सिंगटी खोला जलविद्युत आयोजनाको इन्टेकको परीक्षण सफल

अर्थ/वाणिज्य समाचार

दोलखा, १० भदौ

दोलखा जिल्लाको सिँगटी खोलामा निर्माणाधिन सिंगटी खोला जलविद्युत आयोजनाको इन्टेकको परीक्षण सफल भएको छ । निर्माणाधिन २५ मेगावाट क्षमताको सिँगटी खोला जलविद्युत आयोजनाको इन्टेकको सोमबार गरिएको परीक्षण सफल भएको हो ।
सोमबार गरिएको इन्टेकको परीक्षण बाट इन्टेकमा कुनै समस्या नदेखिएकोले परीक्षण सफल भएको सिँगटी खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनहरी सापकोटाले अभियान दैनिकलाई बताए । इन्टेकमा पानी भर्दा कुनै समस्या नदेखिएको आयोजनाले बताएको छ । ढिलोमा कार्तिक महिना भित्र विद्युत उत्पादन सुरु हुने सापकोटाले बताए ।
आयोजनाको हेडवक्सको काम समाप्त भई ५ हजार ९१५ मिटर टनेल क्लियर भइसकेको सापकोटाले बताए । बाँकी करिब १२ सय मिटर टनेल भित्र फिनिसिङ को काम भई रहेको उनको भनाई छ । यसैगरी १ हजार १६ मिटर पेनस्टक पाईप मध्ये करिब ८० मिटर मात्र जोड्न बाँकी रहेको उनको भनाई छ । अहिले पावर हाउस भित्र जडान गरिने उपकरणहरुको टेस्टिङ तथा जडान कार्य भइरहेको सापकोटाले बताए ।
सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको अयोजनाको लागत ४ अर्ब ६३ करोड अनुमान गरिएको थियो । आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा १ अर्ब ४५ करोड स्वपुँजी लगानी रहेको छ । डलरमा भएको मूल्य बृद्धी र सरकारले भ्याट छुट स्वरुप दिने भनेको प्रति मेगावाट ५० लाख नआउँदा आयोजनाको लागत भने केही बढ्ने आयोजनाले बताएको छ । सुरुमा १६ मेगावाट क्षमता रहेको आयोजनाको पछि क्षमता बृद्धिगरी २५ मेगावाट पुर्याइएको थियो ।
आयोजना सम्पन्न भएपछि १२ दशमल्लब ५ मेगावाट क्षमताका दुई जेनेरेटर मार्फत २५ मेगावाट विद्युत उत्पादन गरिने आयोजनाको प्रबर्धक कम्पनी सिंगटी हाईड्रो पावर इनर्जी लिमिटेडले बताएको छ । उत्पादित विद्युतलाई सिँगटी बजारमा निर्माणाधिन सब स्टेशनमा लगी केन्द्रिय प्रसारणमा जोडिने छ।
आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, हाइड्रो मेकानिकलको काम क्रिम हाइड्रो प्रालि तथा इलेक्ट्रो मेकानिकलको काम चिनियाँ कम्पनी क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडले गरिरहेको आयोजना ले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *