नेमकिपा स्थापनाका आधार पुस्तकहरूबारे सङ्क्षिप्त चर्चा

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ११ माघ

नेमकिपा स्थापनाका आधार पुस्तकहरूबारे सङ्क्षिप्त चर्चा

माघ १० अर्थात् नेपाल मजदुर किसान पार्टीको स्थापना दिवस । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूविरुद्ध सङ्घर्षले नेपालको राजनीतिक डबलीमा नेमकिपाको जन्म गरायो । आज नेमकिपाले सङ्घर्षका गौरवपूर्ण ४९ वर्ष पार गर्दै छ । नेपालको राजनीतिक इतिहासको ४९ वर्षहरूमा नेमकिपा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ बनेर उभियो ।

नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधार या पृष्ठभूमिबारे धेरैले जिज्ञासा राखेको पाइन्छ । ती सवालको जवाफ श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले तयार पार्नुभएको राजनीतिक दस्तावेजहरूमा भेटिन्छ । ती दस्तावेजहरू पछि पुस्तक आकारमा प्रकाशित भए । नेमकिपाको ४९ वर्षको राजनीतिक इतिहासका वैचारिक आधार पुस्तक हुन् ती । ती तीन पुस्तक अध्यक्ष रोहितले कम्युनिस्ट पार्टीमा सैद्धान्तिक आधारका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

“नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन” पुस्तक नेपाल कम्युनिस्ट पार्टीलाई सैद्धान्तिक छलफलका निम्ति बुझाइएको राजनीतिक दस्ताबेज हो । यो पुस्तक आजभन्दा ४६ वर्ष अघि वि.सं २०३३ सालमा पहिलो पटक पुस्तकाकारमा प्रकाशित भयो । पुस्तक कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूमाथि सैद्धान्तिक सङ्घर्षको निचोड थियो । यस पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनमा व्यापक चर्चा पायो । राजनीतिक विश्लेषकहरू भन्छन् –“नेपालको कम्युनिस्ट आन्दोलनको विकासक्रम बुझ्न आवश्यक सामग्रीमध्ये एक हो यो पुस्तक ।” तत्कालीन समयमा कम्युनिस्ट आन्दोलन कुन दिशातर्फ लाने भन्ने अलमल थियो । कम्युनिस्ट पार्टीभित्र देखापरेका वामपन्थी र दक्षिणपन्थी अवसरवाद, संशोधनवादले कम्युनिस्ट आन्दोलन सङ्कटमा पर्ने देखिएपछि का.रोहितले “बाटो देखाउने बत्ती” को भूमिका निर्वाह गर्नुभयो । कम्युनिस्ट आन्दोलनका खोटा विचारहरू पन्छाएर आन्दोलनलाई गतिशील र व्यापक बनाउने व्यावहारिक प्रयासको राजनीतिक प्रमाण हो यो पुस्तक । त्यसकारण पार्टी स्थापना र सङ्घर्षका पृष्ठहरू पल्टाउँदा फेरि पनि यो पुस्तकको चर्चा जरुरी लाग्यो, सामयिक लाग्यो ।

त्यतिबेला कम्युनिस्ट पार्टीभित्र एकथरी कार्यकर्ताहरू कार्यक्रममुखी थिए । “पार्टी कार्यक्रम”, नयाँ कार्यक्रम भन्दै फलाको गर्थे । सर्वहारावर्गका महान् गुरु कार्लमाक्र्स आफैले लेख्नुभएको छ – “वास्तविक आन्दोलनको हरेक पाइलो दर्जनौँ कार्यक्रमभन्दा धेरै महत्वपूर्ण हुन्छ ।” एङ्गेल्सले पछि थप्नुभएको छ –“कुनै पार्टीको औपचारिक कार्यक्रम त्यस पार्टीले गर्ने कामभन्दा कम महत्र्वपूर्ण हुन्छ ।” कम्युुनिस्ट पार्टीभित्र जनताको आन्दोलन र सङ्घर्षभन्दा माथि केही कार्यक्रमहरू देखिन थालेपछि का.रोहित त्यसको विपक्षमा खडा हुनुभयो । पार्टीभित्रको गुट उपगुटबीच कार्यक्रमहरूको प्रतिस्पर्धाले जनताको निम्ति आमूल परिवर्तन या क्रान्ति पछाडि धकेलिनेमा नेता रोहित स्पष्ट हुनुहुन्थ्यो ।

तात्कालीन राजनीतिक वृत्तमा नेपाली जनताका शत्रु को हुन् ? र मित्र को हुन् ? भन्ने प्रश्न उठ्योे । कम्युनिस्ट पार्टीले कुन शत्रुविरुद्ध सङ्घर्षलाई केन्द्रित गर्ने भन्ने प्रश्न क्रान्तिको निम्ति अत्यन्त महत्र्वपूर्ण प्रश्न थियो । शत्रु र मित्र चिन्न नसकेपछि सङ्घर्ष विफल बन्छ, क्रान्ति सम्भव हुँदैन । वास्तविक शत्रुमित्र चिन्ने आधार वर्ग, व्यवस्था र उत्पादन सम्बन्ध हो भन्ने बुझ्न नेपाली राजनीतिमा पनि धेरै वर्ष लागेन । कम्युनिस्ट पार्टीभित्रै कसैले मुख्य दुश्मन ‘राजा’ हो भने, कसैले काङ्ग्रेसलाई मुख्य दुश्मन माने । काङ्ग्रेसलाई भारतीय उपनिवेशवाद र विस्तारवादको दलाल मानेर मुख्य दुश्मन घोषणा गरे । पुस्तकमा लेखिएको छ –“राजा महेन्द्र मुख्य दुस्मन भन्ने ठम्याइ राजनैतिकरूपले सही भएको भए राजा महेन्द्र मरेपछि सामन्तवाद खत्तम भइसक्नुपर्ने थियो । त्यसकारण, मुख्य दुश्मन राजा हो भन्नु भावुक र असैद्धान्तिक वाक्यांशमात्रै हो ।” त्यसरी नै काङ्ग्रेस मात्रलाई मुख्य दुश्मन मान्दा ८० प्रतिशत जनतालाई चुसिरहने सामन्त र जमिनदार छुट्छन्, बेलायती र अमेरिकी साम्राज्यवादका दलालहरू छुट्छन् । नेता बिजुक्छेँले भन्नुभएको थियो— कम्युनिस्ट आन्दोलनले भित्री र बाहिरी शत्रुलाई चिन्न सक्नुपर्छ । तात्कालीन समयमा राजा, काङ्ग्रेस, भारतीय विस्तारवाद र एकाधिकार पुँजी तीन वटा टाउको भएको घाँटी जोडिएको सर्प हो । त्यो सर्प नै जनताको शत्रु हो । भित्री रूपले सामन्तवादी समाजमा राजतन्त्र र सिंगो सामन्तवादी उत्पादन सम्बन्ध जनताको शत्रु थियो भने बाहिरबाट देशको राजनीति अस्थिर बनाउन उक्साइएको तत्र्वसँगै भारतीय विस्तारवाद र एकाधिकार पुँजी, अमेरिकी र बेलायती साम्राज्यवाद जनताका मुख्य शत्रु हुन् भन्ने स्पष्ट विचार राखिएको थियो ।

नेमकिपाले पार्टीलाई एउटा चिन्तनको चौतारीको रूपमा हुर्कायो । पुष्पलाल नेतृत्वको कम्युनिस्ट पार्टीभित्र विचारको स्खलन देखापरेपछि नेता बिजुक्छेँले कम्युनिस्ट विचारको पक्षमा अटल रहने अडान लिनु राजनीतिक इतिहासमा महत्वपूर्ण कदम या निर्णय साबित भयो । नेमकिपाले कम्युनिस्ट आन्दोलनको शत्रु मात्र पहिचान गरेन बरु एकचोटि एउटा शत्रुविरुद्ध मात्र जाइलाग्नुपर्छ भन्ने खोटो विचारको खण्डन गर्यो । विश्व राजनीतिको इतिहास केलाउँदै उहाँले एकपटकमा एउटा मात्र होइन जनताका शत्रुहरूसँगै एकै पटकमा सङ्घर्ष गर्न सकिने मार्ग बताउनुभयो । राजा, भारतीय विस्तारवादका दलाल र हस्तक्षेपकारी विदेशी शक्तिहरूसँग समानान्तर लड्न सकिने तथ्य बताउनुभयो । जसरी चीनमा सामन्तवादी व्यवस्थाविरुद्ध लड्दा लड्दै जापानी उपनिवेशविरुद्ध मुक्ति सङ्घर्ष चलेको थियो, जसरी भियतनाममा राष्ट्रिय शत्रुसँग लड्दालड्दै अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्षको ज्वारभाटा उठेको थियो त्यसरी नै नेपालको सन्दर्भमा सामन्तवादी व्यवस्थाविरुद्धको सङ्घर्षसँगै वैदेशिक हस्तक्षेपबाट मुक्तिको सङ्घर्ष सम्भव छ भन्ने मार्ग प्रस्ट पार्नुभएको थियो । यो विचार आज पनि सान्दर्भिक छ ।

कम्युनिस्टहरूले राष्ट्रिय मुद्दामात्र उठाउनुपर्छ भन्ने खोटो विचारविरुद्ध लड्दै अन्तर्राष्ट्रिय राजनीतिक इतिहास, सङ्घर्षबाट सिक्दै राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गर्नुपर्छ भन्ने ठम्याइ उहाँले राख्नुभयो । नेमकिपा अन्तर्राष्ट्रिय कुरा मात्र गर्छ भन्दै वैदेशिक हस्तक्षेपविरुद्ध चूँ पनि नबोल्नेहरू पनि छन् ।

कम्युनिस्टहरू पुँजीवादी चुनावलाई जनताको चेतनास्तर उकास्ने अवसर या विश्वविद्यालयको रूपमा उपयोग गर्छन् । तर, विडम्बना नेपालमा आफूलाई कम्युनिस्ट भन्नेहरू हिजो “चुनावमा भाग नलिने” खोटा विचार राख्थे भने आज चुनाव जसरी पनि जित्ने र सत्तामा पुग्ने, बहुमत प्राप्त भएन भने सत्ताको भागबन्डा गर्ने व्यवहार देखाउँछन् । आज कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी अवसरवादको भड्खालोमा पुगेको छ । संशोधनवाद कम्युनिस्ट आन्दोलनमा महारोग हो भन्ने का.रोहितको भनाइ आजको राजनीतिक परिदृश्यले पनि पुष्टि गर्छ । चुनाव या संसद्बाट समाजवाद आउँछ, सशस्त्र क्रान्ति आवश्यक छैन भन्ने विचार आज पनि उत्तिकै खोटो छ ।

नेता नारायणमान बिजुक्छेँले पुष्पलाल नेतृत्वको नेकपामा प्रस्तुत गर्नुभएको अर्को राजनीतिक दस्तावेज– “रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन” बाट नेपाली राजनीतिले सिक्न नसकेको, बाटो पहिल्याउन नजानेको अनुभव हुन्छ । सोभियत कम्युनिस्ट पार्टीको धोखेबाज नेतृत्व गुटले एक समाजवादी देशलाई विस्तारै कसरी एक सामाजिक साम्राज्यवादी देशमा पतन गरायो भन्ने इतिहासको शब्दचित्र पुस्तकमा छ । रुसमा कम्युनिस्ट आन्दोलनभित्रकै बर्नस्टिन, त्राट्स्की, ख्रुश्चेभ र ब्रेझ्नेभहरू संशोधनवादी विचार राख्थे । त्यही संशोधनवादी विचारका कारण पछि साम्राज्यवादी सामु घुँडा टेक्न प¥यो, देश १५/१६ टुक्रामा विभाजन भएको देख्न पर्‍यो । तिनले लेनिन र स्तालिन नेतृत्वको अक्टोबर समाजवादी क्रान्तिमाथि मात्र धोखा दिएनन् बरु सम्पूर्ण सर्वहारा जनता र सोभियत रुसबाट प्रेरणा लिइरहेका विश्वका समाजवादी आन्दोलनहरू माथि पनि घात गरे । रुसी कम्युनिस्ट पार्टी र तिनले सर्वहारा क्रान्तिको ठाउँमा “शान्तिपूर्ण सङ्क्रमण” को सिद्धान्त अगाडि सारे । सर्वहारा वर्गको हुकुमलाई अस्वीकार गरी “सारा जनताको पार्टी र सारा जनताको राज्य” को सिद्धान्तको वकालत गरे । माक्र्सवाद र लेनिनवादविरोधी उक्त सिद्धान्तले दबिएका र लुकेका पुँजीवादी तत्वहरूलाई रुसको भूमिमा उठ्न र फेरि सत्तामा आउने मौका दिए र सँगै रुसी मजदुर वर्ग र संसारका सबै कामदार वर्गलाई धोखा दिन २० वर्षभित्र साम्यवाद निर्माण गर्ने खोटो विचार अघि सारे ।

नेपालमा आपूmलाई कम्युनिस्ट भन्नेहरूले सोभियत रुसको इतिहासबाट नसिकेकै हुन् ? बर्नास्टिनदेखि बे्रझनेभसम्म बन्ने होडबाजीमा किन छन् ? प्रश्न उठ्छ ।
सशस्त्र क्रान्तिबाट सर्वहारावर्गले राज्यसत्तालाई कब्जा गर्नु र सर्वहारावर्गको हुकुम चलाएर पुँजीवादी वर्गलाई दबाएर समाजवादको निर्माण गर्नु नै माक्र्सवादको सार हो, पुस्तकले यही भन्छ । तर संशोधनवाद भन्छ– “पुँजीवादी व्यवस्थालाई ध्वस्त पार्नु पर्दैन बरु बढी विकास गर्नुपर्छ” । पेरिस कम्युनले सिकाएको छ —‘पुँजीवादी व्यवस्थाले ठिक्क पारेको राज्यसत्तामा पुगेर मात्र क्रान्ति हुँदैन त्यसलाई बदल्न जरुरी छ नत्र समाजवादी क्रान्तिपछि पनि पुँजीवादको पुनस्र्थापना हुन सक्छ ।’ नेपाली कम्युनिस्ट आन्दोलनले पेरिस कम्युनमार्फत मार्क्सले देखाएको बाटो पनि हिँड्न नमानेपछि नेता का.रोहित सत्य र कम्युनिस्ट सिद्धान्तको पक्षमा एक्लै हिँड्नुभयो । एक्लो पर्दा धेरैले एक्लो बृहस्पति झुटा भन्दै खिसितिउरी गर्न हतार पनि गरे तर राजनैतिक विकासक्रमका हरेक चरणमा राजनैतिक र कम्युनिस्ट आन्दोलनले नेमकिपा खोज्यो, नेता नारायणमान बिजुक्छेँको विचार र अभिभावकत्व खोज्यो । उहाँले ४९ वर्ष अघि भन्नुभएका र बोल्नुभएका विषयवस्तुहरू आज पनि उत्तिकै सामयिक छन् । कम्युनिस्ट आन्दोलन दूषित र कमजोर नबनोस् भनेर लिनुभएको अडानले नै आज पनि राजनीतिक डबलीमा मार्गदर्शन गरिरहेको छ । “चुनाव, जुलुुुस र यसै प्रकारको दबाबले पनि पुँजीवादी व्यवस्थामा सुधार गर्न सकिन्छ । बल प्रयोग, रगत बगाएर सत्ता हातमा लिने र हुकुमको कुनै आवश्यकता छैन” भन्ने विचार सोभियतकालीन रुसमा पनि खोटो थियो, यहाँ आजको सन्दर्भमा पनि खोटो छ ।

रुसी संशोधनवादका कारण छोटो समयमा निर्माण भएको सोभियत रुसको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले समृद्ध घर तासको घरझै ढल्न समय लागेन । जनमुखी, सेवामुखी व्यवस्थाबाट शोषणयुक्त बन्दोबस्तमा फेरिन समय लागेन । मुठ्ठिभर समुदाय रातारात लखपति, करोडपति बन्दा बहुसङ्ख्यक जनतालाई छाक टार्न मुस्किल समय पनि आयो । त्यतिमात्र होइन शासकहरूले अन्य देशहरूमा बजार स्थापनाको नाममा हस्तक्षेप बढाए । रुमानिया, पोल्याण्ड, बुल्गेरिया, चेकोस्लाभिया, मंगोलिया, हंगेरीजस्ता देशहरूलाई सस्तो कच्चा पदार्थ आयात गर्ने र अन्तर्राष्ट्रिय मूल्यभन्दा महँगोमा निर्यात गर्ने र आफ्नै मात्र मालसामानको प्रभुत्व कायम गर्ने अभद्र अभ्यासहरू गर्न थाले । पूर्वी युरोप, अफ्रिका, एसियाली मुलुकहरू र तेस्रो मुलुकहरूको अर्थतन्त्रलाई रुसको अर्थतन्त्र वरपर नचाउन थाले । अर्थतन्त्रमा ग्लास्नोस्ट र पेरेस्ट्रोइकाको नीति आफै संशोधनवादी नीति थियो भन्ने पछि प्रमाणित भयो ।

अन्तर्राष्ट्रिय सहायता, अन्धराष्ट्रवाद र भाइचारा सहकारिताको नाममा आर्थिक शोषण र थिचोमिचोमात्र बढाएन प्यालेस्टाइनमा राजनीतिक, सैनिक दबाबसमेत दिन थाल्यो । सन् १९६८ मा त चेकोस्लोभाकियामाथि नाङ्गो हस्तक्षेप नै गरे । सन् १९६९ मा चीनको चेन्पाउ टापुमाथि जबरजस्ती हमला गरे । जापानका कुरिल टापुहरू कब्जा गरे । १९७० मा भारतीय विस्तारवादलाई धाप दिएर पाकिस्तानमाथि आक्रमण गर्न दिए र पाकिस्तानलाई अङ्गभङ्ग गराउन मद्दत गरे । सन् १९७४ मा भारतलाई सिक्किममा आक्रमण गर्न र कब्जा गर्न सघाए । जारहरूले असमान सन्धि थोपरेर खाएको चीनको १५ लाख वर्ग किमि भूमिमाथि कब्जा गरे । यसरी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भइरहँदा पनि नेपालको कम्युनिस्ट आन्दोलन अन्धो बन्नु खोटपूर्ण थियो र त्यो नेता रोहितलाई मञ्जुर भएन । त्यसकारण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद, अवसरवाद जस्तो खोटा विचारबारे सङ्केत गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई बाटो देखाउनुभयो ।

अर्को पुस्तक “नेपाल–भारत सम्बन्ध र भारत” पार्टी स्थापनाको अर्को राजनीतिक दस्तावेज हो । जसले पार्टीको सङ्घर्षलाई अगाडि बढाउन सदैब ऊर्जा प्रदान गर्यो । नेपाल र भारत देशबीचको सम्बन्ध इतिहासभन्दा पुरानो हो । नेपाली जनताले भारतीय जनताप्रति कहिल्यै द्वेष राखेनन् । तर भारतीय विस्तारवाद र एकाधिकार पुँजीले थोपेको दमन र अत्याचारको इतिहास या वर्तमान नेपाली जनतालाई कहिल्यै मञ्जुर भएन । भारतमाथिको आर्थिक निर्भरता र राजनीतिक निर्भरता नेपाली जनता र नेपाली राजनीतिको निम्ति अभिशाप सिद्ध भयो । आज पनि भारतीय विस्तारवाद र एकाधिकार पुँजीलाई प्रमुख दुश्मन मान्न नेपालका शासक दल तयार छैनन् । २०७२ मै पनि नेपालको संविधान अस्विकार्य छ भन्दै भारतले नाकाबन्दी लगायो तर शासक दलहरूले चूँ पनि बोल्न सकेनन् । देशको सार्वभौमिकता दिन प्रतिदिन सङ्कटमा पुर्‍याइँदै छ । एकाधिकार पुँजीले सम्पूर्ण बजारमात्र होइन अर्थतन्त्र कब्जा गरिसकेको स्थिति छ । यो परिवेशमा का.रोहितको विचार अझ सान्दर्भिक लाग्छ ।

पुस्तकमा “तराई एक उपेक्षित क्षेत्र” शीर्षकमा भारतको साप्ताहिक पत्रिका ‘दिनमान’ ले छापेका पूर्वाग्रही लेख आपैंmमा दक्षिण सिमानामा भारतीय शासकवर्गको उपद्रोहको एउटा दृष्टान्त हो । साम्प्रदायिक र क्षेत्रीय सङ्कीर्णताले भरिएको उक्त लेखलाई नेता बिजुक्छेँले “के तराई एक उपेक्षित क्षेत्र हो ?” भन्दै खण्डन गर्नुभएको छ । वर्गीय समाजको वास्तविक स्थिति लुकाउन या देशमा भइरहेको वर्गसङ्घर्ष फुटाउन शासकहरू जातिय र साम्प्रदायिक मुद्दा उछाल्छन् । कुनै क्षेत्र या समुदात्र्न्दा पनि कामदारवर्ग उपेक्षित र अपहेलित हुन्छन् । राजनीतिमा क्षेत्रीय, जातिय मुद्दाले फासीवादको जन्म दिन्छ । कामदार जनताको भलो गर्न वर्गीय मुद्दा र सङ्घर्ष आवश्यक छ भन्ने विचार का.रोहितको हो ।

नेपाल भारत सम्बन्धमा देखापरेका गलत समझदारीहरू र सही समाधानका उपाय पुस्तकले दिन्छ । भारत बेलायती साम्राज्यवादबाट स्वतन्त्र भएको सात दशक नाघिसक्दा पनि दक्षिण एसियामा भारतको औपनिवेशिक र विस्तारवादी मानसिकता उही छ । पुस्तक लेख्छ –“सुगौली सन्धी र गोर्खा भर्ती नै नेपाली राष्ट्रको मुटुको किला हो । तर, बेलायती साम्राज्यवाद भारतबाट गइसक्दा पनि ‘स्वतन्त्र भारत’ का शासक वर्गले आफ्नो छिमेकी देशहरूमाथि बेलायती उपनिवेशवादी नीतिलाई नै लागु गर्दै गयो ।”

थुप्रै असमान सन्धि सम्झौता नेपाल र नेपाली जनताका निम्ति अभिशाप सिद्ध भएका छन् । भारतीय शासक वर्गको थिचोमिचो, उपनिवेशवादी मानसिकताविरुद्ध उठेका सङ्घर्षलाई जात विशेषको असन्तुष्टि ठान्नु सङ्कीर्णताको पराकाष्ठा नै हो । भारतका नेपालविद् श्रीमद नारायणको यस्तै सङ्कीर्ण विचारविरुद्ध पुस्तक लेख्छ – “नेपाली जनताको भारतीय एकाधिकार पुँजीविरोधी सङ्घर्ष जातिवादी होइन बरु उपनिवेशवाद विरोधी सङ्घर्षकै एक रूप हो जसको मूख्य कारण जाति विशेष होइन, आर्थिक र राजनीतिक हो ।” पुस्तक थप लेख्छ —“नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुमा चीनको भन्दा भारतीय कम्युनिस्ट पार्टीको बढी हात छ ।” नेपालमा माओवादीहरूको गतिविधिलाई चीनको उक्साहट देख्नु गलतमात्र होइन ढोङ्गी पनि हो । भारत दक्षिण एसियामा साँढे गोरु जस्तै बसेको छ । एसिया कब्जा गर्ने उसको नियत साम्राज्यवादी नीति हो । अन्य कमजोर देशमाथि दमन गर्ने र साम्राज्यवादतर्फ लम्किरहेको भारत नेपाली र दक्षिण एसियाली जनताको शत्रु हो भन्नेमा अब कुनै सन्देह छैन ।

नेमकिपाले निरन्तर राष्ट्रिय अर्थात् देशभित्रका प्रतिक्रियावादीहरूसँग लड्दै ४९ वसन्त पार गर्दै छ । पञ्चायती व्यवस्था, राजतन्त्र, पुँजीवादी व्यवस्थाविरुद्धको सङ्घर्षसँगै भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी, बेलायती, अमेरिकी साम्राज्यवाद विरोधी सङ्घर्षलाई पनि अघि बढायो । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको सटिक विश्लेषण र खण्डन गर्दै नेपाली जनताको पक्षमा उभिने नेमकिपाको ४९ औँ स्थापना दिवसको सबैमा शुभकामना । नेपालको राजनीतिमा निष्ठा, इमानदारी र कम्युनिस्ट सिद्धान्तको राजनीति हुर्काउने नेमकिपाको स्थापना दिवस नेपाली कामदार जनताको उत्सव हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *