प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा नबस्दा भ्रष्टाचार बढ्यो

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २४ बैशाख

प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा नबस्दा भ्रष्टाचार बढ्यो

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम भएकाे छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौँ उपत्यकामा घर–जग्गा किन थालेको हुँदा भ्रष्टाचार बढेको जनगुनासो रहेको बताए।

उनले भने, “नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी करोडौँ–अर्बौँ रूपैयाँ ठगीमा नेका र एमालेका पूर्वगृहमन्त्रीहरूसमेतको नाम जोडिएको समाचार प्रकाशित भइरहेको छ । भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्नु आवश्यक छ ।”

“३३ वर्षयता मन्त्री भएकाले आफ्नो संस्मरणमा मन्त्री पद अर्बौँ रूपैयाँ भ्रष्टाचार हुने पद भएको उल्लेख गरे । यसकारण, शासक दलहरूबिच मन्त्री खानको लागि हानथाप भइरहेको छ”, सचिव सुवालले भने ।

मे १ को आन्दोलनले मजदुरहरूको आठ घण्टाको समय र ज्याला बढाउने माग पूरा गर्‍यो । यो आन्दोलनले नागरिक पोशाकका सरकारी मानिस मजदुर आन्दोलनमा घुसेर प्रहरीलाई ढुङ्गा हान्ने र त्यही निहुँमा मजदुर आन्दोलनमाथि दमन गरिने शिक्षा दियो, उgले सचेत गराए ।

सांसद सुवालले भने, “नौ महिनाको राजस्व ७ खर्ब रूपैयाँ र खर्च १० खर्ब भयो । सरकारहरूले सार्वजनिक ऋण २० खर्ब र व्यापारघाटा पनि २० खर्ब नै पुर्‍याए । देशको अर्थतन्त्र सङ्कटमा परेको छ ।” देशको जेठो सरकारी वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा भन्दा व्यक्तिको मेडिसिटी अस्पतालमा बिरामीको राम्रो उपचार हुने समाचारले सरकारमा गएकाहरूको अयोग्यता र असक्षमता प्रस्ट झल्किने उनले बताए ।

सचिव सुवालले भने, “सरकारमा गएकाहरूले जानाजान सरकारी विद्यालयलाई समाप्त पार्ने र निजी विद्यालयहरूलाई प्रवर्दन गर्दै छन् । यो गलत हो । पाँच खर्ब रूपैयाँ लगानी गरी काठमाडौँ जोड्ने द्रुतमार्ग निर्माण उपयुक्त होइन । यति धेरै बजेटले नयाँ पुस्तालाई शिक्षा र स्वास्थ्यको लागि खर्च गरिएको भए देशको छिटो विकास हुने थियो ।

नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले भने, “औद्योगिक क्रान्तिसँगै मजदुरवर्गको उदय भएको थियो । सन् १८७० भन्दा अघि मजदुरहरूले १८ घण्टासम्म काम गर्नुपर्थ्याे । बालबच्चा र बुढाबुढीहरूले समेत दुःख गर्दा पनि पेटभरि खान पुग्ने ज्याला पाउँदैनथे । आज नेपाली श्रमिकहरू पनि विदेशमा गएर १४–१५ घण्टा काम गर्न बाध्य छन् । देशका युवाहरू विदेश पठाएर देशको कृषि उत्पादन घटेर भारतबाट अन्न, तरकारी, फलफुल आयात गर्न बाध्य छ । शासक दलहरूको अकर्मण्यताले उद्योग–कलकारखाना पुँजीपतिवर्गलाई कौडीको मूल्यमा बिक्री गर्दा उद्योगधन्दा धराशायी भएको हो । यसमा शासक दलहरू नै दोषी छन् ।”

नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले नेक्रामजदुर सङ्घ नरहेको भए वास्तविक मजदुरवर्गको समस्याबारे सङ्घर्ष गर्ने सङ्गठन नै नहुने बताए।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्राकिसङ्घ जिल्ला समितिका सदस्यद्वय नारायणभक्त न्हेमाफुकी र प्रेम तामाङले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *