भक्तपुर दरवार क्षेत्रमा तीन पुस्ताको फोटो प्रदर्शनी एकै साथमा हुने

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ फागुन

भक्तपुर पर्यटन विकास समितिले यही फागुन १८ र १९ गते भक्तपुरका ऐतिहासिक एवं पुरातात्विक महत्वका तीन पुस्ताले खिचेका ६८ वटा ‘व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी सिरिज वन’ भक्तपुरको दरवार क्षेत्रमा गर्ने भएको छ ।
भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली उनका छोरा केदार प्रसाद बनेपाली र नाति किसन र नातिनी सुनी बनेपालीबाट विगतमा खिचेका पुराना तथा ऐतिहासिक महत्वका फोटो प्रदर्शनी गर्न लागेको हो । उक्त प्रदर्शनीमा ८० वर्ष पुराना भक्तपुरको अवस्थालाई नियाल्न सकिने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेश राज शर्माले जानकारी दिए ।
उनले पुराना तस्विरकै कारण विभिन्न देशबाट पुराना मूर्तिहरु फिर्ता ल्याउन सकेको बताए । बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक फरक कालखण्डको फोटोहरु भक्तपुरको परिवर्तित जीवनशैलीसँगै सम्पदाहरुमा आएको परिवर्तन समेत देखाउन उक्त प्रदर्शनी हुने उनको कथन छ । प्रदर्शनीमा राखिएका कतिपय तस्विरहरु अहिले अस्तित्वमा समेत नभएको बताउँदै उनले तिनीहरुको मौलिक स्वरुपमा पुनर्निर्माण गर्न सघाउने बताए ।
नेपाल मजदुर किसान पार्र्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायण मान विजुक्छेँले उद्घाटन गर्ने उक्त प्रदर्शनीका फोटोहरु अवलोकनसँगै विक्रीका लागि समेत राखिने उनले जानकारी दिए । प्रदर्शनी विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहने आयोजकले बताएको छ ।
पत्रकारहरुको जवाफमा केदार बनेपालीले स्पष्ट पार्दै फोटो पत्रकारिताका विगत र वर्तमान अवस्थाबारे जानकारी दिए । म्यानुअलदेखि डिजिटलसम्म आइपुग्दा धेरै परिवर्तन भैसकको स्मरण गर्दै उनले आफ्नो बुबाले खिचेका पुराना फोटोहरु क्यानाडामा प्रदर्शनी गरेपछि मात्र यस्तो प्रदर्शनीको सोच पैदा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *