भ्रमण वर्ष लक्षित निगमको धमाधम परीक्षण उडान

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

काठमाडौं, २६,साउन


नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ ।
भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवं व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो ।
भ्रमण वर्ष अभियानलाई सहयोग पु¥याउने उद्देश्यले निगमले आन्तरिक उडानलाई विस्तार तथा प्रभावकारी सञ्चालनका लागि परीक्षण उडान गरिरहेको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भ्रमण वर्षलाई लक्षित गर्दै निगमको कार्यकारी समितिलाई आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिएका थिए । सोहीअनुरूप निगमले आफ्नो सक्रियता बढाउँदै आन्तरिकतर्फ परीक्षण उडान शुरु गरिएको हो ।
निगमले यही साउन १८ गते चौरजहारी र ताप्लेजुङमा परीक्षण उडान गरेको थियो । त्यस्तै साउन १९ र २० गते रुकुम र भोजपुर तथा साउन २१ र २२ गते बाजुरा र तुम्लिङटार परीक्षण उडान गरेको थियो । यी गन्तव्यमा निगमका ‘वाई–१२ ई’ जहाजबाट परीक्षण उडान गरिएको सह–प्रवक्ता मिश्रले बताए ।
उनका अनुसार सोमवार फाप्लु र २८ गते रुम्जाटार परीक्षण उडान गर्ने निगमको योजना रहेको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकिएको छ । वाई–१२ जहाजबाट क्याप्टेनद्वय आङ्नुरी शेर्पा र फिजोनाथ नेपाली र सह–चालक महेशराज पाण्डेले परीक्षण उडान गर्नेछन् ।
निगमसँग १४ सिट क्षमताका चार वाई–१२ जहाज छन् । यी मध्ये अहिले दुई जहाज नियमित उडानमा छन् भने दुई प्राविधिक मर्मतको क्रममा रहेका छन् । निगमको ५८ सिट क्षमताका दुई ‘एम–६०’ जहाजमध्ये एक मात्र उडानमा छ । अर्को जहाज मर्मतको क्रममा छ ।
यसैबीच निगमले काठमाडौं–लुक्ला सिधा उडानका लागि प्राधिकरणसँग उडान अनुमतिका लागि निवेदन दिएको छ । आगामी भदौ महीनादेखि लुक्लामा नियमित उडान गर्ने योजनाका साथ निगमले उडान अनुमति माग गरेको हो ।
हाल रामेछापबाट लुक्ला उडान गर्न समस्या परेको भन्दै निगमले काठमाडौंबाटै उडानका लागि अनुमति माग गरेको सह–प्रवक्ता मिश्रले बताए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चापलाई मध्यनजर गर्दै अहिले रामेछापबाट विमानस्थलबाट लुक्ला विमानस्थलमा उडान गर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *