दसैँमा मधुमेह र थाइराइडका बिरामीले खानपानमा किन ध्यान दिने ?

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ असाेज
मधुमेह तथा थाइराइडका बिरामीले कस्तो खानपान गर्ने? मात्रा मिलाएर कसरी खाने?

मिठो र स्वादिलो खानेकुराले दसैँलाई रमाइलो बनाउँछ, तर खानपानमा ध्यान नदिँदा चाडपर्वमा दीर्घरोगी सिकिस्त पर्न सक्छन्।

मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह र पेटजन्य समस्या लगायतका बिरामीले दसैँ समयमा विशेष ध्यान दिनुपर्छ। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ।

मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा सुनिल पोख्रेल दसँैमा गरिने खानपानमा विशेष ध्यान दिन आग्रह गर्छन्। चाडपर्व सकिएपछि समस्या बढेर आउने बिरामीको संख्या कम छैन। त्यसैले समस्या बढ्न नदिन अहिलेबाट नै सचेत हुनुपर्ने उनले बताए।

दसैँमा मधुमेह तथा थाइराइडका बिरामीले कस्तो खानपान गर्ने? खानपानमा ध्यान दिन किन जरुरी छ? लगायत विषयमा डा पोख्रेलसँग हामीले कुराकानी गरेका छौँ। डा पोख्रेलसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

दसैँमा मधुमेहका बिरामीले खानपानमा ध्यान दिन किन जरुरी छ?
– मधुमेह रोग खानपान, शारीरिक सक्रियता र जीवनशैलीसँग सम्बन्धित छ।
– खानपानमा ध्यान दिन नसके शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्न सकिँदैन।
– दसैँमा मधुमेहका बिरामीले मात्रा मिलाएर मात्र खानपान गर्नुपर्छ।
– मधुमेहका बिरामीले सकेसम्म खसीको मासु कम खाने।
– रातो मासुको सट्टा सेतो मासु खानु राम्रो हुन्छ।

दसैँमा मधुमेहका बिरामीले धेरैमा कति माछा मासु खान मिल्छ? मात्रा मिलाएर कसरी खाने?
– शरीर, तौल र अवस्था अनुसार बिरामीले खानाको मात्रालाई मिलाएर खानुपर्ने हुन्छ।
– खानपानसँगै बिरामीले शारीरिक व्यायामलाई पनि बढाउनुपर्छ।
– बेला बेलामा ग्लुको मिटरले चिनीको मात्रा जाँच गरिरहनुपर्छ।
– प्रत्येक बिरामी फरक हुने भएकाले बिरामी अनुसार नै खानपान र मात्रा मिलाउनुपर्छ।
– मधुमेह खानाबाटै हुने भएकाले यसका बिरामीले विशेष रुपमा खानामै ध्यान दिनुपर्छ।
– एकै पटक धेरै खानुभन्दा पनि थोरै र समय–समयमा खानु राम्रो हुन्छ।

विगतका दसैँहरुमा खानपानमा ध्यान नदिएर समस्या बढेको गुनासो लिएर आउने बिरामीको अवस्था कस्तो थियो?
– चाडपर्वपछि शरीरमा चिनीको मात्रा बढेर आउने बिरामीहरु धेरै हुन्छन्।
– शरीरमा नियन्त्रणमा रहेको चिनीको मात्रा पनि खानपानमा ध्यान नदिँदा बढेको पाइन्छ।
– खानपान र शारीरिक व्यायाम ध्यान नदिँदा चिकित्सकले जति औषधि दिएपनि मधुमेह नियन्त्रणमा आउन गाह्रो हुन्छ।
– शरीरमा चिनीको मात्रा सधैं नियन्त्रणमा राख्नुपर्छ। किनकी यो घट्ने र बढ्ने हुँदा शरीरलाई नोक्सान पनि गर्छ।

शरीरमा चिनीको मात्रा धेरै नै बढ्यो भने शरीरलाई कस्तो हानी गर्छ?
– शरीरमा चिनीको बढी भए तत्कालीन र दीर्घकालीन समस्या देखिन्छ।
– शरीरमा एक्कासी चिनीको मात्रा बढ्दा बिरामी बेहोस हुने, मुख धेरै सुक्ने, हात खुट्टामा घाउ आउने र निको नहुने, दुब्लाउँदै जाने र पिसाब धेरै लाग्ने हुन्छ।
– मधुमेहले आँखा, मुटु, मिर्गौलादेखि शरीरका विभिन्न अंगहरुमा असर गर्न सक्ने यसको दीर्घकालीन असरहरु हुन्।

थाइराइडका बिरामीले पनि दसैँको खानपानमा ध्यान दिनुपर्छ?
– थाइराइडका बिरामीले खानपानमा मुख बार्नुपर्दैन।
– थाइराइड खानाको कारणले नभई शरीरमा बन्ने एक प्रकारको एन्टीबडीका कारणले हुने हो।

त्यसो भए थाइराइडको समस्या कसरी नियन्त्रण गर्ने ?
– गलगाँड भनेको नै थाइराइड हो।
– पहिला खानेकुरामा आयोडिनको कमी हुँदा घाँटीमा ठूलो गलगाँड आउँथ्यो।
– थाइराइडले उत्पादन गर्ने हर्मोन कमी भयो भने थाइराइडको समस्या देखिन्छ।
– थाइराइड भए कपाल झार्ने, आँखा सुख्खा हुने, हात खुट्टाहरु गल्ने, तौल बढ्ने, महिलामा महिनावारी गडबढी हुने लगायत समस्या गराउँछ।
– थाइराइड रोग उमेर अनुसार बढ्दै जाने हुन्छ।
– अधिकांश बिरामीले थाइराइडको औषधि जीवनभर खानुपर्ने हुन्छ।
– थाइराइडका बिरामीले ३ देखि ६ महिनामा परीक्षणका लागि अस्पताल जानुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *