भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन

खेलकूद शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १६ असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको तीन दिने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको बिहीबार लिबाली कभर्ड हलमा खेलकुद सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।


कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताउँदै खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने बताए ।


भक्तपुर नपाले खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गर्दै आइरहेको बताउँदै नगरपालिकाले वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय पार्ने बताए ।
नगरकोटको खानेपानीको मुहानसँगै निर्माणाधीन खेलमैदानतर्फ प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदै लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउँदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताए ।
भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने बताए ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र भनपा वडा नं. ३ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि बोलेको थियो ।
भक्तपुर नपाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता असार १६, १७ र १८ गतेसम्म हुने र उक्त प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजनक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *