विदेशी मुद्राको सञ्चिति १४ खर्ब ९३ अर्ब पुग्यो, १४ महिनाको वस्तु आयात धान्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २७ माघ

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ९३ अर्ब पुग्यो, १४ महिनाको वस्तु आयात धान्ने

आर्थिक वर्ष २०७७/∕७८ को ६ महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा बढेर ६.६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।
यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमː ३९.७ प्रतिशत, १०५.२ प्रतिशत र ३२.२ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ पुस मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ पुस मसान्तमा ०.४ प्रतिशतले कमी आई १७५ अर्ब ९ करोड कायम भएको छ । २०७७ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *