असिनापानीले ८ करोड बढिको क्षती

अर्थ/वाणिज्य समाचार

पर्वत,५ असार


पर्वत जिल्लाका विभिन्न गाउँ र नगरपालिकामा असिनापानीले ८ करोड भन्दा बढिको क्षती भएको छ । कृषि ज्ञान केन्द्रले जेठ ९ र १० गते परेको असिनापानीले जिल्लाका विभिन्न ठाउँमा पुगेको क्षती सार्वजनिक गरेको हो । कृषि ज्ञान केन्द्रका अनुसार सबै स्थानमा गरी ८ करोड २८ लाख १० हजार ५ सय १० रुपैयाँ बराबरको बालीनाली, फलफुल र तरकारीमा क्षती भएको छ ।
क्षतीको विवरण केन्द्र तथा प्रदेशको कृषि मन्त्रालय र विभागहरुमा पठाईएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । ‘सबै क्षेत्रको क्षती संकलन गरेर मन्त्रालय र विभागमा पठाईयो,’ रेग्मीले भने,‘ क्षती अनुरुपको राहात पनि माग गरेका छौँ ।’
जिल्लाका तीनवटा स्थानीय तहमा मात्रै असिनाले बढि क्षती बनाएको छ । बरिष्ठ कृषि विकास अधिकृत रेग्मीका अनुसार फलेवास नगरपालिकामा २ करोड २० लाख २९ हजार ४ सय २० रुपैयाँ बराबरको क्षती भएको छ ।
कुश्मा नगरपालिकामा १ करोड ८५ लाख ५२ हजार ७ सय ५० रुपैयाँ बराबरको क्षती भएको छ भने मोदी गाउँपालिकामा ३ करोड ७३ लाख ९० हजार ७ सय ८० रुपैयाँ बराबरको खाद्यन्न र तरकारीबाली असिनापानीले नष्ट गरेको छ । जिल्लाका मोडल फर्महरुमा ४८ लाख ३७ हजार ५ सय ६० रुपैयाँ बराबरको क्षती भएको छ ।
असिना पीडित कृषकहरुले राहातको माग गरिरहेका छन् । ‘असिनाले वर्षभरिको दुख माटोमा मिलायो,’ शंकरपोखरीका पूर्णबहादुर दर्जीले भने,‘ सरकारले दिने राहात अहिलेसम्म आएन ।’ राहातका लागि नगरपालिका र कृषि कार्यालयमा निवेदन दिएको दर्जीले बताए । जिल्लाका अन्य स्थानका कृषकहरु पनि राहातको खोजीमा स्थानीय तह र कृषि कार्यालयहरुमा दैनिक धाईरहेका छन् ।
तर, पीडित कृषकहरुलाई तत्काल राहात दिन नसकिएको स्थानीय सरकार प्रमुखहरु बताउँछन् । ‘राहातका लागि बजेट छैन,’ फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भने,‘ कृषि मन्त्रालयमा कुरा भएको छ । केहि राहात मिले किसानलाई दिन्छौँ ।’ यसअघि जिल्ला प्रसासन कार्यालयले मोदीका किसानलाई असिनाले घरको छानो छेडिएको भन्दै केहि थान त्रिपाल वितरण गरेको थियो । अन्य निकायले भने राहात वितरण गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *