भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विज्ञान/प्रविधि समाचार

न्यूज अपडेट संवाददता
भक्तपुर, २ कार्तिक


भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रम बुधबार कलेजको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले असोज महिनामा मात्र दुईवटा अन्तर्राष्ट्रिय सम्मेलनहरु सम्पन्न गरिसकेको बताउँदै सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोगी सबैमा धन्यवाद ज्ञापन गरे ।
सम्मेलनले नयाँ नयाँ ज्ञान र अनुभव दिनुका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बन्ध विस्तार गर्न समेत टेवा पुर्याउने बताउँदै भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यका साथ सोको लागि आवश्यक पूर्वाधारहरु निर्माण गरिरहेको बताए ।
नेपालका विद्यार्थीहरु अहिले १२ कक्षा उत्तीर्ण हुनासाथ विदेशिने क्रम तीव्र रुपमा बढिरहेको बताउँदै उनले सरकारको गलत शिक्षा नीतिका कारण नेपाली युवा विद्यार्थीहरु विदेशिन बाध्य भएको बताए ।
प्रमुख प्रजापतिले विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापक स्वयम् म्यानपावर कम्पनीसँग मिलेर, विद्यार्थीसँग कमिसन खाएर विद्यार्थीहरुलाई विदेश पठाउन क्रियाशील रहेको यथार्थ प्रस्तुत गर्दै देश युवा विहीन हुने अवस्था गइरहेको बताए ।
आर्थिक रुपमा स्वतन्त्र नभएको देश राजनैतिक रुपमा पनि स्वतन्त्र हुन नसक्ने बताउँदै उनले देशका बुद्धिजीवी, प्राध्यापकहरुले देश र समाजको लागि चिन्तन गरी समाजको हितमा काम गर्न प्रेरित गरे ।
त्यस्तै ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भूकम्प इन्जिनियरिङसम्बन्धी ख्वपका विद्यार्थी र विदेशी विद्यार्थीहरुबीच अनुभव आदानप्रदान र नयाँ ज्ञान हासिल गर्न अन्तर्राष्ट्रिय सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सम्मेलनका सहभागी र प्रस्तुतकर्ता तथा मुख्य वक्ताहरुमा धन्यवादज्ञापन गरे ।


ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सम्मेलनका विषयहरु नेपालको सन्दर्भमा निकै समयसान्दर्भिक रहेको बताउँदै भूकम्पसम्बन्धी अनुसन्धान र क्षतिन्युनीकरणमा समेत सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य सुवेगमान बिजुक्छेँ र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले सम्मेलन आयोजना गर्नुको उद्देश्य, सम्मेलनका उपलब्धीबारे प्रष्ट पार्दै कलेजको आयोजनामा आगामी दिनहरुमा पनि समयसान्दर्भिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा जोड दिँदै जाने बताए ।
उक्त कार्यक्रममा सम्मेलनका स्टेरिङ कमिटिका सचिव मन्जिप शाक्य र विदेशी सहभागीले सम्मेलनको उपयोगिता र अनुभवबारे प्रष्ट पारे । उक्त कार्यक्रममा शिक्षक नवराज बुढाथोकीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *