दुई दिने कौसी खेती तालिम असार १३ गतेदेखि सुरु

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १३ असार


भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम असार १३ गतेदेखि सुरु भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सकिए धेरै फाइदा हुने बताउँदै नपाले आयोजना गरेको कौसी खेती तालिमबाट नगरपालिकाको फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका खेलेको बताए ।
काठमाडौं उपत्यकामा फोहर व्यवस्थापन चुनौतीको रुपमा खडा रहेको उल्लेख गर्दै उनले घर, विद्यालय र सिंगो समाजकै फोहर व्यवस्थापन र सरसफाइमा कौसी खेती तालिम उपयोगी भएको बताए ।

फोहोर व्यवस्थापनको सवालमा विकसित देशहरुले आफ्ना मित्र राष्ट्रहरुसँग फोहोर किनेर मोहोरमा रुपान्तरण गरिरहेको उदाहरण दिँदै प्रमुख प्रजापतिले सरकारले जनताको जनजीवनसँग मतलब नगर्दा आज देश हरेक क्षेत्रमा परनिर्भर हुँदै गइरहेको बताए । जनताको समस्याप्रति सरकार गम्भीर नभएको र सरकारको औचित्यतामाथि पनि प्रश्न उठ्ने कामहरु भइरहेकोतर्फ सजग पार्दै कृषिप्रधान देश अब नाममै मात्र सीमित रहेको बताए ।
उनले सरकारको एउटा गलत निर्णयले देश नै टाटपल्टन सक्ने बताउँदै देशघाती एमसीसी र एसपीपी सम्झौताले नेपालको सार्वभौमिकता र स्वाधिनतामाथि नै आँच पुर्‍याइरहेको हुँदा जनता सचेत बन्नुपर्ने बताए । कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपालाई आत्मनिर्भर र सुन्दर बनाउन कौसी खेती तालिम सञ्चालनमा जोड दिँदै आएको बताउँदै नपाले पाक्षिक सरसफाईलाई समेत निरन्तरता दिएको अवगत गराए ।

तालिमका प्रशिक्षक सबिन ख्याजूले विषादीयुक्त तरकारी र फलफूलका कारण धेरै नागरिकहरु क्यान्सरजस्ता खतरनाक रोगबाट मृत्युवरण गरिरहेको यथार्थबारे अवगत गर्दै किसानहरुले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोलेको थियो भने प्रमुख अतिथि प्रजापतिले तालिमका प्रशिक्षकलाई कृषि सामाग्री हस्तान्तरण गरी तालिमको सुरुवात गरे । तालिममा वडाका ११ वटा विद्यालयहरुबाट २/२ जना शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *