वागीश्वरीमा माओ र स्तालिनको जन्म दिवस मनाइयो

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २२ पुस


वागीश्वरी मा.वि.÷कलेजको आयोजनामा विश्व सर्वहारा वर्गका महान गुरु माओ त्से तुङको १२९ औं र स्तालिनको १४४औं जन्म दिवसको अवसरमा विहीबार प्रवचन तथा शिक्षक भेला कार्यक्रम भएको छ ।
प्रमुख अतिथि एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले प्राज्ञहरुवीच सैद्धान्तिक र वैचारिक रुपमा परिपक्वता हुनुपर्ने आवश्यकता औल्याए । चीनमा माओ, लेनिन, स्तालिन, माक्र्स जस्ता कम्युनिष्ट नेताहरुको अध्ययन अनुसन्धानका लागि पुस्तकालयलगायतको छुट्टै व्यवस्था गरेको स्मरण गर्दै नेपालमा पनि त्यस्तो अध्ययन केन्द्रको स्थापना गर्नुपर्ने बताए । माओ र स्तालिनका सिद्धान्त र विचारको अध्ययनले नेपालको राजनीतिमा माओवादीलाई खण्डन गर्न खुराक मिल्ने बताए । समसामयिक नेपालको राजनीतिबारे सचेत गर्दै उनले नयाँ पात्र खडा गरेर नयाँ ढंगले नेपालमा विदेशी हस्तक्षेप गरिरहेको बताए । सदन र सडकमा त्यस्तो हस्तक्षेपको आवाज बुलन्द गर्ने एउटै मात्र पार्टी नेपाल मजदुर किसान पार्टी मात्र रहेको स्पष्ट पारे ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष एवम् शिक्षासेवी ज्ञानसागर प्रजापतिले नेमकिपाका सांसदहरुले विगत र वर्तमान अवस्थामा पनि प्रतिक्रियावादी संघसंस्थाभित्र छिरेर लेनिनवादी नीति अनुसार काम गरिरहेको स्पष्ट पारे । माओवादीहरुको कार्यशैली पंचायत, कांग्रेसकोभन्दा फरक नभएकाले तिनीहरुबाट जनताले कुनै पनि परिवर्तनको अपेक्षा गर्न नसकेको औल्याए । अराजकतावादीको हाँगो माओवादी भएकै कारण जनताले चाहेजस्तो परिवर्तन गर्न नसक्ने उनको भनाइ छ । उनले विचारको आधार माओ र स्तालिन भएकै कारण जन्मदिवसबाट सिक्नुपर्ने औल्याए ।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले माओ र स्तालिनको जन्मदिवसको औचित्यता प्रष्ट पारेको उक्त कार्यक्रममा नेपाली शिक्षकहरु शंकर आचार्यले माओको जीवनी र रामलक्ष्मी अवालले स्तालिनको जीवनीबारे आफ्नो अध्ययन प्रस्तुती गरेका थिए । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा ग्याहेन्द्र प्रसाद दाहालले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *