बागीश्वरीमा दशैं २०७८ को अवसरमा शुभकामना आदानप्रदान

समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० असोज


बागीश्वरी कलेज तथा बागेश्वरी माविको संयुक्त आयोजनामा त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच बुधबार नजिकिँदै गरेको दशैं २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भर हुने कुनै पनि संस्थाको प्रगति दिगो नहुने बताए ।
सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी निकै न्युन र अपुग भएको बताउँदै उनले प्राध्यापक तथा कर्मचारीहरु पैसा कमाउने मानसिकता र व्यक्तिगत स्वार्थबाट माथि उठेर संस्थाको हित र उत्थानमा भूमिका खेल्नुपर्ने बताए ।
भक्तपुरका विद्यार्थीहरुलाई यहीँ गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण बागेश्वरी कलेज तथा माविले प्रदान गरिरहेकोमा जोड दिदै नगर प्रमुख प्रजापतिले भक्तपुरको पहिचान र गरिमा कायम गर्न स्थानीय जनताहरुको महत्वपूर्ण भूमिका रहेको बताए । स्नातकोत्तर तहका विद्यार्थीहरुमा अरुको थेसिस नक्कल गर्दै आफू उत्तीर्ण हुने गलत मानसिकता हावी हुँदै गइरहेको बताउँदै उनले नजिकिँदै गरेको दशैंको बिदाको समयको सदुपयोग गरी नयाँ नयाँ पुस्तक अध्ययन गरी सिर्जनशील काममा लाग्न प्रेरित गरे ।
बागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले दशैं बिदालाई रचनात्मक ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिदै बागीश्वरीले विदेशी संघ संस्थाको सहयोगलाई अस्वीकार गर्दै आइरहेकोबारे प्रष्ट पारे ।
बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामूहिक भावनाको विकासले संस्थालाई अगाडि बढाउन टेवा पुग्ने बताउदै बागीश्वरी कलेजले अनुसन्धानमा २६ लाख बजेट छुट्याउँदै आएको र विभिन्न विषयमा कार्यशाला गोष्ठीहरु पनि गर्दै आइरहेको बताए ।
बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले धन्यवादज्ञापन गरेको उक्त कार्यक्रममा सहायक प्रअ उकेश सुवाल, विज्ञान संकायका भानुभक्त हुमागाइँ, बागीश्वरी मावि टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, बागीश्वरी कलेज व्यवस्थापन संकायका संयोजक बब्लुकुमार रावत, गेहेन्द्रप्रसाद दाहाल र कृष्णप्रसाद कर्माचार्यले शुभकामना मन्तव्यका साथै आआफ्नो धारणा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *