गाजापट्टीमा भइरहेको नरसंहारमा इजरायलसँगै अमेरिकी साम्राज्यवाद दोषी

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २८ मंसिर

गाजापट्टीमा भइरहेको नरसंहारमा इजरायलसँगै अमेरिकी साम्राज्यवाद दोषी

प्यालेस्टिनी जनतामाथिको अत्याचार, नृशंस हत्या, बमबारीको विरोधमा बुधबार भक्तपुरमा जुलुस प्रदर्शन तथा सभा भएको छ । प्रदर्शन नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले संयुक्त रूपमा आयोजना गरेको हो ।
सूर्यविनायक, पाण्डुबजारबाट सुरू भएको विरोध प्रदर्शन ढलानपाटी, सुन्दरबस्ती, बलाँको हुँदै सूर्यविनायक चोक पुगेर विरोध सभामा परिणत भएको थियो । प्रदर्शनकारीले युद्धविरूद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेका थिए ।
सूर्यविनायक चोकमा आयोजित विरोध सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले प्यालेस्टिनी जनताको स्वतन्त्रताप्रति ऐक्यबद्धता प्रकट गर्दै बाइडेन तथा नेतन्याहु युद्ध अपराधी भएकाे बताए । उनले नागरिक इलाकामा आक्रमण गर्नु अपराध भएको भन्ने संयुक्त राष्ट्र सङ्घको घोषणा रहेको भन्दै हालसम्म मारिएका १८ हजार प्यालेस्टिनीमध्ये अधिकांश महिला र बालबालिका रहेको तथ्य राखे। केन्द्रीय सदस्य गोसाईले गाजा क्षेत्रमा खाना, इन्धन, पानी, बिजुली नभएको भन्दै गाजाका १९ लाख प्यालेस्टिनी शरणार्थी हुन बाध्य भएको बताए।
गाजाका सुरूङहरू समुद्रको पानीमा डुबाउने नेतन्याहुको घोषणाले गाजाको सम्पूर्ण वातावरण ध्वस्त हुने तर्क राख्दै केन्द्रीय सदस्य गोसाईले संरा अमेरिकाले मध्यपूर्वको तेलमा कब्जा जमाउन युद्धको खेती गरिरहेको भनाइ राखे। उनले भने, “इजरायलका ९२ प्रतिशत हतियार अमेरिकामा बनेको हो । सन् २०१६ मा ओबामा सरकारले १० वर्षमा ३८ अर्ब डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेको थियो ।”
विश्वभर युद्धविरामको माग भइरहेको तर त्यसको बाधक संरा अमेरिका भएको भन्दै उनले अमेरिकी भिटोको कारण युद्ध चालु रहेको तर्क गरे ।
केन्द्रीय सदस्य गोसाईले अमेरिकी साम्राज्यवादको हार निश्चित भएको भन्दै भियतनाम युद्धमा अमेरिकाले धुलो चाट्नु परेको बताए । उनले नेपालको संसद्ले अमेरिकी स्वार्थको एमसीसी सम्झौता पारित गरेपछि नेपालले प्यालेस्टिनको नियति भोग्नुपर्ने परिस्थिति बनेको भनाइ राखे ।
कार्यक्रममा नेक्रायुसङ्घका केन्द्रीय सदस्य महेन्द्र बखुन्छेँले युद्धभूमि इजरायलमा नेपालीलाई काममा पठाउने नेपाल सरकारका प्रम, मन्त्री, सचिव र म्यानपावर कम्पनीका सञ्चालकहरू यसका दोषी हुन् भने।
विश्व जनमत युद्धविरामको पक्षमा छ भन्दै केन्द्रीय सदस्य बखुन्छेँले अमेरिकी सरकारले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा विशेषाधिकार लगाई युद्धविराम प्रस्तावलाई पटक पटक असफल पारेर इजरायली आक्रमणमा संलग्न भएको तर्क गरे।
नेक्राविसङ्घका सारिका खुलिमुलीले पनि बोलेको उक्त कार्यक्रममा आयोजकहरूले प्रकाशित गरेको युद्धविरोधी पर्चा वाचन विद्यार्थी समीक्षा राजथला (विद्यार्थी) र युवा अरूण तामाङले गरेको थियो ।
कार्यक्रममा विद्यार्थी तेरेसा विकले प्यालेस्टिनी जनताको पक्षमा लेखिएको अङ्ग्रेजी गीत प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *