भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र भवन उद्घाटनः आजदेखि उपचार सेवा शुरू

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २९ माघ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनस्र्थापन केन्द्र भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ भएकाे छ ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र स्थापनाले भक्तपुरलगायत देशभरिका दीर्घ दमखोकी भएका व्यक्तिहरू लाभान्वित हुने बताउँदै जिम्टेफको सहयोग फलदायी हुने आशा व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिबारे स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले नेपालमा नक्कली औषधि निर्यात भइरहेकोतर्फ सचेत रहनुपर्ने र नगरको ढल, पार्क, संग्रहालय, व्यवस्थित अस्पताल सञ्चालनलगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
नगरबासीमा नागरिक भावना सँगसँगै सांस्कृतिक स्तर पनि हुनुपर्ने बताउँदै उनले विदेशी दाताहरूको सहयोगबाट सञ्चालन हुने प्रोजेक्ट तथा कार्यहरू नेपालले सफलतापूर्वक सञ्चालन गर्छ भन्ने उदाहरणीय कार्य भक्तपुर नगरपालिकाले गरेर देखाउनुपर्ने बताए।
स्थानीय विकासमा जनप्रतिनिधिहरूको भूमिका उल्लेखनीय हुने बताउँदै अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधि जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर समाजमा जनचेतना फैलाउँदै गलत कुराको प्रचार हुन नदिन भूमिका निर्वाह गर्नुपर्ने बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्वासप्रश्वास पुनःस्थापन केन्द्र सञ्चालनको लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार प्रकट गर्दै केन्द्रले तालिम प्राप्त चिकित्सकहरूबाट सेवा प्रवाह गर्ने बताए।
दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले यस संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक भूमिका खेलिरहने बताए।
प्रमुख प्रजापतिले नागरिकहरूलाई स्वास्थ्य उपचारमा सहज पहुँच र सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले तीनवटा जनस्वास्थ्य सेवा केन्द्रमार्फत १९ थरिको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए ।

बागमति प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एकमात्र श्वास पुनःस्थापन केन्द्र सञ्चालन गरी एउटा नयाँ प्रयासको शुभारम्भ भएको बताउँदै स्वस्थ जीवनको लागि स्वस्थ समाजको आवश्यकता रहेको बताए।
देशको शिक्षा र स्वास्थ्यमा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै सांसद गोसाइँले भक्तपुर नपाको अगुवाईमा सञ्चालन हुने ख्वप अस्पताल यथाशक्य छिटो सञ्चालन हुने आशा व्यक्त गरे। भक्तपुर नपाले देशकै लागि नमुना कार्यको थालनी भएकोतर्फ खुशी व्यक्त गर्दै नगर विकासको निम्ति सम्पूर्ण नगरबासीहरूको साथ र सहयोगबाट सम्भव हुने बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, नेपालमा १२ प्रतिशत र भक्तपुरमा १९ प्रतिशत बिरामी रहेको तथ्य प्रस्तुत गर्दै बढ्दो सहरीकरण र प्रदूषणका कारण श्वासप्रश्वासका रोगीहरूको संख्या दिनानुदिन बढिरहेको बताए ।

भक्तपुर जिल्लाका प्रजिअ प्रेमप्रसाद भट्टराईले आफूसँग भएको रोग लुकाउन नहुने बताउँदै जापान सरकारले नेपालको स्वास्थ्य सेवामा गरेको लगानीको सदुपयोग गर्नुपर्नेमा जोड दिए । भक्तपुरको शान्ति सुरक्षा, सुशासनलगायतमा जिल्ला प्रशासन कार्यालयले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै श्वासप्रश्वाससम्बन्धी रोगले अन्य रोगको उत्पत्ति गराउने हुँदा समयमै यसको पहिचान र उपचारको आवश्यकता औंल्याए।

कार्यक्रममा जिम्टेफका अध्यक्ष बरिष्ठ दमरोग विशेषज्ञ डा. हायासीले भिडियोमार्फत आफ्नो सन्देश सुनाउँदै श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनमा सबैको सहयोगको आशा रहेको र आगामी दिनहरूमा नेपालका अन्य नगरपालिकाहरूमा पनि सञ्चालन गर्ने योजना रहेको बताए ।

त्रिवि शिक्षण अस्पतालका इन्टरनल मेडिसिनका पूर्व विभागीय प्रमुख डा. प्रदीपकृष्ण श्रेष्ठले भक्तपुर नपाको अगुवाईमा दम रोगीहरूको निम्ति निकै उपयोगी कार्यको शुरुवात भएको बताउँदै भक्तपुरमा सञ्चालित श्वासप्रश्वास पुनःस्थापना केन्द्रले देशभरिका बिरामीहरूलाई सेवा गर्ने बताए ।

बरिष्ठ दमरोग विशेषज्ञ एवं सोलिड नेपालका अध्यक्ष डा. खेमबहादुर कार्कीले विश्वभर श्वासप्रश्वास रोगीको संख्या बढिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै श्वासप्रश्वास सम्बन्धी अभ्यासले बिरामीहरूको जीवनयापनमा सजिलो हुने बताए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवादज्ञापन गरेको थियो भने जनस्वास्थ्य सेवा केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवा, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्नप्रसाद प्रजापति, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि आ–आफ्नो धारणा व्यक्त गरेको थियो ।

कार्यक्रमपश्चात कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले भक्तपुरको च्याम्हासिंहमा निर्माणाधीन ख्वप अस्पताल भवनको स्थलगत निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *