३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ४ पुस

एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे ।

त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे ।

तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके ।

अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे ।

२-१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे ।

अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्‍याए ।

फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए ।

यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

८० मिनेटसम्म  अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० ‌औं मिनेटसम्म कुर्न पर्‍यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए ।

तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई  युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । उनले विश्वकप फाइनलमा ह्याट्रक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन पाएन ।

कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।

अर्जेन्टिना फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा २ सहित ७ गोल गरे र ३ असिस्ट गरे । योसँगै मेस्सीको विश्वकप युग समाप्त भएको छ । उनले अर्जेन्टिना फाइनलमा पुगेलगत्तै फाइनल खेल आफ्नो विश्वकपमा अन्तिम हुने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *