काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसल अनुगमन: सरसफाई छैन, भान्सामा अखाद्य वस्तुसमेत भेटियो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं,  २ कातिक

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ। मंगलबार काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका  क्रममा ती ठाउँमा अखाद्य वस्तुसमेत भेटिएको हो।

स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्सा, वडा नम्बर ३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा अनुगमन गरेको थियो। जसमा अखाद्य वस्तुहरू भेटिएको महानगरले जनाएको छ।

अनुगमनका क्रममा सबैको भान्सामा सरसफाई र स्वच्छताको कमी देखिएको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए।

‘अनुगमन गरिएका सबैको भान्सा सरसफाई र स्वच्छताका दृष्टिले कमजोर भेटिए। परिकार बनाउने कच्चा पदार्थहरू चामल, दाल र मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरूलाई खास चासो देखिएन,’ उनले भने, ‘भान्सामा काम गर्नेहरूको व्यक्तिगत सफाई पनि कमजोर छ। उनीहरूले एप्रोनको सही प्रयोग गरेका छैनन्। फ्रिजमा राखिने बस्तुको व्यवस्थापनसमेत कमजोर छ। खाद्य अनुज्ञापत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका बस्तुहरूको प्रयोग देखिन्छ।’

यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको महानगरले जनाएको छ।

एउटा बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासुसमेत भेटिएको निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झाले जानकारी दिए।

‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो। व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ,’ उनले भने, ‘थकाली भान्सा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिहरूको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ।’

पर्वलक्षित अनुगमनका क्रममा महानगरले मंगलदेखि बजार हेर्न थालेको हो। उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त सकुन् भन्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको महानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *