आवासीय चिकित्सकको अस्वस्थ ड्युटी आवर

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २२ पुस

८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम। शारीरिक र मानसिक स्वास्थ्यका लागि यो अपरिहार्य मन्त्र हो। कहिलेकाहीँ धेरै समयसम्म काम गर्नुपर्‍यो, राति सुत्न पाइएन र बिहान पनि छिट्टै उठ्नुपर्ने भयो भने भोलिपल्ट दिनभर निद्रा लागिरहने, अल्छीपना बढ्ने, काममा राम्रोसँग ध्यान नजाने समस्या हुन्छ।

समयमै खाना वा पानी खान पाइएन भने पनि कमजोर हुने, राम्रोसँग काम गर्न नसक्ने अवस्थामा पुगिन्छ। कामको चाप धेरै हुँदा समयमा खान र सुत्न नपाउँदा मानसिक तनाव बढ्ने, अनिद्राको समस्या हुने, राम्रोसँग कामै गर्न नसक्ने अवस्था भएर चिकित्सकसँग परामर्श लिन र उपचार गराउन जानुपर्ने अवस्था पनि आउन सक्छ।

यसरी अस्पताल पुग्ने व्यक्तिलाई शारीरिक र मानसिक रुपमा स्वस्थ रहन समयमै सुत्नु पर्ने, समयमा खानुपर्ने र शारीरिक व्यायाम गर्नुपर्ने भन्दै चिकित्सकहरुले सुझाव दिने गर्छन्।

तर, बिरामीलाई यस्तो सुझाव दिने कतिपय चिकित्सक भने आफैं काम र पढाइको चाप बढी हुँदा शारीरिक र मानसिक तनाव भोगिरहेका छन्।

आठ घण्टा काम र आठ घण्टा आराम भन्ने भनाइ उनीहरुको दैनिक जीनवमा प्रायस् असम्भव जस्तै छ।

चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवासीय चिकित्सकहरु काम र पढाइको समयावधि धेरै हुँदा शारीरिक र मानसिक तनाव झेलिरहेका छन्।

आवासीय चिकित्सकहरु २४ देखि ३६ घण्टासम्म निरन्तर ड्युटीमा खटिनु परिरहेको गुनासो गर्छन्।

‘हिजो बिहान ९ बजेदेखि अहिले ५ बजेसम्म ड्युटी र पढाइले गर्दा ३२ घण्टासम्म अस्पतालमै छु,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का एक आवासीय चिकित्सकले सुनाए।

आवासीय चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य जाँच गर्ने, आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, डिस्चार्ज गर्ने लगायतका काममा निरन्तर खटिनुपर्ने बताए।

रात्रिकालीन ड्युटी हुँदा भर्ना भएका बिरामीमा कुनै स्वास्थ्य समस्या नभए मात्रै आवासीय चिकित्सकले सुत्न पाउने उनले सुनाए।

जुनसुकै समयमा उपस्थित हुनुपर्ने गरी ड्युटीमा रहेका उनी २४ घण्टासम्म अस्पतालमा ड्युटी गरेपछि अर्को दिन बिदा दिइनुपर्ने बताउँछन्।

‘बिहान ९ बजेदेखि अर्को दिन बिहान ९ बजेसम्म ड्युटी भने पनि ५ बजेसम्म खटिनुपर्छ,’ उनले भने, ‘रातभर ड्युटीमा हुनुपर्ने भएपछि बिहान ९ बजेपछि बिदा भयो भने आराम गर्ने समय मिल्थ्यो।’

उनका अनुसार बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरुमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नु परिरहेको छ।

रेजिडेन्ट एसोसियसन अफ न्याम्सका अध्यक्ष डा शेषराज घिमिरे आवासीय चिकित्सकलाई लामो सयमसम्म ड्युटीमा खटाउँदा बिरामीले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको बताउँछन्।

‘आवासीय चिकित्सकलाई लामो समयसम्म ड्युटीमा खटाउँदा डाक्टरलाई मात्र होइन, बिरामीलाई पनि असर परिरहेको छ,’ उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा पनि कम्प्रोमाइज भइरहेको छ।’

आवासीय चिकित्सकको ड्युटीको समयलाई वैज्ञानिक ढंगले निर्धारण गर्न आवश्यक रहेको उनले बताए।

डा घिमिरेले आवासीय चिकित्सकलाई आवासको व्यवस्था गरिनुपर्ने भए पनि केही मेडिकल कलेज बाहेक अधिकांश अस्पताल तथा कलेजमा आवासको व्यवस्था नभएको बताए।

‘आवासीय चिकित्सक भनेको कलेज वा अस्पतालको आसपासमा बसेर आफ्नो अनुकुलता अनुसार बिरामीलाई सेवा दिने, अध्ययन गर्ने हो। हाम्रो लाइब्रेरी समेत २४ घण्टा खुल्नुपर्छ भनिन्छ,’ उनले भने, ‘अधिकांश सरकारी अस्पतालमा आवासको सुविधा नै छैन।’

लामो समयसम्मको ड्युटी, पढाइ र अवास लगायतका समस्याले आवासीय चिकित्सकहरु पनि अस्वस्थ भइरहेको डा घिमिरेको भनाइ छ।

उनी भन्छन्, ‘धेरै समय खटिनु परेपछि हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ।’

महाराजगञ्ज चिकित्सा क्याम्पस ९त्रिवि शिक्षण अस्पताल०का आवासीय चिकित्सक डा अरुण उप्रेतीका अनुसार आवासीय चिकित्सकले निरन्तर ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था छ। यस्तो क्रम एक महिनामा करिब १५ दिन जति पर्न आउने उनले सुनाए।

निरन्तर ३६ घण्टासम्म ड्युटी गर्दा आफ्नो पढाइमा पनि असर परिरहेको डा उप्रेतीले बताए।

‘३६ घण्टासम्म ड्युटी गर्दा सुत्न पाएका हुँदैनौं। धेरै पढ्नुपर्ने हुन्छ तर कामको चाप धेरै हुँदा हाम्रो पढाइको पनि बाधा पुगिरहेको हुन्छ,’ उनले भने, ‘घर(परिवारमा समय दिन पाइरहेका हुँदैनौं, समाजबाटै छुट्टिएर बसेको जस्तो हुन्छ।’

वीर अस्पतालका विभिन्न सेवा विभागहरुमा कार्यरत आवासीय चिकित्सकहरु एक पटकमा निरन्तर ३६ देखि ४० घण्टा र सातामा बढीमा १०८ घण्टासम्म ड्युटी गरिरहेका छन्।

यस्तै कान्ति बाल अस्पतालमा रहेका आवासीय चिकित्सकले एक पटकमा निरन्तर ४० घण्टा र सातामा बढीमा ९० घण्टासम्म काम गरिरहेका छन्।

यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत न्याम्सकै आवासीय चिकित्सकहरुले एक पटकमा निरन्तर ४० घण्टासम्म र सातामा १०० घण्टा काम गरिरहेका छन्।

चिकित्सा शिक्षा आयोग गठन हुनुअघि आवासीय चिकित्सकहरुको ड्युटी आवर नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको नियम अनुसार निर्धारण हुने गरेको थियो।

सित्तैमा पाएको जनशक्ति भन्दै श्रम शोषण१
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की अस्पतालहरुमा मेडिकल अफिसर नै कम राख्दा समेत आवासीय चिकित्सकले धेरै समय ड्युटी गर्नुपरेको बताउँछन्।

‘अस्पतालहरुमा मेडिकल अफिसरको दरबन्दी नै कम छ, त्यसमा पनि आवासीय चिकित्सक छँदैछन्, किन चाहियो भनेर आवासीय चिकित्सक हुने ठाउँमा त मेडिकल अफिसर नै हटाइदिएको छ,’ डा कार्कीले भने, ‘जसले गर्दा अस्पतालमा मेडिकल अफिसरको कामजति सबै पढ्न र सिक्न आएको आवासीय चिकित्सकले गरिरहेका छन्।’

सरकारले पनि आवासीय चिकित्सकलाई सित्तैमा पाएको जनशक्तिको रुपमा श्रम शोषण गरिरहेको डा कार्कीको आरोप छ।

उनी भन्छन्, ‘सरकारले सित्तैमा पाएको हिसाबले ज्यादा काममा खटाइरहेको छ, मेडिकल अफिसरको दरबन्दीमा त उनीहरु हुनुपर्छ। आवासीय चिकित्सक सिक्न आएको विद्यार्थी हो। मेडिकल अफिसरको काम धानिदिन आएको होइन।’

डा कार्की आवासीय चिकित्सकले काम गर्दै पढ्दै गर्ने भएकाले उनीहरुको ड्युटी आवर पनि अन्य चिकित्सकको जस्तै गरी निर्धारण गरिनुपर्ने बताउँछन्।

‘आवासीय चिकित्सकलाई पनि ८ घण्टाकै ड्युटी आवर हुनुपर्छ। राति, दिउँसो वा बिहान जुनसुकै समय होस् तर रेजिडेन्सीमै सबै भारी बोकाउनुपर्छ भन्ने होइन,’ उनले भने, ‘रेजिडेन्सीमा सिक्नुपर्ने समय भएकाले उसले घरमा गएर अध्ययन गर्नुपर्छ, प्रिजेनटेसनहरु तयार गर्नुपर्छ, जाँचहरु दिनुपर्छ। बिरामी हेर्ने बाहेक अन्य शैक्षिक गतिविधि पनि थपिन्छ।’

काउन्सिलका राजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार काउन्सिलले आवासीय चिकित्सकलाई हप्तामा २ पटक २४ घण्टाको ड्युटी हुने नियम लागू गरेको थियो।

‘स्नातकोत्तर तहका रेजिडेन्टलाई २४ घण्टा ड्युटी हप्तामा २ वटाभन्दा बढी लगाउन हुँदैन भनेर ‘रेगुलेसन फर पिजी मेडिकल एजुकेसन एमडी(एमएस प्रोगाम २०१७’ मा उल्लेख छ।

सोही नियम अनुसार नेपाल मेडिकल काउन्सिलले आवासीय चिकित्सकको ड्युटी आवारको विषयलाई नियमन गर्दै आएको थियो।

तर, चिकित्सा शिक्षा आयोग गठन भएपछि आवासीय चिकित्सकको ड्युटी आवरको नियमन तथा नियन्त्रणको अधिकार आयोगमै रहेको काउन्सिलका रजिष्ट्रार अधिकारीले जानकारी दिए।

उनले भने, ‘ आवासीय चिकित्सकको ड्युटी आवार निर्धारण गर्ने, लागू गर्ने विषय अहिले आयोगको काम हो।’

यता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी भने आयोगले आवासीय चिकित्सकहरुको ड्युटी आवारको विषयमा कुनै मापदण्ड निर्धारण नगरेको बताए।

उनले भने, ‘आवासियक चिकित्सकको ड्युटी आवरको विषयमा हामीले केही काम गरेका छैनौं। सम्बन्धित विश्व विद्यालयले निर्धारण गरेअनुसार वा उहाँहरुको पाठ्यक्रम अनुसार ड्युटी आवार निर्धारण भइरहेको छ।’

संघका उम्मेदवार चिकित्सकको अजेण्डामा ड्युटी आवरको विषय
चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको निर्वाचन नजिकिँदै गर्दा अघिकांश उम्मेद्वारले ड्युटी आवरको विषयलाई पनि समेटेका छन्।

डा अनिलविक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो मुख्य अजेण्डामा चिकित्सकको ड्युटी आवरलाई वैज्ञानिक ढंगले निर्धारण गर्न पहल गर्ने उल्लेख गरेको छ।

यस्तै डा सन्तोष पौडेलले नेतृत्वको पेसागत समावेशी समूहले पनि आफ्नो मुख्य अजेण्डामा वैज्ञानिक ड्युटी आवर नहुँदाको असर बिरामीमा समेत पर्ने भन्दै वैज्ञानिक ड्युटी आवर निर्धारण गरी लामो ड्युटी आवरपछि फोर्स लिभ दिने व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ।

पेसागत हकहितका लागि राजनीति गरिरहेका निकायले आफ्नो चुनावी अजेण्डामा यस्ता समस्या समाधानका लागि पहल गर्ने बताइरहे पनि समस्यामा रहेका चिकित्सकहरुले भने राहत महसुस गर्न पाएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *