सुर्खेत,५ असार
बुद्ध एयरको सुर्खेत–काठमाडौंका बेलुकी उडान स्थगित हुने भएको छ । यात्रु अभावका कारण बेलुकी सेवा स्थगित गर्न लागिएको बुद्ध एयरले बताएको छ । सुर्खेत–काठमाडौं बिहानी–बेलुकी उडान भर्दै आईरहेको बुद्ध एयरले यात्रु अभावसँगै जहाज मर्मत सम्भार गर्नु परिरहेकाले संध्याकालिन सेवा स्थगित गर्न लागिएको एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए । बद्ध एयरले असार १ गतेदेखि सुर्खेत–काठमाडौं बेलुकी उडान शुरु गरेको एक हप्ता नपुग्दै यात्रु अभावसँगै जहाज मेन्टनेन्सको कारणले देखाएर सेवा बन्द गर्न लागेको हो । बुद्ध एयरका अनुसार सुर्खेत–काठमाडौं बेलुकी सेवा असार ६ गतेदेखि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि स्थगित गरिने छ । हाल बुद्ध एयरले ४७ सिटे जहाज मार्फत सुर्खेत–काठमाडौं सेवा दिँदै आएको छ । यता राष्ट्रिय उपभोक्ता मञ्चले सुर्खेत—काठमाडौं हवाई सेवा प्रदायक कम्पनीले भाडा दरमा मनोमानी कायम गरिँदा यात्रु मारमा परेको बताएको छ । मञ्चका सुर्खेत सचिव रामप्रसाद शर्माले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले सुर्खेत—काठमाडौं हवाई सेवा नियमित नगर्दा बुद्ध एयरले एकाधिकार कायम गरि यात्रुबाट मनोमानी भाडा असुल्दै आएको आरोप लगाए । ‘नेपाली आकाशमा वायुसेवा निगमसँगै बुद्ध एयर, यति एयर, सौर्य र श्री एयरलाइन्सको प्रतिस्पर्धा भैरहेका बेला सुर्खेतका यात्रुहरुले भने भाडादरमा सिन्डिकेटको मार खेपि रहनुपरेको छ,’ उनले भने, ‘सुर्खेतबाट काठमाडौं हवाई रुटमा प्रस्तिपर्धी विमान कम्पनी नहुँदा बुद्ध एयरले चर्को भाडा असुल्दै आएका कारणले बेलुकी उडानलाई यात्रु अभावको बहाना बनाउँदै उसले सेवा बन्द गर्नु निन्दनीय कार्य हो ।’ उनले एक घण्टा हवाई दुरी भएको सुर्खेत—काठमाडौंको लागि ७ हजार ६ सयदेखि ११ हजार ५ सय रुपैयाँ भाडा दर असुल्दै आएकाले कर्णालीका सर्वसाधारणको हवाई सेवा पहुँच बाहिर भईरहेको बताए । ‘५० मिनेट हवाई दुरी भएको नेपालगञ्जदेखि काठमाडौंको लागि विभिन्न एयरलाइन्समा प्रति यात्रु हवाई भाडा दर २७ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म रहेको छ’, उनले भने, ‘तर नेपालगञ्ज भन्दा १० मिनेट मात्र बढि हवाई दुरी भएको सुर्खेतदेखि काठमाण्डौ सम्मको हवाई भाडा दर दोब्बर बढी छ ।’ उनले बुद्ध एयरको एकाधिकार नतोडिएसम्म उपभोक्ताले चर्को भाडा चुकाउनु पर्ने बाध्यता रहिरने जनाए । उनका अनुसार प्रतिस्पर्धी अन्य विमान कम्पनीहरु सुर्खेतमा नआउदाँ भाडादरसँगै सेवा प्रवाहमा मनोमानि भईरहने छ । सुर्खेतबाट काठमाडौंको हवाई भाडादर चर्को भएकै कारणले कर्णालीका यात्रु नेपालगञ्ज विमानस्थलबाट यात्रा गर्न बाध्य भएको उनको भनाइ छ ।