निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक

विशेष समाचार समाचार
भक्तपुर,२१ जेठ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ठूलो ब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरु पुनःनिर्माण गर्न नक्सा पासमा समस्या भइरहेकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गरे । उनले ब्यासीदेखि कमलविनायक सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको मंगलबार बसेको भक्तपुरमा निजी आवास पुनःनिर्माणसम्बन्धी बैठकमा बोल्दै प्रमुख प्रजापतिले ब्यासी–कमलविनायक सडक छेउमा भक्तपुरको प्राचीन र ऐतिहासिक पाटी, सत्तल, पोखरी तथा ढुंगेधाराहरु रहेको हुँदा सो क्षेत्रमा बाटो फराकिला गर्दा सम्पदाहरु नास हुने बताए ।
सडक साँघुरो हुँदा यात्रुहरुलाई आवागमनमा समस्या भएको र सडक दुर्घटनाको सम्भावना भएको बताउँँदै प्रमुख प्रजापतिले त्यस क्षेत्रलाई व्यवस्थित रुपमा फुटपाथ बनाई पुरानै शैलीमा घर निर्माणमा जोड दिने बताए ।
कार्यक्रममा काठमाडौं उपत्यका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सडक छेउका घरहरु पुरानै शैलीमा पुनःनिर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताउँँदै ब्यासी–कमलविनायक सडकको वैकल्पिक सडकको लागि अध्ययन भइरहेको बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले स्थानीय जनताको राय–सुझावअनुसार सडकको मापदण्ड हेरफेर गरी सडकको दायाँबायाँ पेटी निर्माण गर्नुपर्ने बताए ।
बैठक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *