नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

जनकपुरधाम, २० असार

कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न.– ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए । तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनको पतिको खोजविन भइरहेको छ ।

उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *