वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरुको शिविर लमजुङको ताघ्रिङमा

समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १४ पुस


वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरुको चार दिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो ।

उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरु स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे अध्ययन गरेकोले विद्यार्थीहरुलाई धन्यवाद दिँदै उनले श्री प्रेम मिलन माध्यमिक विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयबीच भगिनी सम्बन्ध कायम गर्न सक्ने अभिलाषा व्यक्त गरे ।

सो गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङले भक्तपुरका विद्यार्थीहरु र स्थानीय गुरुङ समुदायका विद्यार्थीहरुबीच मितेरी सम्बन्ध गाँसी गुरुङ संस्कृतिलाई जीवन्तता दिनुपर्ने बताए ।

श्री प्रेम मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले ताघ्रिङलाई अध्ययन क्ष्ँेत्र बनाएकोमा खुशी प्रकट गर्दै लमजुङ जिल्ला भुगोलविद हर्क गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल हो भने ।

वागीश्वरी कलेजका सामाजिक कार्यका शिक्षक एवं सभापति मंगलेश्वर ध्वजूले भक्तपुर र लमजुङ जिल्लाको समानताबारे चर्चा गर्दै सामाजिक कार्य शिविरको महत्व र उद्देश्यबारे पनि प्रष्ट पारे ।

कलेजका शिक्षक सुन्दर ग्वाछाले सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । सुनौलो आमा समूह, आम जनसमुदायको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरु भावना भडेल, दिपिका अधिकारी, स्पर्णिमा थापा, मिलन श्रेष्ठ, रेश्मा श्रेष्ठ, मेनका ब्या्ञ्जु, निगिसा कपालीलगायतले बोलेको थियो ।

शिविरको पहिलो दिन आमा समूह र विद्यालयले शिविरमा सहभागीहरुलाई भव्य स्वागत गरेको थियो । सो कार्यक्रममा टोल संयोजक शेरबहादुर गुरुङ, आमा समूहका मनिता गुरुङ, जेष्ठ नागरिक गोपाल गुरुङले शिविरको सफलताको कामना गरे । जम्मा चौध घरधुरीमा विद्यार्थीहरु होम स्टेमा बसेका थिए ।

शिविरको दोस्रो दिन प्रधानाध्यापक कुलप्रसाद गुरुङले लमजुङ जिल्लाको परिचय दिए । पाँच समूहमा विभाजित विद्यार्थीहरुले ६० घरधुरीलाई नमुना छनौट गरी स्वास्थ्य, शिक्षा, यातायात, आर्थिक अवस्था र सामाजिक समस्याबारे सामाजिक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणपश्चात् आमा समूहका पदाधिकारीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *