स्थानियद्वारा घर नम्बर टाँस्दा चर्को शुल्क लिएको भन्दै विरोध

समाचार

दोलखा २२ बैशाख


दोलखाको उत्तरी भेगमा रहेको गौरिशंकर गाउँपालिकाले घर नम्बर कायम गरी नम्बर प्लेट टाँसे बापत चर्को शुल्क लिएको भन्दै स्थानियले विरोध गरेका छन् । गाउपालिकाले घर नम्बर प्लेट टाँस गर्दा एक हजार रुपैयाँ शुल्क लिने गरेकोले उक्त कदमको स्थानियले विरोध गरेका हुन् ।
घरमा नम्बर प्लेट टाँस गरेवापत एकहजार रुपैयाँ शुल्क निक्कै महंगो भएको भन्दै गौरिशंकर गाउँपालिकाका स्थानियहरुले विरोध गरेका छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार गौरिशंकर गाउँपालिका वडानम्बर ५ सुरीबाट घर नम्बर टाँस्ने कामको शुरुवात भएको गाउँपालिकाले बताएको छ ।
आफ्नो घरमा पनि नम्बर टाँसिएको तर छिमेकी गाउँ पालिकाहरुमा कतै पनि यति चर्को शुल्क लिएको नपाइएकोले आफूले तत्काल उक्त रकम नतिरेको वडानम्बर, ५ सुरीका टिका भूजेलले बताए । “आर्थिक अवस्था ठिक भएकालाई त एक हजार केही हैन तर सामान्य हातमुख जोर्न पनि समस्या भएकालाई त यो निक्कै महंगो भयो ” भूजेलले भने । वडाबाट पाइने सेवा बाट बञ्चित गर्छन भन्ने लागेर आफूले एक हजार रुपैयाँ तिरको सुरीकै आर्का एक स्थानियले बताए ।
गत आव मा दोलखाका स्थानिय तहहरु मध्ये सबै भन्दा बढी ७ करोड ५१ लाख ६० रुपैयाँ बेरुजु गौरिशंकर गाउँपालिकाको रहेको महालेखा परीक्षकको विभागले गरेको अन्तिम लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
तर गाउँपालिकाका अध्यक्ष स्वयम् बहादुर खड्काले भने घर नम्बरको प्लेट टाँसिएवापत मात्र एक हजार शुल्क नलिएको दावी गरे । प्रत्येक वडामा रहेका घर तथा ब्यक्तिहरुको प्रोफाइल तयार गर्न, घर निर्माणको प्रमाणपत्र तयार गर्न तथा सबै घर परिवारको ब्यक्तिगत डाटा तयार गर्नका लागि सो शुल्क लिइएको उनले बताए ।
गाउँपालिकाले यस अघि कुनै शीर्षकमा पनि कर बृद्धि नगरेको उनको भनाई छ।वडागत प्रोफाइल निर्माण, ब्यक्तिगत डाटा तयार गर्ने तथा घर निर्माण सम्पन्न प्रमाण पत्र दिँदा खर्च भएर बचेको रकम सम्बन्धित वडामानैं फिर्ता गरी वडाले चाहेको विकास योजनामा खर्च गरिने भएकोले यसमा कसैले पनि चित्त दुखाउन आवश्यक नरहेको खड्काको भनाई छ ।
कुल ९ वटा वडा रहेको गौरिशंकर गाउँपालिकामा ५१ सय भन्दा बढी घरको निर्र्माण सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *