बागीश्वरी माविका चार अवकाश प्राप्त शिक्षकहरु सम्मानित

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, १२ फागुन


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा बागीश्वरी माध्यमिक विद्यालयमा लामो समय अध्यापनपश्चात अवकाश हुनुभएका चार जना शिक्षकहरुको बधाई तथा सम्मान कार्यक्रम बुधबार विद्यालयको सभाहलमा भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले शिक्षा र राजनीति भनेको एकआपसमा सम्बन्धित विषय भएको बताउँदै जुनसुकै पेशा भए पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए । शिक्षकहरुले राजनीति गर्न हुँदैन भन्ने ठम्याई गलत भएको बताउँदै शिक्षकहरुले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता उनले औंल्याए ।
ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि निरन्तर प्रयास जारी रहने बताउँदै नेता बिजुक्छेँले बागीश्वरीमा अध्ययनरत देशभरिका विद्यार्थीहरुलाई आफ्नो गाउँ ठाउँको निम्ति सेवा गर्न अभिप्रेरित गर्नुपर्ने बताए । उनले अवकाश प्राप्त शिक्षकहरुले आफ्नो अनुभव संगालेर नयाँ पुस्ताको लागि पठनीय पुस्तक प्रकाशनतर्फ ध्यानाकर्षण गराउँदै भक्तपुरमा रात्री कक्षाबाट शुरु भएको महिला शिक्षाले हाल शैक्षिक क्षेत्रमा महिलाहरुको अग्रसरता र उपलब्धी नै प्रशंसनीय रहेको बताए ।
वर्तमान राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दै अध्यक्ष बिजुक्छेँले संसद पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिक रुपमा सचेत पार्ने अवसर गुमेको र शासक दलहरुबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिने बताए । भारत सरकारले नेपालका शासक दलका नेताहरुमार्फत नेपालमा आफ्नो अनुकूलको सरकार बनाउन खोजिरहेको प्रष्ट भएको औल्याए ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरी मावि र कलेजप्रति सबैको साथ र सहयोगी भावनाका कारण यसले शैक्षिक क्षेत्रमा नवीनत्तम उचाइ गरिरहेको बताए । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र नेपाल मजदुर किसान पार्टीको एक घर एक स्नातकको अवधारणा पूरा गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापनाकालदेखि भक्तपुर नगरपालिका प्रयासरत रहेको स्पष्ट पारे ।
बागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ९ वडाका वडाध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरी माविलाई समाजको उन्नति र प्रगतिको लागि महत्वपूर्ण दबुको रुपमा प्रयोग गरिरहेको र विद्यालय स्थापना र प्रगतिमा भक्तपुरका स्थानीय जनताको अपनत्व र निरन्तर सहयोग पाइरहेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले अवकाश प्राप्त शिक्षकहरुको संक्षिप्त परिचय र विद्यालयको शैक्षिक उन्नतिमा पु¥याएको योगदानबारे चर्चा गरे ।
सोही कार्यक्रममा विद्यालयका सहायक प्रअ उकेश सुवाल र पूर्व प्रअ कृष्णप्रसाद कर्माचार्यले आ आफ्नो धारणा व्यक्त गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले बागीश्वरी माविमा लामो समयको अध्यापन पश्चात अवकाश भई सम्मानित शिक्षकहरु विद्यालयका पूर्व सहायक प्रअ ज्ञानसागर प्रजापति, प्रावि तहका शिक्षकहरु शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मान पत्र र अतिथि नगर प्रमुख प्रजापतिले विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा अवकाश प्राप्त शिक्षकहरुले विद्यालयमा अध्यापन गराउँदाको आफ्नो अनुभव सुनाएको थियो ।
सोही कार्यक्रममा विद्यालयका पूर्व शिक्षक शोभा प्रधानले विद्यालयका प्रअ धन्दालाई विद्यालयको स्वास्थ्य कोषको लागि रु. दुई लाखको चेक हस्तान्तरण गर्नुभएको थियो भने सो कोषको लागि पूर्व शिक्षकहरु ज्ञानसागर प्रजापति र रामप्रसाद सुवालले पनि प्रतिव्यक्ति एक लाख सहयोगको घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *