काठमाडौंमा हैजा फैलँदो! यी ३  कुरामा ध्यान दिउँ

विशेष समाचार समाचार स्वास्थ्य
डा शेरबहादुर पुन

काठमाडाैं, ६ असार

गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा हैजा फैलिएको थियो र केहीको मृत्यु समेत भएको थियो। लेखकले केहि दिन अगाडि हैजा भए/नभए शंका कसरी गर्न सकिन्छ भनेर लेख प्रकाशित गरेको थियो।  हाल काठमाडौँमा हैजा फैलिरहेको/फैलँदो अवस्थामा रहेको संकेत दुई जना बिरामीमा पुष्टि भएसँगै सहजै अनुमान गर्न सकिन्छ।

अबको आवश्यकता भनेको के कुरामा ध्यान दिँदा हैजाको संक्रमणबाट बच्न सकिन्छ र फैलनबाट रोक्ने भन्ने हो। यसका लागि यी निम्न तीन कुरामा ध्यान दिन अति जरुरी हुनेछ ।

१) खानेकुरा : हाल कोभिड-१९ को महामारी शिथिल भएसँगै हामी सक्रिय दैनिकीमा फर्किसकेका छौं र घरबाहिर खानपिन गर्ने बानी/चलन पनि बढ्दै गैरहेको छ। खानेकुरा मार्फत हैजा फैलने गरेको विगतको हाम्रो अनुभब छ। तसर्थ ताजा र सुरक्षित खानेकुरामा विशेष ध्यान दिनु पर्दछ। हैजा घर बाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने भएकोले खानेकुरा राम्रोसँग पकाएको ताजा खानु पर्दछ।

२) खानेपानी: हैजा फैलनमा खानेपानीको भूमिका महत्वपूर्ण हुने गर्दछ। अझ पानीको स्रोतमा नै हैजाको जीवाणु मिसिएको भए एकैपटक धेरैजना बिरामी हुनसक्दछ। काठमाडौंमा हैजाको स्रोत सर्वसाधारण वा मानिसहरु बढी जाने वा काम गर्ने ठाउँहरु हुनसक्दछ। जस्तै चमेना गृह/रेस्टुरेन्ट वा कार्यालय जस्ता ठाउँमा हैजाको जीवाणु मिसिएको पानीको प्रयोग गरिएको भए धेरै मानिसहरु एकैपटक हैजाको झाडापखालाबाट प्रभावित हुनसक्नेछ। तसर्थ सार्वजनिक प्रयोजनका लागि राखिएका जारका पानी सुरक्षित भएको सुनिश्चित गर्नु/हुनु अति जरुरी हुन्छ/हुनेछ।

३) व्यक्तिगत सरसफाइ: खानेकुरा वा पानी वा दुवै संक्रमण विहिन भए पनि लक्षण विहिन संक्रमितले शौचालयबाट फर्कदा राम्रोसँग हात सफा नगरेको अवस्थामा खानेकुरा वा पानी संक्रमित हुनसक्नेछ र त्यसो भए सोको उपभोग गर्नेलाई संक्रमण हुनसक्दछ। तसर्थ हैजा फैलिएको स्थानमा जोकोहीले शौच गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुन अति आवश्यक हुनेछ।

यी माथि उल्लेखित तीन कुरालाई ध्यान दिन सके हैजाको संक्रमणबाट बचिने र यसको फैलावटलाई ब्रेक लगाउन पनि सहयोगी हुनेछ।

-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)  

Leave a Reply

Your email address will not be published. Required fields are marked *