बालबालिकालाई चाडपर्वमा कसरी खुसी बनाउने ?

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ कातिकsharethis sharing button

मोरङ घर भएका एक दम्पती भक्तपुर बस्छन्। उनीहरुको पाँच कक्षामा पढ्ने छोरा छ। यतिबेला दसैं–तिहार जस्ता चाडपर्व नजिकिएका छन्। चाडपर्वमा बच्चाको बिदा हुन्छ तर उनीहरू भने बच्चालाई कसरी खुसी राख्ने भन्ने चिन्तामा छन्।

उनीहरु जस्तै अन्य धेरै अभिभावक चाडपर्वमा कसरी आफ्नो बालबच्चालाई खुसी राख्ने भन्ने चिन्तामा हुन्छन्।

अझै एकल परिवारमा हुर्किएका बालबालिकालाई चाडपर्वमा खुसी राख्न र रमाइलो महसुस गराउन अभिभावकको महत्वपूर्ण भूमिका हुने मनोविद् खेमराज भट्ट बताउँछन्।

आफ्नो उमेर मिल्दो साथी नहुनु, गृहकार्य धेरै हुनु, अभिभावक व्यस्त हुनु, खेल्ने ठाउँ नहुनु र परिवारमा झगडा हुनु जस्ता कुराले चाडपर्वमा बालबालिकालाई समस्या हुने उनले बताए।

छुट्टी एकदमै जरुरी छ। तर आजकल अभिभावक आफैँ व्यस्त हुने हुनाले छुट्टीमा बालबालिकालाई घरमा कसरी राख्ने भन्ने तनाव हुन्छ।

स्कुलमा साथीभाइ, खेलकुद र अन्य क्रियाकलाप गरेर रमाइलो गरिरहेको बच्चालाई बिदामा घरमा एक्लै बस्न पट्यारलाग्दो हुन्छ,’ उनले भने, ‘बिदाको सदुपयोग कसरी गर्ने र के–के क्रियाकलाप गर्ने भनेर अभिभावकले योजना बनाउनु पर्छ। नयाँ ठाउँ घुम्ने, नयाँ चिज पकाएर खाने, बालबालिकालाई सुन्ने जस्ता कुरामा अभिभावकको निकै ठूलो भूमिका हुन्छ। त्यसो गर्नाले उनीहरु निराश हुन पाउँदैनन्।’

यस्तो समयमा आफूले गर्ने सबै कामहरुमा बालबालिकालाई सरिक गराउनु पर्ने बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर बताउँछन्। ‘अभिभावकहरू व्यस्त हुने हुनाले बालबालिकाहरुले एक्लो महसुस गर्न सक्छन्, सोही कारण बालबालिकालाई गर्न सक्ने काम लगाउने, सबै काममा सामेल गराउने गर्नुपर्छ,’ उनले भने।

सामान्यतया बालबालिकाहरू रमाइलो गर्ने, भेटघाट र जमघट गर्न रुचाउने हुन्छन्। तर पनि केही बच्चाहरू भने जमघट मन नपर्ने, असहज मान्ने हुन्छन्। त्यस्ता बालबालिकालाई चाडपर्वमा सोसल एन्जाइटी हुने सक्ने भट्ट बताउँछन्। उनी भन्छन्, ‘सामान्यतया बच्चाहरु रमाइलो गर्ने, भेटघाट गर्न रुचाउने खालका नै हुन्छन्। तर पनि केही बच्चालाई पारिवारिक जमघट मन नपर्ने, रमाउन नसक्ने, असहज मान्ने, सोसल एन्जाइटी हुने हुन्छ। त्यस्तो अवस्थामा अभिभावकले आफ्नो बच्चासँग राम्रोसँग कुरा गरेर के चिजको डर छ सोध्नु पर्छ।’

अभिभावकले भेटघाट र जमघटमा करकाप गर्दा बालबालिकाको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने उनले बताए।

गृहकार्यको प्रेसर भए तापनि अभिभावक र बालबालिकाको कुराकानी राम्रो हुने, एकअर्कालाई समय दिने गरेमा बालबालिकालाई उक्त प्रेसरको महसुस नहुने भट्ट बताउँछन्।

दसैंमा बलि दिने परम्परा छ। बलि दिने क्रममा बालबालिका डराउने, आत्तिन सक्ने डा कुँवर बताउँछन्। त्यसैले यस्ता गतिविधि गर्दा पहिल्यै नै बालबालिकालाई त्यसको बारेमा जानकारी दिनुपर्ने उनले बताए।

साथै, बालबालिकाकालाई यस्ता चाडपर्वको महत्वको बारेमा समेत जानकारी गराउनु पर्ने उनी बताउँछन्। ‘बालबालिकाहरू जिज्ञासु स्वाभावका हुन्छन्। परम्परा र चाडपर्वको बारेमा जानकारी दिनाले उनीहरुको पनि ज्ञान बढ्न सक्छ,’ उनले भने।

विद्यालयको भूमिका
बालबालिकालाई बिदा मन पर्ने तर गृहकार्य मन नपर्ने हुन्छ। विद्यालयले पनि विद्यार्थीको अवस्था हेरेर गृहकार्य दिनुपर्ने भट्ट बताउँछन्। ‘विद्यालयले कुन उमेरको बच्चाले कतिसम्म गर्न सक्छ भन्ने कुरामा विचार गर्नुपर्ने हुन्छ। कतिपय बच्चाहरू आफ्नो जन्मघर भन्दा टाढा बसेर पढिरहेका हुन्छन्। चाडपर्वको समयमा यातायातमा पनि भीडभाड हुन्छ। घर जानुपर्ने बच्चाले सबै किताब लिएर जान पनि असहज हुन्छ। त्यसैले बरु विद्यालयले प्रोजेक्ट वर्कहरुमा जोड पो दिने कि ?,’ उनले भने।

बालबालिकालाई खुसी बनाउन के गर्ने ?
आफ्नो बच्चाले स्कुलमा कुन चिज या कुन खेलमा रमाइलो मानिरहेको छ त्यसलाई विचार गरेर घरमा पनि त्यही वातारण सिर्जना गर्न सहयोग गर्नुपर्ने भट्ट बताउँछन्। चित्र बनाउन, गीत गाउन या बालबालिकाको आफ्नो रुचि अनुसार सिर्जनात्मक कामहरुमा उनीहरुलाई सहयोग गर्ने, साथ दिनुपर्ने उनको भनाइ छ। साथीहरूसँग उनीहरुको मनपर्ने खेल खेल्न दिने, धेरै कडा नियममा नराख्ने, गाली नगर्ने र रमाइलो गर्न दिने गरेमा बालबालिकाहरू खुसी हुने डा. कुवँर बताउछन्।

समय दिने, सुन्ने
सामान्यतया बालबालिकालाई दैनिक कम्तीमा २÷३ घण्टा समय दिनुपर्ने डा कुँवर बताउँछन्। अझै चाडपर्वमा अभिभावकहरू व्यस्त हुने हुनाले उनीहरुलाई एक्लो महसुस हुन नदिन कुरा गरिरहने, उनीहरुलाई सुन्ने, आफ्नो बच्चा कहाँ के गरिरहेको छ विचार गर्ने गर्नुपर्ने मनोविद् भट्टको भनाइ छ। यस्ता चाडपर्वमा दैनिक रुपमा घरमा आफन्तहरु आइरहन्छन्, भीडभाडमा बालबालिकालाई आफूलाई वास्ता नगरेको जस्तो महसुस गर्न दिनु हुँदैन। साथै, भीडभाडमा बालबालिकालाई हिंसा समेत हुन सक्छ। त्यसैले यी सबै कुरामा अभिभावकहरू सर्तक हुन जरुरी छ,’ उनले भने।

घरको काम सिकाउने
बिदाको समय बाहेक अन्य समयमा बालबालिकाले घरको काम सिक्ने समय पाइरहेका हुँदैनन्। त्यसैले बिदाको समय सदुपयोग गर्न बालबालिकालाई घरको काम सिकाउन सकिने डा कुँवर बताउँछन्। ‘उनीहरुलाई करेसाबारीको काम सिकाउने, आफूले गर्ने कामहरुमा सारिक गराउने, बोट–बिरुवाको नामहरू चिनाउने जस्ता क्रियाकलापले थप ज्ञान प्राप्त गर्न सहयोग मिल्छ,’ उनले भने।

उमेर अनुसार खेलौना, कपडा किनिदिने
चाडपर्वमा बच्चाहरुलाई नयाँ कपडा लगाउने, खेलौना किन्ने रहर हुन्छ। उनीहरुको उमेर अनुसार कपडा किन्दिने, खेलौना किन्दिनु पर्ने भट्ट बताउँछन्। जसले गर्दा बच्चाहरू खुसी हुने उनको भनाइ छ।

व्यायाम र कसरत गर्न लगाउने
घरमा बस्दा बालबालिकाहरू खासै शारीरिक रुपमा सक्रिय भइरहेका हुँदैनन्। यस्ता चाडपर्वमा घरमा विभिन्न किसिमका परिकार पाक्ने हुनाले बालबालिकाले चिल्लो, माछ–मासु खाइरहेका हुन्छन्। जसले उनीहरुको तौल वृद्धि हुन सक्छ र रोगहरू निम्तिन सक्छ। सोही कारण अवस्था अनुसार बालबालिकालाई व्यायाम गराउने, पौडी खेल्न लैजाने, शारीरिक व्ययाम हुने खेलहरू खेल्न लगाउने गर्दा बालबालिकाको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य दुवैलाई फाइदा हुने डा कुँवरले बताए।

नयाँ ठाउँ घुम्न लैजाने
सधैँ विद्यालय र घर मात्रै गरिरहेका बच्चाहरुलाई बिदाको समयमा नयाँ ठाउँमा घुम्न जाने रहर हुन्छ। घुम्न जाँदा बालबालिकाको ज्ञानको दयारा बढ्छ। साथै उनीहरुलाई फ्रेस र आनन्द महसुस हुन्छ। नयाँ ठाउँमा घुम्नाले बालबालिकालाई सामाजिक हुन र नयाँ मान्छेसँग घुलमिल हुन समेत सहज हुने भट्टको भनाइ छ।

विद्युतीय उपकरणको प्रयोग कम गर्ने
बिदामा अभिभावक व्यस्त हुँदा बालबालिकाहरू मोबाइल, टिभी या आइप्याडको लतमा लाग्न सक्ने हुन्छन्। घरमा एक्लै बस्दा मोबाइलमा कार्टुन हेर्ने, फिल्म हेर्ने लत लाग्न सक्छ। जसले उनीहरुको समग्र स्वास्थ्यलाई असर गर्ने डा कुँवरले बताए। त्यसैले यस्तो अवस्थामा विद्युतीय उपकरणको प्रयोग गर्नुको सट्टा बालबालिकासँग अभिभावक आफैंले खेल्ने, रमाउने गर्नुपर्ने उनको भनाइ छ।

मनोरन्जनात्मक कामहरू गर्ने
यस्तो लामो बिदामा बालबालिकालाई रमाइला किताबहरू पढ्न दिने, प्रेरणायुक्त चलचित्रहरू देखाउने, कथाहरु सुन्न लगाउने र सुनाउने गर्नुपर्ने मनोविद् भट्टले बताए।

मन पर्ने खानेकुरा पकाउन सिकाउने
चाडपर्व भन्ने बित्तिकै घरमा विभिन्न किसिमका खानेकुरा पाक्छन्। तर यस्तो समयमा बालबालिकालाई मन पर्ने चिजहरू पकाउने, उनीहरुको रुचि अनुसार खुवाउने गर्नाले बच्चाहरू खुसी हुन्छन्। साथै आफूले पकाउने समयमा उनीहरुलाई परिकारको नाम भन्ने, पकाउने तरिका सिकाउने गर्दा उनीहरु खुसी हुने पोषणविद् जया प्रधानले बताइन्।

केही कुरामा करकाप नगर्ने
कतिपय अभिभावक आफ्ना बच्चालाई आफन्तकहाँ जान, जमघटमा उपस्थित हुन र अन्य क्रियाकलापमा सक्रिय हुन कर गर्छन्। त्यस्ता बानीले बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्ने भट्ट बताउँछन्।

बच्चालाई आफूले रमाइलो लाग्ने चिज गर्न दिने र धेरै गाली गर्ने, तनाब दिने, पारिवारिक झै–झगडा गर्ने, उनीहरुको अगाडि मद्यपान या धूमपान गर्ने, हिंसा गर्ने, उनीहरुलाई हेप्ने नगर्न उनको अनुरोध छ।

बालबालिकालाई सहज हुने वातावारण बनाएर सबै मिलेर चाडपर्व मनाउनु पर्ने डा कुँवरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *