न्यूज अपडेट संवाददाता
भक्तपुर, २७ असाेज

नेपाल मजदुर किसान पार्टी र चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीबीच धेरै दशकदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । दुई मित्र पार्टीहरूबीच विभिन्न अवसरमा शुभकामना सन्देशहरू, दुःखद घडी र सङ्कटमा समवेदना आदानप्रदान हुँदै आएको छ । नेपाल मजदुर किसान पार्टीका महाधिवेशनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको नाममा पत्र पठाएर शुभकामना व्यक्त गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन यही अक्टोबर १६ देखि चीनको राजधानी पेइचिङमा हुन गइरहेको छ । सोही अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सी चिनफिङलाई एक शुभकामना सन्देश पठाउनुभएको छ । सन्देशमा अध्यक्ष बिजुक्छेँले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न महाधिवेशनले विश्वका न्यायप्रेमी र साम्राज्यवादविरोधी जनसमुदायमाझ आशाको नयाँ सन्देश सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अङ्ग्रेजी भाषामा पठाइएको सन्देशको नेपाली भावानुवाद निम्नानुसार रहेको छ –
कामरेड सी चिनफिङ
महासचिव, चिनियाँ कम्युनिस्ट पार्टी
नेपाल मजदुर किसान पार्टी यही अक्टोबर १६ मा पेइचिङमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनको पूर्ण सफलताको हार्दिक कामना गर्दछ ।
अध्यक्ष माओ त्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टीको बलियो जग बसाल्नुभयो । लगातारको अथक प्रयास तथा अविचलित सङ्घर्षबाट त्यो जग अझ बलियो बन्दै गयो । ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा’ ले चिकपालाई वैचारिकरूपमा अझ दरिलो बनाउँदै छ । चिनियाँ कम्युनिस्ट पार्टीको गौरवशाली लामो इतिहासले चिनियाँ इतिहास, चिनियाँ जनता तथा चिनियाँ राष्ट्रमात्र नभई विश्व मजदुर वर्गीय आन्दोलनलाई नै प्रज्ज्वलित पार्दै छ । चिकपाकै नेतृत्व पाएर चीनले १४ वटा साम्राज्यवादी देश र जापानी उपनिवेशवादविरुद्ध विजय हासिल ग¥यो† करोडौँ चिनियाँ जनताले मुक्तिको सास फेर्न पाए तथा आधुनिक समाजवादी चीनको स्थापना गर्न सफल भए । चिकपाको यो महान् सफलता हो ।
सी चिनफिङ
चिकपाको नेतृत्वमा भएको चिनियाँ क्रान्ति मानव सभ्यताकै महान् युगान्तकारी परिवर्तनको जिउँदो प्रमाण हो । चिनियाँ समाजलाई गरिबीबाट मुक्त गर्दै ‘हरेक हिसाबले मध्यमस्तरको समृद्धशाली समाज निर्माण’ को ‘पहिलो शताब्दीको लक्ष्य’ हासिल गर्नु विश्व इतिहासकै अभूतपूर्व उपलब्धि हो जसले समाजवाद अझ उन्नत व्यवस्था हो भन्ने पुष्टि गर्दछ । चिकपा र सिङ्गो चिनियाँ राष्ट्र ‘शक्तिशाली, प्रजातान्त्रिक, सभ्य तथा आधुनिक समाजवादी राज्य’ निर्माणका महान् यात्रामा लम्किरहेकोमा हामी गौरव अनुभव गर्छौँ । यो ‘दोस्रो शताब्दी लक्ष्य’ पनि समयमै हासिल हुनेबारे हाम्रो दृढ विश्वास छ ।
कामरेड सी चिनफिङले अघि सार्नुभएको ‘क्षेत्र तथा मार्ग अगुवाइ’ (बीआरआई) र ‘विश्व सुरक्षा अगुवाइ’ (जीएसआई) साना तथा विकासशील देशहरू र भोक, गरिबी एवम् अन्धकारविरुद्ध लडिरहेका विश्वका देशवासीहरूको निम्ति आशाको किरण बन्दै छ । निश्चय पनि यो बाटो सहज छैन ¤ निःसन्देह विश्वका जनताले बीआरआई र जीएसआई शान्ति, समृद्धि तथा समानतातर्फका मार्ग हुन् भन्ने महसुस गर्नेछन् । विश्व मानचित्रमा ‘एक चीन’ हेर्ने चिनियाँ जनता र शान्तिकामी जनताको सपना निकट भविष्यमा साकार हुने निश्चित छ ।
आर्थिक समानतासहितको समाजवाद निर्माण गर्दै साम्राज्यवादविरोधी, फासीवादविरोधी र विश्वका मजदुर वर्गीय आन्दोलन थप तीव्र पार्न चिकपाको २० औँ महाधिवेशन ऐतिहासिकरूपमा सफल हुने हाम्रो विश्वास छ ।
विश्व राजनीतिको यो महत्वपूर्ण मोडमा विश्वको आवश्यकता, नयाँ शीत युद्धको अन्त्य तथा शान्ति, सुरक्षा र समृद्धिको सुनिश्चितताका लागि अनुभवी, विचारवान् एवम् दूरदर्शी नेतृत्वलाई विश्वासका साथ विश्वका जनता उत्साहपूर्वक प्रतिक्षारत छन् ।
हाम्रा दुई पार्टीबीचको मित्रता समयसँगै अझ प्रगाढ बन्दै जाने गहिरो विश्वास व्यक्त गर्दछौँ ।
नारायणमान बिजुक्छेँ (रोहित)
अध्यक्ष, नेमकिपा