ। त्यो समारोह उनीहरुको नेपाल पढाइ र बसाइको अन्तिम क्षणजस्तो किन भइरहेको छ भनेर एकपल्ट आफैंतिर प्रश्न गर्नैपर्नेछ भएको छ।

आ-आफ्ना क्षेत्रमा अब्बल भएर स्नातक हासिल गरेका ती विद्यार्थीहरु अहिले आफ्नो जन्मथलो र अध्यनथलो छोडेर बाहिरिरहेका छन् । यही हुर्केर र ज्ञानसीप हासिल गरेर कर्मथलोको रुपमा अरु कुनै देश चुन्न हामी किन बाध्य भयौं त? हामीले हाम्रै मुलुकको उन्नतिका निम्ति हाम्रो हाम्रो पसिना बगाउन किन सक्दैनौ त?

दिक्षान्त समारोहअघि यस्ता प्रश्नहरुले मेरो दिमाग घेरिरहेका छन्। म आफैंले जानेको एउटा तथ्यांकले आफैं झस्किरहेको छु । नेपाल सरकारको लगानीमा हरेक वर्ष ३०० भन्दा धेरै विद्यार्थी डाक्टर बन्न सफल हुन्छन्। उनीहरुमध्ये अधिकांस उत्कृष्ट चिकित्सकहरु बिदेश पलायन हुन बाध्य हुन्छन्।

मैले ब्रेन ड्रेनको कुरा गरिरहेको छु। विश्वस्तरमा नेपालले प्रतिस्पर्धा गर्नका निम्ति तथा ती सम्पुर्ण उत्कृष्ट दिमागलाई नेपालकै विकासमा प्रयोग गर्न जरुरी छ। जसका लागि हामीले राम्रो नीति लिनुपर्छ र नीति अनुसारकै नियत राख्नुपर्छ। आफूले उत्पादन गरेको जनशक्तिको उचित व्यवस्थापन र उपयुक्त अवसर प्रदान गर्ने वातावरण मिलाउन राज्यले सोच्न ढिला भइसकेको छ।

अहिलेकै अवस्था रहने हो भने विश्वविद्यालयले आयोजना गर्ने दिक्षान्त समारोह ‘देश निकाला’ समारोहका रुपमा चित्रित भइरहनेछन्। जसले देशको दीगो विकासको परिकल्पना कल्पानामै सिमित राख्नेछन्। त्यसैले दिक्षान्त समारोह भइरहेको यो बेला हामीले ती दिक्षित विद्यार्थीको आँखामै देशमै उज्वल भविष्य देखिने वातावरण बनाउँ। न कि डा रामजस्तै विदेश जानका लागि जरुरी एउटै प्रक्रियाका लागि त्यो समारोहमा उपस्थित हुनेको संख्या बाक्लो होस्। यदि दिक्षान्त समारोह देशबाट बाहिरिने डकुमेन्ट मात्रै बन्ने हो भने यसमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज चर्कोगरी उठ्नेछ।

स्राेतः स्वास्थ्य खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *