अप्रत्याशित डेंगु प्रकोपको कारण ‘काठमाडौंको तातो तापक्रम’

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २१ मंसिर

कीटजन्य रोगको प्रकोप बढ्ने विज्ञहरुको संकेत

असोज अन्तिम साता काडाघारी काठमाडौंका एक ४० वर्षीय पुरुषलाई एक्कासी ज्वरो आउन थाल्यो। १०४ डिग्रि सेल्सियसको ज्वरोले उनलाई थला पार्‍यो। ज्वरोसँगै शरीर दुख्ने, खाना मन नलाग्ने, कमजोरी हुने समस्या थियो उनलाई।

काठमाडौंवासी डेंगुले थला परिरहँदा उनले पनि डेंगु हो की भन्ने शंका गरे। रगत परीक्षण गर्दा डेंगु पुष्टि भयो। कमजोरीका कारण उनले स्लाइन समेत चढाए।

उनले भने, ‘ज्वरो एकदमै आयो। एक हप्तासम्म म सुते मात्रै। उठ्नै सकिन। राम्रोसँग सञ्चो हुन नै मलाई १५ दिनजति लाग्यो।’

उनलाई जस्तै शंखमूल काठमाडौंका २३ वर्षीय एक युवालाई पनि केही साताअघि डेंगु भयो। ज्वरो आउने, शरीर दुख्ने, कमजोरी महसुस हुने र खाना मन नलाग्ने उनलाई पनि देखियो। पाँच दिनसम्म कोठा बाहिर नै निस्कन सकेनन्। लगातार एक साताको आराम र औषधिपछि उनी निको भए।

उनीहरु जस्तै यस वर्ष काठमाडौंमा १३ हजार ९३३ जना (मंसिर ४ गतेसम्मको तथ्यांक अनुसार) डेंगुका कारण बिरामी भए। काठमाडौंमा वर्षेनी डेंगुका बिरामी भेटिनु नौलो कुरा होइन। तर डेंगुले प्रकोप रुप लिएको घटना भने यो पहिलो पटक हो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले यस वर्ष डेंगुलाई महामारीको रुपमा परिभाषित समेत गरेको थियो।

विज्ञहरुले डेंगु बढ्नुको मुख्य कारण काठमाडौंको बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर रहेको बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान विभागीय प्रमुख डा मेघनाथ धिमाल अनुसार बढ्दो जनघनत्व, अव्यवस्थित शहरीकरणसँगै वृद्धि भइरहेको तापक्रमले लामखुट्टेलाई फैलन र हुर्कन अनुकूल वातावरण बनाइदिएको छ। उपत्यकामा बढ्दो तापक्रमले जलवायु परिवर्तनमा पनि भूमिका खेलेको उनले बताए।

उनले भने, हामी महसुस गर्न सक्छौँ की काठमाडौंको तापक्रम बढ्दै गएको छ। अहिले पहिलेको तुलनामा तापक्रम फरक छ। र, अन्य अव्यवस्थाका कारण पनि डेंगु प्रकोपको कारण बनिरहेको छ।

डा धिमालका अनुसार काठमाडौंमा डेंगु बढ्नुको कारणहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्न सकिन्छ:

एक, ‘काठमाडौंको बढ्दो जनघनत्व र अव्यवस्थित शहरीकरण’

दोस्रो, ‘बढ्दो तापक्रम’

तेस्रो, ‘घर–घरमा पानी जम्मा गर्नुपर्ने बाध्यता’

चौथोँ, ‘वर्षा लामोसम्म भएको, प्रि मनसुन अगाडी भएको’

पाँचौ, ‘जलवायु परिवर्तन’

र, छैठौँ, ‘बाटोको खाल्डा खुल्डी, टायर, कौँसीमा पानी जम्मा हुनु।’

उनी स्पष्ट पार्छन्, जब तापक्रम लामखुट्टेको लागि उपयुक्त हुन्छ। तब उनीहरुलाई बाँच्नको लागि अन्य आधार चाहिन्छ। यो लामखुट्टेलाई अत्यधिक बस्न मन पर्ने ठाउँ भनेको फालिएका टायरहरु हुन्। काठमाडौंमा जनघनत्व, सवारी साधन, टायर बदल्ने, पार्टपुर्जा मिलाउने वर्कशपको संख्या बढ्दै गएकाले काठमाडौं डेंगु संक्रमणको उच्च जोखिममा छ।

डा धिमालले डेंगुको प्रकोप र तापक्रम, हावाको गति, हावाको चाप र वनस्पति सूचकाङ्क जस्ता मौसमी कारकहरूबीच सकारात्मक सम्बन्ध देखाउने अनुसन्धानको पनि उल्लेख गरे। बढ्दो तापक्रम, बदलिँदो वर्षाको ढाँचा र मौसमी परिवर्तनले काठमाडौं जस्ता शहरमा डेंगु रोगको जोखिम बढाएको छ।

डेंगुको प्रकोप फैलिनुमा जलवायु परिवर्तन पनि प्रमुख कारण भएको बताउँदै उनी थप्छन्, ‘तापमान बढ्दै जाँदा लामखुट्टेको जीवनचक्र पुरा गर्न सहज हुन्छ र संक्रमणको दर पनि बढ्छ’, उनले दोहोर्‍याए।

वर्षेनी बढ्दै डेंगुको समस्या
प्रत्येक वर्ष देखिने डेंगुको तथ्यांकलाई नियाल्दा पनि संक्रमितको संख्यामा अप्रत्याशित उतारचढाव आएको देखिन्छ। आजभन्दा १९ वर्ष अघि सन् २००४ मा नेपालमा पहिलो पटक डेंगु पुष्टि भएको थियो। त्यो वर्ष डेंगुको एक जना बिरामी मात्र फेला परेको थियो। त्यसयता नेपालमा वर्षेनी डेंगुका बिरामी भेटिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ।

गत १९ वर्षमा नेपालमा कुल ७८ हजार ५२४ जना व्यक्ति बिरामी भए। सन् २०१८ सम्म २ हजार तल वा आसपास रहेको डेंगु संक्रमितको संख्या २०१९ मा ह्वात्तै बढेर १७ हजार ९९२ पुगेको थियो। यो वर्ष डेंगु सात वटै प्रदेश र ७७ जिल्लामा फैलियो। र, सबैभन्दा बढी काठमाडौं प्रभावित बने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८९ साउनदेखि नोभेम्बर २० सम्म ५२ हजार ५५७ जनामा डेंगु संक्रमण पुष्टि भए र ६० जनाको मृत्यु भयो।

कुनै निश्चित समय र भूगोलमा पाइने लामखुट्टेमध्ये डेंगु सार्ने एडिस एजिप्टाई पनि एक हो। डेंगु एडिस एजिप्टाई र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। तराई तथा गर्मी ठाउँमा पाइने यो लामखुट्टे अहिले पहाडी हुँदै हिमाली जिल्लामा फैलिएको छ।

नेपालमा डेंगु पुष्टि भएको दुई वर्षपछि सन् २००६ मा पहिलो पटक काठमाडौंमा तीन जनामा डेंगु देखिएको महाशाखाको तथ्यांकले देखाउँछ। सन् २००८ मा ४, २०११ मा १, २०१४ मा ७, २०१५ मा १ हुँदै वर्षेनी डेंगुका बिरामी भेटिदै गए। काठमाडौंमा डेंगुका बिरामी वर्षेनी भेटिन थालेपछि यस वर्षजस्तो प्रकोपको रुप भने लिएको थिएन।

महाशाखाको नोभेम्बर ४ सम्मको तथ्यांक अनुसार कुल संक्रमित ५२ हजार ५५७ मध्ये काठमाडौंका सबैभन्दा धेरै १३ हजार ९३३ संक्रमित भए। ललितपुरमा ९ हजार ५५५, मकवानपुरमा ५ हजार ६६२ जनामा डेंगु देखिएको छ। मे तारिख बाट देखिने थोलेको डेंगु सेप्टेम्बरमा उच्च विन्दुमा पुगेको थियो। जनवरीबाट देखिन थालेको डेंगु सेप्टेम्बर र अक्टोबरमा उच्च विन्दुमा पुगेको थियो। जनवरीमा देशभर कुल संक्रमितको संख्या ११ थियो भने सेप्टेम्बरमा २७ हजार ५२९ र अक्टोबरमा १७ हजार ८८९ जना संक्रमित थिए। जसमा पनि काठमाडौंमा मात्र सेप्टेम्बर र अक्टोबरमा क्रमश ९ हजार ८९१ र अक्टोबरमा २ हजार ९११ जनामा डेंगु देखिएको महाशाखाको तथ्यांक छ।

पानी थापेर राख्नु काठमाडौंवासीको ठूलो बाध्यता हो। यही बाध्यताले पनि लामखुट्टेलाई हुर्कन सहज बनाइदिएको महाशाखाका निर्देशक डा चुमनलाल दास बताउँछन्। यो सँगै बढ्दो शहरीकरण, घर वरिपरिको खाल्डाखुल्डीमा पानी जम्नु, अव्यवस्थित तथा टायरका कारण पनि काठमाडौंमा डेंगु बढेको उनले बताए।

उनले भने, ‘काठमाडौं इपिडेमिक जोन हो। घना वस्ती छ। वृद्धि विकासका काम धेरै भए, घर वरिपरि खाल्डा खुल्डीमा पानी जम्दा, घरहरुमा लामो समय पानी जम्मा गरेर राख्दा, कौँसी, गमलामा पानी जम्मा हुँदा, अव्यवस्थित ढल, टायरहरुमा पानी जम्दा पनि काठमाडौंमा डेंगु बढी देखियो। लामखुट्टेको वृद्धि विकासका लागि सुहाउँदो वातावरण भयो।’

डेंगुले महामारीको रुप लिने अग्रपंक्तिमा रहेका चिकित्सकको चिन्ता
काठमाडौंमा डेंगु ह्वात्तै बढ्दा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिरामीले भरिभराउ भएको थियो। शय्या बिरामीले भरिएपछि बिरामीहरुलाई पेटीमा राखेर भएपनि अस्पतालले उपचार गरेको थियो। डेंगुको बिरामी थाम्नै नसक्ने भएपनि शुक्रराज अस्पतालले छुट्टै डेंगु क्लिनिक समेत चलाएका थिए।

शुक्रराज अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन एक्लैले दिनमा डेढ सयसम्म बिरामी हेरेको अनुभव छ।

अधिकांश बिरामीसँग सोधपुछ गर्दा उनीहरु काठमाडौंमै डेंगु संक्रमित हुन पुगेको बताउँदै उनले भने, ‘मैले बिरामी हेर्दा उनीहरुको ट्राभल हिस्ट्री हेर्ने गर्छु। सबैजसो बिरामीको ट्राभल हिस्ट्री थिएन। काठमाडौंकै थिए।’

डेंगुले आगामी दिनमा पनि पुनः महामारीको रुप लिन सक्ने डा पुनले संकेत गरे। प्रत्येक सेप्टेम्बर अक्टोबरमा एक वा दुई पकेट क्षेत्रमा डेंगुको प्रकोप देखिनु नेपालमा कुनै नयाँ घटना होइन। तर यसपटक मनसुनको मध्यदेखि नै प्रकोप सुरु भएको हो। उनले भने।

शुक्रराज अस्पतालमा आफ्नो २० वर्ष बिरामीको उपचारमा खर्चिएका डा पुन काठमाडौंमा डेंगुले प्रकोपको रुप सामान्य नभएको बताउँछन्।

डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेको प्रकृति परिवर्तन समेत भएको उनले अनुभव गरेका छन्। पहिले राति मात्र सताउने यो लामखुट्टले अहिले दिउँसो पनि टोक्ने गरेको उनले बताए।

‘जब समुदायमा लामखुट्टे एक पटक वयस्क भएर टोक्न सुरु गर्छ। त्यसपछिको अवस्था भनेको रोक्नै गाह्रो हुने अवस्था हो,’ उनले भने, ‘डेंगु फैलिन नदिन सुरुकै अवस्थामा पानी पर्दा जम्मा हुन नदिने, लार्भा बन्न दिनु हुँदैन। खोज र नष्ट गर अभियान त सुरुमै सञ्चालन गर्नुपर्छ।’

काठमाडौंमा डेंगु उच्च विन्दुमा पुगेको बेला शुक्रराज अस्पतालमा मात्रै दैनिक साढे चार सयसम्म बिरामी पुग्ने गर्दथे। डेंगु सुरु भएदेखि शुक्रराज अस्पतालमा मात्र गएको चार महिनामा ५४९ जना बिरामी भर्ना भए। साउनमा ३५, भदौँमा १९४, असोजमा २२७ र कार्तिकमा ९३ जना डेंगुका बिरामी भर्ना भएको अस्पतालका सूचना अधिकार नवराज गौतमले जानकारी दिए।

डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चालिएन
डा धिमालका अनुसार कम्तीमा १० डिग्री माथिको तापक्रममा यो लामखुट्टेले डेंगु फैलाउन सक्छ भने ३५ डिग्रीभन्दा बढी तापक्रममा भने बाँच्न सक्दैन। यसको अण्डाहरु माइनस डिग्रीमा पनि बाँच्न सक्ने उनले बताए। पछिल्लो प्रवृत्तिका अनुसार हरेक दुई/दुई वर्षमा डेंगुको प्रकोप हुने संभावना रहेको उनको अनुमान छ।

काठमाडौं उपत्यकामा लामखुट्टेलाई सुहाउँदो तापक्रम १० देखि २० डिग्रीको बीचमा रहेको उनले बताए। यद्यपि जाडोमा तापक्रम कम हुँदै गएपछि भने डेंगु कम हुँदै जाने उनी बताउँछन्। तराईमा धेरै गर्मी भएकाले पनि लामखुट्टे कम देखिएको उनले बताए। फोहोरमैलाको उचित व्यवस्थापनको अभाव पनि डेंगु फैलिनुको अर्को कारण भएको उनको भनाई छ।

उनी भन्छन्, ‘पहिले त हामीले सिजनल भन्थ्यौ। तराईमा पनि केही समयमा मात्र हुन्छ भन्यौ। अहिले जाडोमा पनि केही केसहरु आइरहेका छन्। किनभने तापक्रमको वृद्धि अत्याधिक बढीरहेको छ। मिनिमम ताक्रम ९÷१० डिग्री घरभित्र भइहाल्छ। त्यसैले पनि डेंगुको संक्रमणलाई ब्रेक गर्न गाह्रो भएको हो।’

डा धिमाल डेंगु, चिकनगुनिया जस्तो भेक्टर बर्न डिजिज बढ्नुमा उचाई, तापक्रम, वर्षा, जलवायु परिवर्तन, सापेक्षिक आद्रताको भूमिका महत्वपूर्ण हुने बताउँछन्। नेपालमा मात्र नभई पर्वतीय राष्ट्रहरुमा पनि जलवायु परिवर्तनका कारण डेंगु सहित भेक्टरवन डिजिज फैलिरहेको उनले बताए।

भाइरोलोजिस्ट र जनस्वास्थ्य विज्ञहरुका अनुसार आगामी वर्षहरुमा डेंगुजस्ता कीटजन्य रोगहरु फैलिने निश्चित संभावना छ। एकातिर जलवायु परिवर्तनको समस्या बढ्दै गएको छ भने अर्कोतिर सरकारले डेंगुका संक्रमण न्यूनीकरणका लागि ठोस कदम चाल्न सकेको छैन।

त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका उप प्राध्यापक डा रेष्मा तुलाधार यस वर्ष मात्र नभई डेंगु लगायत कीटजन्य रोग आगामी वर्षमा पनि प्रकोपको रुप लिन सक्ने संभावना रहेको बताउँछिन्।

बढ्दो जलवायु परिवर्तनको समस्या समाधान, कीटजन्य रोगको नियन्त्रणका लागि सरकारले पर्याप्त कदम नचालेको उनले बताइन्। उनका अनुसार पानी जम्मा हुन नदिनु, घर वरपर सफा राख्नु र अव्यवस्थित टायर र फोहोरको व्यवस्थापन गर्नु नै डेंगु नियन्त्रणको उपाय हुन्।

डेंगु सार्ने लामखुट्टेको वृद्धि विकासका लागि २२ देखि ३३ डिग्री तापक्रमको आवश्यक भएको बताउँदै उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण काठमाडौंमा तापक्रम बढ्दै गयो। लामखुट्टेको जीवनचक्र जति छिटो भयो लामखुट्टे त्यति धेरै बढ्छ। उपयुक्त तापक्रममा त्यो चक्र छिटो हुन्छ। लामखुट्टेमा रहेको डेंगु सार्ने भाइरसको संख्या पनि बढ्छ।’

डेंगुको प्रकोप बढ्दै गएको र ३ अर्ब ९ करोड मानिस डेंगुको जोखिममा रहेको जसमध्ये ७० प्रतिशत एसियाको विश्व स्वास्थ्य संगठन डब्लुुएचओ ले जनाएको छ। विश्वमा वर्षेनी १० करोडदेखि ४० करोड मानिस डेंगु संक्रमित हुने गरेको डब्लुएचओको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *