भक्तपुर, २१ जेठ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्व व्यापार संगठनको सदस्य देश संयुक्त राज्य अमेरिकाले संरक्षणवादको नीति अवलम्बन गर्नु गलत भएको बताएका छन् ।
नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको सोमवार आयोजित राष्ट्रिय–अन्तरराष्ट्रिय परिस्थितिको विषयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले चीनलाई एशियाका देशहरूसँग द्वन्द्वमा फसाएर संरा अमेरिका ल्याटिन अमेरिका र अफ्रिकामा आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको हुनसक्ने आशंका व्यक्त गरे ।
संयुक्त राज्य अमेरिका ताइवानको काँधमा बन्धुक राखेर चीनमा आक्रमण गर्ने योजनामा रहेको बताउँदै अध्यक्ष बिजुक्छेँले अमेरिकाले कमजोर देशहरूलाई हात–हतियार देखाएर डकैती गरिरहेको बताए ।
निकोलस माडुरोले अमेरिकी साम्राज्यवादको विरुद्ध लडिरहेको बताउँदै भेनेजुयलालाई अन्तरराष्ट्रिय सहयोग मिलेको कारण अमेरिका अल्मलिएको उनको भनाइ छ । उनले संरा अमेरिकाले नाटोलगायतका देशलाई कम्युनिष्टहरूबाट जोगाउन सैन्य सहयोग गर्दा अमेरिका कमजोर भएकोले ती देशले रक्षा बजेटको २ प्रतिशत दिनुपर्ने धम्की दिएको बताए ।
नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले अमेरिकी साम्राज्यवादले चीनविरुद्ध शुरु गरेको व्यापार युद्धले मानव जातिको हित नगर्ने बताउँदै अमेरिकी साम्राज्यवादले भेनेजुयालाको आन्तरिक मामिलामा गरेको हस्तक्षेप, प्रजग कोरिया र क्युवाविरुद्ध गरेको नाकाबन्दीको विरोधमा नेमकिपाले संसदमा आवाज उठाइरहेको बताए ।
सरकार गठन गर्न भारतीय विदेशमन्त्रीलाई नेपाल निम्ता गर्नु गलत भएको बताउँदै सांसद सुवालले हिन्द–प्रशान्त गठबन्धनमा संलग्न हुने सरकारी नीतिको भत्र्सना गरे । उनले जन्मको आधारमा नेपाली नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने प्रावधान देशको हितमा नभएको बताए ।
कार्यक्रममा नेमकिपा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले गणतन्त्र स्थापनाको १२ औं वर्षमा प्रवेश गरिसक्दासमेत प्रदेश सरकार गणतान्त्रिक पद्धतिमा चल्न नसकेको बताए । उनले सरकारले गणतन्त्रको अनुभूति दिने ढंगमा व्यवहार नगरेकोप्रति आपत्ति व्यक्त गरे ।
नेमकिपा प्रदेश नं. ३ का सांसद सृजना सैंजुले प्रदेश सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिए पनि त्यो व्यवहारमा उतार्ने खालको बजेट र योजनाहरू ल्याउन असफल भएको बताउँदै प्रदेशसभा डन, मेडिकल माफिया, ठेकेदारहरू, घर–जग्गा दलाल, गिट्टी बालुवाका ठेकेदारहरूको छाँयामा परेको जनगुनासो रहेको प्रस्ट पारिन् ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सबिन ख्याजुले पनि बोलेको थियो ।