न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सञ्चालन भएको ६ दिने पूर्व बाल विकास (इसीडी) तािलम शनिवार सम्पन्न भएको छ ।
जेठ १४ गतेदेखि १९ गतेसम्म भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले भक्तपुर बचतले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, खेलकुद र शैक्षिक क्षेत्रमा समेत विभिन्न क्रियाकलापहरु भइरहेको बताए । उनले भविष्य सुन्दर बनाउने नानी बाबुहरुको मन जित्ने गरी आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । साथै विद्यार्थीहरुको विविध स्वभाव अनुसार मनोविज्ञान बुझेर क्रियाकलाप गरे नानीबाबुहरुको शारीरिक एवं बौद्धिक रुपमा सक्षम हुने उनको भनाइ छ । उनले तालिमबाट सिकेका कुरालाई एक एक पाइला गरी प्रयोग गर्न शिक्षकहरुले संकिर्ण मन नराखी विभिन्न क्षेत्रको अध्ययन गर्नुपर्ने बताए । उनले माथिल्लो कक्षाका विद्यार्थीहरु यदाकदा कूलतमा लागेको पाइएकाले सानैदेखि विकृति, विसंगति, कूलत र दुव्र्यसनीबाट टाढा राख्न सबै पक्षले ध्यान दिनुपर्ने बताए । साथै उनले भक्तपुर बचत समुदायमा आधारित सहकारी भएकाले यस संस्थाले समग्र समाजप्रति जिम्मेवार भएर कार्य गरिरहेको बताए ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले शिक्षण पेशा चुनौतीपूर्ण र सम्मानित पेशा भएकाले तालिमबाट प्राप्त सिपलाई सधै प्रयोग गर्नुपर्ने बताए । उनले समाजलाई सभ्यतातिर लान आधारभूत तालिमले मात्र नपुग भए माथिल्लो स्तरको तालिमका लागि पनि संस्थामा छलफल हुने बताए । संस्थाले आर्थिकसँगै विभिन्न क्षेत्रमा समाजसँग नजिक ल्याउने बहुआयामिक कार्य गरिरहेको उनको कथन छ ।
त्यस्तै संस्थाका उपाध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक लक्ष्मी प्रसाद कुसीले भक्तपुर बचतले समाजसँगै सम्बन्धित तालिम दिने क्रममा शैक्षिक तालिम दिएको बताए । उनले ठूला राजनीतिक पार्टीको संरक्षणमा चलेका र बाह्य जिल्लाबाट आई पसल खोले जस्तै सहकारी खोल्नेहरुनै बढीजसो सहकारी संकटमा परेको स्पष्ट पारे ।
कार्यक्रममा प्रशिक्षक सरिता केसीले तालिमबाट सिकेका सिपको सही सदुपयोग गर्न जोड दिए । साथै तालिम अवधिमा प्रशिक्षार्थीहरुले अन्तरक्रियात्मक रुपमा उत्साहित भएर सिकेको उनले बताए ।
प्रशिक्षार्थीका तर्फबाट अनिता घिमिरे र मञ्जु श्रेष्ठले आफ्नो अनुभव बताएको उक्त कार्यक्रममा उपसमितिका सदस्य हरिराम कुसीले पनि बोलेको थियो । प्रमुख अतिथिले तालिमका ४० जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको थियो ।